१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बागेश्वरीको जग्गा फिर्ता गराउन एकजुट हुने दलीय प्रतिबद्धता

नेपालगन्ज - व्यक्तिका नाममा गराइएको बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिरको जग्गा फिर्ता गराउन जिल्लाका राजनीतिक दलले कसरत थालेका छन्। व्यक्तिका नाममा बनाइएको सबै जग्गा फिर्ता ल्याएर बागेश्वरी मन्दिरलाई ‘बृहत परियोजनाको रुपमा विकास’ गर्न उनीहरु सहमत भएका छन्।

अहिलेसम्म प्राप्त तथ्यांक अनुसार मन्दिरको ८४ बिघा व्यक्तिको नाममा गइसकेको देखिन्छ। विकासका लागि नागरिक सरोकार समितिले नेपालगन्जमा बुधबार गरेको सर्वदलीय र सर्वपक्षीय छलफलमा दलका प्रमुख एवं प्रतिनिधिले मन्दिरको सम्पूर्ण चल÷अचल सम्पत्ति खोजी यर्था सार्वजनिक गर्न अधिकार सम्पन्न संयन्त्र गठनको माग गरे। यसबारे नागरिक समाजलगायत सर्वपक्षीय, सर्वदलीय धारणासहित संयुक्त विज्ञप्ति जारी गर्ने प्रतिबद्धता दलहरूले गरेका छन्। बागेश्वरी मन्दिरलाई बृहत परियोजना बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि दलका प्रमुख तथा प्रतिनिधिले गरेका छन्। उनीहरूले मन्दिर क्षेत्रको विकासका लागि बृहत्तर गुरुयोजना तयार नहुन्जेल बागेश्वरी परिसरमा कुनै पनि स्थायी संरचना नबनाउन आग्रह गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक कोइरालाले कानुन र विज्ञको राय लिँदै मन्दिरको जग्गा फिर्ता ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। ‘वर्तमान सरकारले व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेको अवस्थामा बागेश्वरी मन्दिरको जग्गा पनि बागेश्वरीकै नाममा आउँछ,’ उनले भने। यसका लागि कानुनी आधारमा नै अगाडि बढ्नुपर्ने कोइरालाले बताए।

नेपाली कांग्रेसका सभापति किरण कोइरालाले जिल्लावासीले बागेश्वरीको जग्गा व्यक्तिको नाममा गराएको देखिनु आश्चर्यजनक भएको बताइन्। ‘मन्दिरको जग्गा मन्दिरकै नाममा फिर्ता गराउन र महन्तले आफूखुसी प्रयोग गरिरहेको दानभेटीलाई पनि नियन्त्रण गर्नुपर्छ, हाम्रो पार्टीबाट पूर्ण रुपमा सहयोग हुन्छ,’ उनले भनिन्।
राष्ट्रिय जनता पार्टीका नेता एवं पूर्वमेयर विजय गुप्ताले मन्दिरको जग्गा फिर्ता ल्याउन सरकारले प्रक्रिया थाल्नुपर्ने बताए। ‘मन्दिरको सम्पत्ति फिर्ता गराएपछि बृहत परियोजनाको काम अगाडि बढाउनुपर्छ,’ उनले भने।

समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राजन रानाले मन्दिरको जग्गा फिर्ता ल्याउन महन्तहरुको तीनपुस्ते सम्पत्ति छानबिन हुनुपर्ने बताए। ‘छानबिनका लागि हाम्रो पार्टी जस्तोसुकै सहयोग गर्न तयार छ, धर्मको नाममा राजनीति गर्ने काम बन्द गर्नुपर्छ,’ रानाले भने।
राप्रपाका नेता एवं शिव सेना नेपालका केन्द्रीय सदस्य मनोज श्रेष्ठले जग्गा फिर्ता ल्याउन त्यति सहज नभए पनि प्रयास गर्नुपर्ने बताए। ‘मन्दिरको ढुकुटी मात्रै व्यवस्थित गर्न सकियो भने पनि आम्दानी बढ्छ तर मन्दिरको आम्दानीलाई व्यवस्थित नगर्दासम्म केही हुँदैन,’ उनले भने।

