coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्ज नाका ६ घन्टा अवरुद्ध

रक्सौल नाकामा बाटो अवरोध हुने गरी प्रदर्शन गर्दै सीमापारिका स्थानीय। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – भारतीय सवारी साधनसँग नेपाली सुरक्षाकर्मीले विभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सीमावर्ती सहर रक्सौलमा विरोध प्रदर्शन भएको छ। भारतीय सवारी साधन नेपाल प्रवेशमा ‘इन्ट्री’को नाममा र अन्य बहानामा नेपालतिर अनावश्यक झमेला गर्दै दुःख दिएको भन्दै भएको प्रदर्शनले करिब ६ घन्टा नाका अवरुद्ध रह्यो।

सीमावर्ती बजार रक्सौलका प्रदर्शनकारीले नेपाल–भारत सीमामा रहेको दुई देशलाई जोड्ने मितेरी पुल अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले नेपाली नम्बरको सवारी साधन भारत प्रवेशमा रोक समेत लगाएका थिए। दुवैतिरका अगुवा र स्थानीय प्रसाशनको समन्वयमा साँझ करिब ४ बजे अवरोध हटेको थियो। प्रदर्शनमा उत्रेका स्थानीयलाई वीरगन्ज भन्सार कार्यालयको पहलमा भारतीय कस्टमका अधिकारीले सम्झाउने प्रयास गरे पनि उनीहरुले अवरोध हटाउन मानेका थिएनन्।

भारतीयले बीच सडकमै एम्बुलेन्स तेस्र्याएर विरोध प्रदर्शन गरे। नेपाली सुरक्षाकर्मीले इन्ट्रीको नाममा भारतीयमाथि ज्यादती गरेको भन्दै त्यस्तो गतिविधि बन्द गराउन आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय सुरेश गुप्ताले बताए। नेपाली सवारी साधन उक्त प्रदर्शनका कारण भारतीय भन्सारबाटै फर्किएका थिए। प्रदर्शनले गर्दा इन्धन लिन पुगेका नेपाली ट्यांकर समेत दिनभर अलपत्र रहे।

भन्सारको कारोबारमा भने अवरोधले असर नपरेको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनिषकुमार महतोले बताए। उनले भने, ‘पारिको उक्त समस्याले गर्दा पेट्रोलियम इन्धनका ट्यांकर आज (बुधबार) ढिलो गरी आए।’

रक्सौलका नागरिक अगुवा महेश अग्रवालले यस्ता समस्या आउन नदिन दुवैतिरका सरकारी अधिकारी सजग रहनुपर्ने बताए। पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव नाकामा भएको समस्या फुकाउन सीमापारि रक्सौल पुगेका थिए।

भारतको बिहार प्रान्तमा अहिले मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध छ। त्यही कारण सीमापारिबाट दैनिक रुपमा सयौंजना मदिराका अम्मली वीरगन्ज आएर रक्सी पिएर फर्किने गरेका छन्। तिनीहरुबाट मापसे चेक जाँचको नाममा शंकराचार्य गेटमा खटने नेपाली सुरक्षाकर्मीले पैसा असुल गर्ने गरेको भन्दै रक्सौलमा विशेष असन्तोष देखिएको थियो। ‘मान्छे हेरी हेरी पैसा लिन्छन्। रक्सी पिउन अवैध छ भने बिक्री नै रोक, कि खाएपछि निर्वाध फर्किन देऊ,’ आफूले धेरैपटक पैसा दिन बाध्य भएको बताउने एक स्थानीयले भने, ‘कि लिएको पैसाको रसिद देऊ !’

सीमापारि मदिरा निषेधित रहेकोले त्यहाँका सुरक्षाकर्मी अगाडि प्रदर्शनकारीले औपचारिक रुपमा यस विषयलाई मुद्दा नबनाए पनि बुधबार भएको नाका अवरोधका पछाडी सीमावर्ती बिहारका मदिराका अम्मलीको ठूलो हात छ।

प्रकाशित: ५ भाद्र २०७६ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App