४ वैशाख २०८१ मंगलबार
समाज

नेताको उपचार विदेशमा, सर्वसाधारण शय्या नपाएर हैरान

रोल्पा जिल्ला अस्पतालमा कोठा र शड्ढया अभाव भएपछि भवनबाहिर बिरामीको उपचार गरिँदै। तस्बिर ः दिनेश÷नागरिक

रोल्पा - देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शय्या नपाएर भुइँमा सुतेर उपचार गराउन बाध्य छन। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन।

पन्ध्र शय्याको रोल्पा जिल्ला अस्पतालको आपतकालीन कक्षमा पाँच र ड्रेसिङ कक्षमा दुईवटा शय्या छन्। यी शय्या भरिएपछि बाँकी बिरामीलाई अस्पतालको गल्ली र प्रांगडमा राखेर उपचार गर्नुपर्छ।

व्यवस्था फेरियो, केन्द्रीय सरकारमा पनि रोल्पाबाट प्रतिनिधित्व भइरह्यो तर अस्पतालको मुहार फेरिएन। जिल्ला अस्पताललाई १५ शय्याबाट उकास्ने प्रयास कतैबाट भएन।

सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताको गृह जिल्ला रोल्पा हो। उनीहरूको घर छेउमै रहेको यो अस्पताल आवश्यक भौतिक पूर्वाधार र जनशक्ति नहुँदा आफैं बिरामी जस्तो देखिन्छ। पूर्वाधार र जनशक्ति अभावमा बिरामी मात्र नभई कार्यरत स्वास्थ्यकर्मीले पनि हैरानी भोगिरहेका छन्। पछिल्ला केही वर्षयता डाक्टरहरु अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको चाप बढेको छ तर चाप थेग्न सक्ने जनशक्ति र पूर्वाधार नहुँदा सहज उपचारमा बाधा पुगेको छ।

‘हामीलाई पटकपटक पर्ने समस्या शय्या अभाव हो। बिरामी धेरै आउँदा सकस हुन्छ’, इमरजेन्सी कक्षका इन्चार्ज डा. कुलबहादुर डागीले भने, ‘कोठा र बेडको साह्रै समस्या छ। त्यसो त जनशक्ति पनि पर्याप्त छैन। स्थानीय तहलाई भन्दा आफ्नो जिम्मेवारी होइन भनेर पन्छिन्छ भने प्रदेश सरकारले पनि चासो दिँदैन।’

साउनमा २ हजार ९ सय ३२ बिरामीले ओपिडीमार्फत सेवा दिएको अस्पतालले इमरजेन्सीमा ४ सय ११ जनाको उपचार गरेको थियो। व्यवस्था फेरियो, केन्द्रीय सरकारमा पनि रोल्पाबाट प्रतिनिधित्व भइरह्यो तर अस्पतालको मुहार फेरिएन। जिल्ला अस्पताललाई १५ शय्याबाट उकास्ने प्रयास कतैबाट भएन। अस्पतालले मुहार फेर्न नसक्दा जिल्लाको जनस्वास्थ्य अवस्था पनि उकासिन सकेको छैन।

२०७३ साल फागुनमा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर रोल्पा आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जिल्ला अस्पताललाई एक सय शय्याको बनाउने छु’ भनेर ताली बटुले पनि अवस्थामा सुधार आउन सकेन। आफ्नो वचन पूरा गर्न उनले के–कति प्रयास गरे कसैलाई जानकारी छैन। स्थापना कालदेखि तीनवटा शासन व्यवस्था, प्रधानमन्त्री, मन्त्री, नेता, मन्त्रालयका सचिवहरुको अनुहार देखेको यो अस्पतालको मुहार भने फेरिन सकेन।

‘पर्याप्त जनशक्ति र शय्या नहुँदा अस्पतालले कतिपय अवस्थामा प्रोटोकलअनुसार सेवा दिन सकेको छैन। बिरामीजत्तिकै समस्या हामीलाई पनि परिरहन्छ,’ इमरजेन्सी कक्षका इन्चार्ज डा. डागी भन्छन्, ‘बिरामी धैरै आएको दिन सकस हुन्छ। सोचे र चाहेजस्तो सेवा दिनसमेत पाइँदैन।’ ठाउँ थोरै, बिरामी धेरै हुँदा उत्पन्न हुने समस्याले कार्यरत स्वास्थ्यकर्मी हैरान छन्। ‘कोठाभन्दा बाहिर बिरामी राख्दा कतिपय अवस्थामा हाम्रो पनि आँखा पुग्न सक्दैन। कोठाभित्रका बिरामी हेर्ने कि बाहिरका असजिलो हुन्छ,’ डा. धनमाया घर्तीले भनिन्।

बर्खामा अस्पतालको आँगनमा बिरामी राखेर उपचार गर्दा स्वास्थ्यकर्मी र बिरामी दुवैलाई असहज हुन्छ। लामखुट्टेको टोकाइले बिरामी र कुरुवालाई दिग्दार बनाउँछ। स्थानीय तहले प्रदेश मातहतको अस्पताल भनेर वास्ता नगर्ने र प्रदेश सरकारले पनि दुर्गमका अस्पतालको स्तरवृद्धिमा ध्यान नदिँदा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘हामीलाई जस्तो भए पनि के भयो र ? नेताहरू बिरामी भएर विदेश गएर उपचार गराइहाल्छन्।’

प्रकाशित: ५ भाद्र २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App