शंकाको घेरामा मन्दिरका महन्त
मालपोत कार्यालयमा फेला परेका कतिपय कागजातमा उल्लेख भएअनुसार मन्दिरको केही जग्गा मुलमहन्त चन्द्रनाथ योगी र महन्त हरिहरनाथ योगीमार्फत विभिन्न व्यक्तिको नाममा गराएको देखिन्छ। तर, जग्गाको यकिन तथ्यांक भने भेटिएको छैन। यसले मन्दिरका महन्तद्वयलाई शंकाको घेरामा तानेको छ। महन्तद्वयले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। मूल महन्त चन्द्रनाथले आफूहरुलाई बद्नाम गराउन केही व्यक्तिले आरोप लगाएको दाबी गरेका छन्।

वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले मन्दिरका महन्तद्वयको तीनपुस्ते सम्पत्ति खोजी गरी उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए। ‘अब पनि उनीहरुको पाउपूजन गरेर हुँदैन, छानबिन उनीहरुमाथि पनि गर्नुपर्छ,’ उनले भने।

सामाजिक अभियन्त डा. विनोद कर्णले बागेश्वरी मन्दिरको जग्गा फिर्ता ल्याउनुपूर्व महन्तद्वय चन्द्रनाथ र हरिहरनाथमाथि छानबिन थाल्नुपर्ने बताए। ‘मन्दिरको जग्गा व्यक्तिका नाममा गराइनुमा केही हात महन्तको पनि छ, उनीहरुबाटै छानबिन सुरु गर्नुपर्छ,’ उनले भने।

विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले व्यक्तिका नाममा गराइएको जग्गा फिर्ता गर्न सबै प्रक्रिया अवलम्बन गर्नुपर्ने बताए। ‘बाँके जिल्लाका लागि प्रतिष्ठाको विषय बनिसक्यो, जग्गा फिर्ताका लागि कानुनी कुरालाई हेरेर अगाडि बढ्नुपर्छ,’ उनले भने। नागरिक समाज एक्लैले मात्र गर्न सम्भव नभएको श्रेष्ठको भनाइ छ।

नेपाल बार एसोसियसनका उपाध्यक्ष सुनिल श्रेष्ठले मन्दिरको जग्गा छानबिन गर्ने हो भने दुई महिनाभित्र सबै पत्ता लाग्ने जिकिर गरे। ‘मन्दिरको जग्गामा सबैको ध्यानकेन्द्रित हुनुपर्छ किनकी राजगुठीमा दर्ता भएको हुनाले सबै सरकारी सम्पत्ति हो,’ श्रेष्ठले भने।

अधिवक्ता शालिकराम सापकोटाले मन्दिरको जग्गा फिर्ता ल्याउन महन्तलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए। ‘मन्दिरको सम्पत्ति कहाँ र कस्तो अवस्थामा छ खोजेर फिर्ता ल्याउन पहल गरौं। नभए मुद्दा प्रक्रियामा पनि जाऔं,’ उनले भने। गैरकानुनी प्रक्रियाबाट व्यक्तिका नाममा बनाइएको जग्गा फिर्ता हुने सापकोटाको विश्वास छ। वरिष्ठ साहित्यकार सनत रेग्मीले मन्दिरको जग्गा÷सम्पत्ति खोजीमा राजनीतिक आग्रह÷पूर्वाग्रह नराख्न अनुरोध गरे। ‘जग्गा÷सम्पत्ति खोज्न सबै एकजुट भएर लागौं, मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरौं,’ उनले भने।

मालपोत कार्यालयमािथ दबाब
बागेश्वरी मन्दिरको जग्गाको यथार्थ अवस्था पत्ता लगाउन मालपोत कार्यालयमाथि दबाब बढेको छ। केन्द्र र जिल्लाबाट कार्यालयमाथि दबाब बढेको हो। मन्दिरको जग्गा विषयमा समाचार सार्वजनिक भएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बैठक बसेको थियो।

भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर दौल्यालले मन्दिरको जग्गाको यथार्थ अवस्था पत्ता लगाउन फिल्डबुक र प्लट रजिस्ट्रेसन तथा प्रिन्ट नक्सासमेतका कागजात हेर्न आवश्यक रहेको र यसका लागि नापी कार्यालयमा पत्राचार गरिएको जानकारी नागरिकलाई दिए। ‘हामीले साता÷दस दिनभित्र रिजल्ट ल्याउने गरी काम अगाडि बढाइसकेका छौं,’ उनले भने।

प्रकाशित: ५ भाद्र २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App