सरकारलाई निःशुल्क सल्लाह

बिहिबार, ०५ भदौ २०७६, १० : ४४ नरेन्द्रजंग पिटर

औषधि औधी तीतो हुन्छ। बिरामी अशक्तै नभएसम्म रोग पत्तै लाग्दैन वा उसले आफू रोगी भएको स्वीकारै गर्दैन। लक्षण त सामुद्रिक आइसबर्गजस्तै चुचुरो मात्र देखिन्छ, तर त्यो कति भयंकर छ भन्ने कुरा त समुद्रभित्र छिपेको हिउँको थुप्रोमा टाइटानिक जहाज ठोक्किएपछि मात्र थाहा हुन्छ। अहिले सरकारका लागि भिड र विद्रोह त्यस्तै बाहिर चुचुरो देखिने आइसबर्ग हुन्।

अहिले सरकार भीडदेखि तर्सिरहेको देखिन्छ। भीडसँग विचार, सपना, कार्ययोजना, लक्ष्य केही हुँदैन भने त्यसका कोही नेता पनि हुँदैनन्। यसैकारण उस(भीड)लाई जसले पनि उपयोग गर्न सक्छ। आवेग, अफवाह र आक्रोश उसका हतियार हुन् भने गरिबी, अशिक्षा र उत्तेजना कारखाना। भिड एउटा बोरामा हालेको आलुजस्तै बुजो खोल्नेबित्तिकै एक÷एक भएर भुइँमा छरिन्छन्। अन्धविश्वास, तर्कहीन समाज, आवेग र उत्तेजनायुक्त विषय उसका शीर्षक बन्छन्। भीडको न धार हुन्छ न त कुनै धारणा र धरातल नै। त्यही कमजोरीलाई आधार बनाएर आफ्नो स्वार्थका खेल खेल्नेहरूले ‘रिमोट’ चलाइरहेका हुन्छन्। यसर्थ भीडमा देखिने अनुहार होइन, बन्द कोठामा लुकेर त्यो (भीड) चलाउने चालक नियाल्नुपर्ने हुन्छ। जसले अविवेकी जमातलाई उत्तेजित बनाएर नयाँ कथ्य सिर्जना गर्न खोज्छन्। त्यसको आधार दिने काम सत्ताले गर्छ। भौतिक परिवेशमा सामान्य हेरफेर आउनेबित्तिकै सापेक्षिक सत्यको मर्म फेरिँदै जान्छ, त्यसैअनुसार शक्तिले कार्यनीति परिष्कार गर्दै जानुपर्छ। समय चिप्लँदै जान्छ तर स्मृतिले भने त्यसलाई बन्दी बनाइरहेको हुन्छ। भीडमा लाग्ने सबै नारा सुन्दा, बुझ्दा र गम्दा प्रायोजकहरूको निसाना एकातर्फ सिकार अर्कातर्फ देखिन्छ।

सरकार र सत्तासीन नेकपालाई एकातर्फ कम्युनिस्ट पार्टीको नाम, गरिमा, इतिहास र आदर्शमा देखिनुपर्ने बाध्यता छ भने अर्कातर्फ भ्रष्टतन्त्र(क्लेप्टोक्रेसी) को संरक्षक बन्नुपर्ने विवशता !

भीडको मनोभाव भनेको निरासाको उपज हो; पुराना नायकको अन्त्य र नयाँको खोजी। भीडले सडक कब्जा गर्नु भनेको खराब पार्टी र नेताका कारण परिवर्तनको साख गिर्नु हो। गणतन्त्रको विकल्प फेरि राजतन्त्र अनि धर्मनिरपेक्षताको विकल्प धर्मभिरु समाज होइन। तर बितेका १४ वर्षमा संसदीय पार्टी र नेतृत्वद्वारा भए÷गरेका कामले समाजलाई निराश र कुण्ठाग्रस्त बनायो। जुन भाव र प्रतिक्रिया मानवीय स्वभावबमोजिम व्यक्ति हुँदै भीडतर्फ मोडिँदै गयो। विद्रोहका आधार बन्नाको कारण पनि परिवर्तनको मर्मअनुसार वर्चस्वशाली वर्गको राजनीतिक संस्कृति नफेरिनु नै हो।   

