७ वैशाख २०८१ शुक्रबार
कला

कुशल निर्देशक किशोर अब सम्झनामा मात्र

काठमाडौं  –  निर्देशक किशोर रानाको निर्देशनमा चलचित्र ‘करोडपति २’ निर्माणको योजना बन्दै थियो। भुवन केसी अभिनित सुपरहिट चलचित्र ‘करोडपति’कै सिक्वेलका रूपमा २३ वर्षपछि रानाकै निर्देशनमा सो चलचित्र बन्नेवाला थियो। अभिनेताका रूपमा अनमोल केसी देखिने कि नदेखिने भनेर टुंगो मात्र लाग्न बाँकी थियो। तर निर्देशक रानाले सो फिल्म निर्देशन गर्न नपाउने भएका छन्। लामो समयदेखि मिर्गाैलासम्बन्धी रोग, मधुमेह र निमोनियाबाट ग्रसित उनको बुधबार पुल्चोकस्थित निदान अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएसँगै उनको सो सपना अधुरो बन्न पुगेको हो।

विसं. २००७ साल माघ १२ मा सुनसरीमा जन्मिएका उनको गत वर्ष मात्र मिर्गाैला प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय नयाँ शैलीको नेपाली अर्गानिक फिल्म निर्देशनका काम गरिरहेको उनी गत सोमबार अस्पताल भर्ना भएका थिए। निर्देशक राना सहायक निर्देशक भएर फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए। उनले बलिउडमा १५ वर्ष काम गरेका थिए। ३५ वर्षअघि निर्माण भएको ‘कान्छी’ फिल्ममा सहायक निर्देशक भई काम गरेका उनले २०५१ सालमा चलचित्र ‘कर्जा’बाट निर्देशनमा डेब्यु गरेका थिए।

२०५२ सालमा बनेको ‘राँको’ फिल्ममा निर्देशक रानाले अभिनेता भुवन केसी, शिव श्रेष्ठ र विजय लामालाई एकसाथ अभिनय गराएका थिए। निर्देशक राना फिल्मको स्क्रिप्ट, कलाकारको अभिनय क्षमतालाई कुशल शैलीमा प्रस्तुत गर्न माहिर रहेको अभिनेता भुवन केसीले बताए। ‘अहिलेसम्म मैले उनीजस्तो मेहनती गर्ने निर्देशकहरू भेटेको छैन। राँकोमा पहिलोपटक निर्देशक रानासँग काम गर्ने अवसर पाएको थिएँ। उनको कामबाट प्रभावित भएकाले चलचित्र करोडपति फिल्म निर्माण सफल भएको थियो,’ अभिनेता केसीले भने, ‘सुटिङको दौरान उनी मेहनतसाथ काम गरिरहँदा हामी पनि प्रोत्साहित हुन्थ्यौं।’

२०५३ सालमा बनेको चलचित्र ‘करोडपति’ सय दिनभन्दा बढी चलेको थियो। ‘काम गर्ने शैलीबाट प्रभावित भएरै निर्देशक रानालाई करोडपतिको निर्देशन गर्न आग्रह गरेको थिए। उनले राँकोमै मेरो अभिनय क्षमता बुझिसकेका रहेछन्। करोडपतिमा मलाई फरक शैलीमा अभिनय गराए,’ अभिनेता केसी स्मरण गर्छन्, ‘उनी कलाकारलाई फिल्मको स्क्रिप्टअनुसार अभिनय गराउन सिपालु थिए।’ केही साताअघि अनमोलसँग निर्देशक रानाको करोडपति २ निर्देशनबारे छलफल भएको अभिनेता भुवनले बताए। उनका अनुसार निर्देशक रानासँग काम गर्न अनमोल तत्पर देखिएका थिए। ‘करोडपति २ मा निर्देशक रानालाई लिन बारम्बार मलाई स्मरण गराइरहन्थे। निर्देशक रानासँग काम गर्ने अनमोलको सपना पूरा भएन,’ उनले भने, ‘नेपाली फिल्म क्षेत्रले कुशल निर्देशक गुमाएको छ।’

नरु थापा कृत ‘सीमारेखा’ उपन्यासमाथि निर्देशक रानाले २०५४ सालमा ‘सीमारेखा’ फिल्म निर्देशन गरेका थिए। सो फिल्मका लागि मगर समुदायको कलाकार खोज्न निर्देशक रानालाई मगरभाषी फिल्मकर्मी युवराज मास्की रानाले सहयोग गरेका थिए। ‘निर्देशक रानालाई मगर समुदायबारे खासै जानकारी नभएकाले मसँग यसबारे जानकारी लिएका थिए। हामीले भनेअनुसार मगर समुदायका केही कलाकार अडिसनपछि सीमारेखामा देखिएका थिए,’ उनले भने।

संगीतकर्मी संगीता प्रधानसँग वैवाहिक सम्बन्धमा बाँधिएका उनले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा दीर्घ साधना सम्मान प्राप्त गरेका थिए। उनले ‘घामछाया’, ‘एक नम्बरको पाखे’, ‘उपकार’, ‘घुम्टो’, ‘सन्तानको माया’, ‘शिवशक्ति’, ‘कब होइ मिलनवा हमार’, ‘बन्धकी’, ‘मिस्टर मंगले’ लगायत फिल्म निर्देशन गरेका छन्। पछिल्लोपटक २०७३ मा निर्माण भएको ‘चक्रे’ फिल्म पनि उनकै निर्देशनमा बनेको हो। छोरा द्रव्य साना अध्ययनका लागि भारतको बेंगलोर बस्दै आएको हुँदा उनी नेपाल फर्किएपछि अन्त्येष्टि गरिने परिवार स्रोतले जानकारी गराएको छ। उनका श्रीमती र एक छोरा छन्।

प्रकाशित: ५ भाद्र २०७६ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App