७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगन्ज करिडोरमा छड चोर्ने गिरोह पक्राउ

वीरगन्जको आदर्शनगरबाट प्रहरीले बरामद गरेको छडसहितको ट्र्याक्टर। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – उद्योगबाट उत्पादित छड निकासी गर्दा तौलमा गडबड गरी चोरी गर्ने ठूलो गिरोहलाई फेला पार्न प्रहरी सफल भएको छ। वीरगन्ज पथलैया करिडोरमा गस्तीको क्रममा इलाका प्रहरी कार्यालय जितपुरको टोलीले जितपुर–७ स्थित एउटा काठ चिरान मिलमा छड अनलोड गर्दै गरेको अवस्थामा छडसहित सो गिरोह फेला पारेको हो। सो ट्रकमा तीन हजार तीन सय ३० किलो चोरीको छड फेला परेको छ।

‘गत सोमबार बिहान करिब ३ बजे चिरान मिलमा फलामे छड अनलोड गरिरहेको अवस्थामा हामीले ट्रक फेला पा-यौं,’ प्रहरी नायब निरीक्षक सागर राणाले नागरिकसँग भने, ‘लगेर तौल गरायौं, ट्रकको मालसँग रहेको बिलमा तेत्तीस हजार चार सय ६० किलोग्राम छडको वजन उल्लेख थियो। तौल गर्दा भने छत्तीस हजार सात सय ९० किलो निस्कियो।’ रंगेहात भेटिएका चिरान मिलका समिर अन्सारी र ट्रक चालक जितपुर सिमरा उपमहानगरपालिका–११ बस्ने पण्डित रायलाई प्रहरीले पक्राउ गरेको छ। यो ठूलै गिरोह रहेको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बिलअनुसार उक्त छड जगदम्बा स्टिलबाट लोड गरिएको थियो। वीरगन्ज पथलैया करिडोरमा छड निकासीमा यस गिरोहको ‘सेटिङ’ रहेको उद्योगबाट छड निकासी गर्दा उद्योगभित्रका कर्मचारीलाई मिलाएर प्रतिट्रक तीनदेखि पाँच टनसम्म अधिक अर्थात बिलबिजकमा उल्लेख भएभन्दा बढी निकासी गर्ने गरेको प्रारम्भिक अनुुसन्धनमा प्रहरीले पत्ता लगाएको छ। जितपुर र वीरगन्जमा ल्याएर त्यस्तो अतिरिक्त छड राख्ने गरेको पनि खुलेको छ।

यसैबीच, वीरगन्जको आदर्शनगरमा एक ठाउँमा निकै बढी स्रोत नखुलेको छड प्रहरीले फेला पारेको छ। प्रहरीले जितपुरमा छापा मारेपछि वीरगन्जमा भण्डारण गरिएको ठाउँबाट छड अन्यत्र लैजान लागेको सूचना पर्सा प्रहरीले पाएको थियो। छड लिएर निस्किएको ना५त १७२१ नम्बरको ट्र्याक्टर वडा प्रहरी कार्यालय बिर्ताले छडसहित नियन्त्रणमा लिएको छ।

‘छड लोड गरेर निस्किँदै गरेको अवस्थामा हामीले ट्र्याक्टर नियन्त्रणमा लिएका छौं,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘पछि बिल लिएर मान्छे आए। तर बिलमा भएको भन्दा बढी र फरक छडसमेत फेला परेको छ।’

सिमरामा छड चोरीमा मान्छे पक्राउ परेका कारण त्यसैसँगै जोडिएको विषय भएकाले बिहीबार पक्राउ गरिएको ट्र्याक्टरलाई सिमरा पठाउने तयारी गरिएको उनले बताए। वीरगन्जको आदर्शनगरमा ट्र्याक्टरमा बरामद भएको छडका लागि प्रहरीलाई पछि देखाइएको बिल नारायणी इस्पात प्रालिले सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि काठमाडौंको नाममा काटिएको छ। जसमा १६ टिएमटीको १७.०७७ टन छड जनाइएको छ।

तर, बिलमा उल्लेख भएको भन्दा निकै बढी र फरक कम्पनीका छड पनि फेला परेको देखिएको छ। अझ नारायणी इस्पातबाट काठमाडौं (उत्तर)तिर लैजानुपर्ने छड दक्षिण वीरगन्ज कसरी आयो भन्ने प्रश्न पनि उब्जिएको छ। पछि बिल ल्याएर प्रहरीलाई दिनेले हड्तालका बेला छड यता ल्याइएको बताएका छन्। गत असार ३१ मा बिल काटिएको देखिन्छ। करिब सवा महिनाअघिको उक्त बिलका आधारमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App