सत्ता यथास्थिति चाहन्छ, समाज परिवर्तन। अनि सुरु हुन्छ– सत्ता र समाजबीच द्वन्द्व। सत्ता यथास्थिति बचाउन राज्यका अंग प्रयोग गर्छ। विद्रोही समूह भने एकातर्फ सत्ताले घोषणा गरेका उसकै संवैधानिक आदर्शलाई आधार बनाएर  आफ्ना गतिविधि गर्छन्, अर्कातर्फ त्यसैलाई खुला चुनौती पनि दिन्छन्। भीड र विद्रोहीबीच के फरक हुन्छ भने विद्रोहीसँग नीति, विधि, संगठन र नेतृत्वकर्ता हुन्छ तर भीडसँग यी केही पनि हुँदैनन्। विद्रोहीसँग विधिमा रहने, त्यसलाई भत्काउने र नयाँ निर्माण गर्ने स्पष्ट मार्गचित्र पनि हुन्छन्।

एउटा जिम्मेवार सत्ता र सरकार भीड, असन्तुष्ट समूह र विद्रोहीका नारा र हतियार थुत्ने प्रयासमा सक्रिय हुन्छ। तर त्यो प्रशासनिक प्रयासबाट सम्भव हुँदैन। भीड के कारणले उत्तेजित हुन्छ ? विद्रोहीले विप्लवी धरातल कहाँ र कसरी पाँउछन् ? उनीहरूले के प्राप्त गर्न खोजेका हुन् ? यी प्रश्नका उत्तर पाउन मिहिन अध्ययन आवश्यक हुन्छ। तर अहिले सरकारले भीडका उत्तेजित नारा र विद्रोहीका योजनाबद्ध अभियानका हतियार नियन्त्रण गर्न सक्ने कुनै संकेत देखिँदैन।
निःशुल्क १५ परामर्श

सरकार र सत्तासीन नेकपालाई एकातर्फ कम्युनिस्ट पार्टीको नाम, गरिमा, इतिहास र आदर्शमा देखिनुपर्ने बाध्यता छ भने अर्कातर्फ भ्रष्टतन्त्र(क्लेप्टोक्रेसी) को संरक्षक बन्नुपर्ने विवशता ! संस्थागत रूपमा भ्रष्टाचारले वैधानिकता पाएको छ तर भ्रष्टाचारविरोधी देखिनु संसदीय पार्टीको बाध्यता हो।

प्रधानमन्त्री गम्भीर बिरामी हुनुहुन्छ। यसैकारण उपचारका लागि सिंगापुर दौडिरहनुपरेको छ। तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकार मौन छ। सरकार र सरकारी पार्टी पनि बिरामी छन्। देब्रे–दाहिने दुवैतर्फबाट आक्रमणको तारोमा छन्। पार्टीभित्र गुट व्यवस्थापन हुन सकिरहेको छैन। समस्या सल्टाउन  उत्तेजना र प्राविधिक बहुमत खोजिन्छ। भीड र विद्रोहीको आक्रमणलाई सहजै किनारा लगाएर पार्टी व्यवस्थापन गर्न सकिन्थ्यो, तर त्यसका लागि आवश्यक हुन्छ– नैतिक पँुजी र प्रचुर इच्छा शक्ति। सदनमा दुईतिहाइ बहुमत र सहज प्रतिपक्षीका कारण समस्या समाधान गरेर नेकपा सरकारले जनताबाट सक्रिय समर्थन र हाइहाइ पाउन सक्थ्यो। तर भ्रष्टतन्त्रमा चुर्लुम्म डुबेकाले उसले विद्रोह र भीडतन्त्रविरुद्ध सामाजिक अपिल गर्ने नैतिक हैसियत राख्दैन। पर्गेल्ने क्षमता पनि नभएकाले अहिले ऊ संघारमा छ। जे गरिन्छ र  भनिन्छ, त्यही काम/कुरा जनताले बुझ्ने गरी गरेको÷भनेको भए तर्दथवादमा रहन पर्दैनथ्यो। आफ्नो वास्तविक अवस्था स्वीकार गर्न नसक्नु समस्याको जड हो।

अब म समाजवाद उन्मुख पार्टी र सरकारलाई भीड र विद्रोहीका प्रमुख हतियार कब्जा गर्ने उपायबारे निःशुल्क सल्लाह दिन चाहन्छु। दिइएका निम्न सल्लाह÷सुझाव स्वीकार भएमा पार्टीभित्रका वामपन्थी, भीड र विद्रोही एकैपटक हतियार, नारा तथा अभियानविहीन बन्न पुग्नेछन्ः

भीड के कारणले उत्तेजित हुन्छ ? विद्रोहीले विप्लवी धरातल कहाँ र कसरी पाँउछन् ? उनीहरूले के प्राप्त गर्न खोजेका हुन् ? यी प्रश्नका उत्तर पाउन मिहिन अध्ययन आवश्यक हुन्छ।  

१) मन, वचन र कर्मले पार्टीको नामअनुसारका कामगर्ने। पार्टीलाई ‘ट्रेडमार्किया’ नबनाउने बरु नाम नै फेर्ने।
२) सदन, सरकार र प्रहरी, अदालत तथा तीनै तहका सरकार क्लेप्टोक्रेसी(भ्रष्टतन्त्र)ले गाँजेको तीतो सत्य स्वीकार गर्नु। सदन सक्रिय हुनुपथ्र्याे तर क्लेप्टोक्रेसीको साक्षी बन्न पुग्यो। प्राकृतिक स्रोतमा होइन, भ्रष्टतन्त्रमा डोजर चलाउने हिम्मत गरे समस्याको ठूलो हिस्साले समाधान पाउँथ्यो। ०४८ देखिका  नभए पनि ०६३ पछिका अकुत सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्ने र अपराधीलाई न्यायिक प्रक्रियामा जाक्ने।
३) नीतिगत भ्रष्टाचार अन्त्य गर्ने तथा भ्रष्टाचारको सिन्डिकेट तोड्ने। मुहान सफा भए नदी सफा हुन्छ, पार्टीभित्रैका क्लेप्टोक्रेसीका संरक्षकलाई कारबाही गर्ने।

४) शक्ति पृथकीकरणअनुसार संवैधानिक अंगका क्रियाकलापमा सरकारको हस्तक्षेप बन्द गर्ने। सिंहदरबार र बालुवाटारको द्वेध शासन अन्त्य गर्ने,  प्रधानमनत्रीको हैसियत उनका सल्लाहकारले प्रयोग गर्ने परिपाटी हटाउने।  
५) वाइडबडी, चूडामणि शर्मा, अख्तियारका लोकमानसिंह कार्की, दीपकुमार उपाध्याय र राजनारायण पाठक प्रकरण र समानान्तर सरकारको अभ्यास मुद्दालाई गम्भीर रूपमा लिई किनारा लगाउने, न्यायालयप्रतिको विश्वास पुनःस्थापना गराउने, बालुवाटार जग्गा(ललिता निवास)काण्डका दोषीहरूलाई त्रिताल आयोगको सिफारिसअनुसार न्यायालयमा उभ्याउने, निर्मला बलत्कार÷ हत्याका अपराधी यथाशीघ्र सार्वजनिक गर्ने, सुन काण्डमा संलग्नलाई कानुनी  कठघरामा ल्याउने, एनसेलको कर असुल गर्ने, गुमनाम भ्याटबिल प्रकरण कानुनको नियमनमा पार्ने। राजस्व छलीविरुद्ध कडा कानुन निर्माण गर्ने।

६) न्यायाधीश, प्रहरी प्रमुख र सेनापतिविरुद्ध कसैले औंला उठाउन नपरोस्।
७) भू–संवेदनशील देश कुनै शक्ति समूहको होइन, असंलग्न परराष्ट्र नीति, सार्कको पक्षधर हुनुपर्छ। अनि एसिया प्यासेफिक एलायन्स वा बिमस्टेकको  ‘मिस्टेक’ गर्नबाट जोगिनुपर्छ।

८) ओली सरकारको बादल गृह प्रशासनले सुरुमै ल्याएको तर तु.फिर्ता गरेको सामाजिक सुरक्षा नीतिमार्फत फेरि सिन्डिकेट र एनजिओ÷आइएनजिओको राजनीति तथा धार्मिक गतिविधि नियन्त्रण अभियान कडा पार्ने।   
९) राजनीतिक संरक्षणमा रहने अपराधी, ठेकेदार र व्यापारीलाई पार्टीसँगको सम्बन्धबाट विच्छेद गर्ने। आफ्नो भक्त एवं संगठनको निर्णय सदर गर्ने ल्याप्चेवादी होइन, स्वभिमानी, आलोचनात्मक चेत भएका कार्यकर्ता उत्पादन गर्ने र उनीहरूलाई नामकाजीबाट कामकाजीमा फेर्ने। पद र भूमिका नेताका दयामाया, गुटका आरक्षणमा होइन, योग्यता, दक्षता र आवश्यकताअनुसार प्रदान गर्ने।

१०) आफन्त र गुटका मान्छे मात्र चिन्ने होइन, समग्र जनता र कार्यकर्ता चिन्ने चस्मा लगाउने।
११) नेताहरूको छाला गैंडाको जस्तो बाक्लो र संवेदनाहीन होइन, संवदेनशील र पातलो बनाउने। ठट्टा, चुट्किला, व्यंग्य र घोचपेच गरेर तुष पोख्ने प्रवृत्ति त्यागेर खुला दिमाग र फराकिलो छाती लिएर राजकीय दायित्व निर्वाह गर्ने।
१२) इतिहास, सिद्धान्त, आर्दश र सपना नबिर्सिन अल्जाइमरको औषधि खाने।
१३) हड्डीमा रमाउने र मालिक देख्दा पुच्छर टाङमुनि छिराउने र जनता देख्नासाथ भुक्ने, टोक्ने र चिर्थोने भोटे कुकुर पाल्न छाड्ने।

१४) मालिकको जय होस् भन्ने रटान लगाउने सुगा पाल्न छाडिदिने।
१५) इतिहास सत्ताको गौरवशाली भ¥याङ मात्रै होइन, वर्तमानको दिशानिर्देश पनि हो भन्ने सम्झेर २० वर्ष पहिलाको आफ्नो फोटो मूल ढोकामा टाँसेर बिहानै हेरेर मात्रै कार्यक्षेत्रमा प्रवेश गर्ने।

अन्तमा, सरकार र सरकारी पार्टीले गल्ती नगरिदिएहुन्थ्यो भन्छन्, विरोधीसमेत। विशेष अधिकार त्यागेर आफूलाई वर्गविहीन बनाएका मान्छे मात्र कम्युनिस्ट बन्छन् भनिन्छ तर अहिले शब्दको अर्थ फेरिएको छ । खेलका नियम हुन्छन् अनि रेफ्री पनि। पहिला आपूm नियममा बाँधिएपछि मात्र अरूबाट पनि त्यही अपेक्षा गर्न सकिन्छ। भीड तथा विद्रोहीबाट नारा र हतियार थुत्न कम्युनिस्ट वा समाजवादी भइरहनै पर्दैन। कानुनको राज, राज्य निर्धाहरूको अभिभावक र राष्ट्रियताको संरक्षक भए पुग्छ। राजनीतिक छहारीमा रहेका शैक्षिक, स्वास्थ्य तथा आपराधिक सिन्डिकेट र माफियाको जालो तोडे पुग्छ।

राज्यको खर्च बालयोगी, गुगल ब्वाई, होली वाइन, माताजस्ता अन्धविश्वास फैलाउने काममा होइन, विज्ञानवादी–तर्कवादी सोच विकासमा गरे पुग्छ। युवामा आलोचनात्मक चेत राख्ने वातावरण बनाए पुग्छ। सरकार र संगठन आस र त्रासले होइन, नीति र विधिले सञ्चालन गरे पुग्छ। पार्टीलाई व्यापारी प्रतिष्ठान होइन, सामूहिक लक्ष्य प्राप्त गर्ने औजार बनाए पुग्छ। यसो गर्न सरकार र सरकारी पार्टी तयार छ त ? भ्रष्टतन्त्र भंग गरेर भीड र विद्रोहीका दापमा रहेको खुकुरी थुत्न र सामाजिक अपिल गर्ने उच्च इच्छा शक्ति राख्न सक्छ ?








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad