८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

काठमाडौं - सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करी बढेका कारण त्यसलाई रोक्न बिओपी स्थापना गर्न प्रस्ताव गरिएको हो। संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको टुंगो लागिसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

चीनले सीमा क्षेत्रमा तस्करी बढेको कुरा उठाएपछि त्यसलाई रोक्न बिओपी स्थापना गर्ने प्रस्ताव सशस्त्रले गृह मन्त्रालयमा पठाएको छ।

रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानीमा मात्रै सशस्त्रको बिओपी रहेको छ। संखुवासभाको किमाथांकाबाहेक ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुलीमा बिओपी स्थापना गर्ने सशस्त्रको तयारी छ।

‘बिओपीको परिचालन अन्तर्राष्ट्रिय मान्यताबमोजिम गणबाट हुने व्यवस्था गरिएको छ। हाल एक सय सातवटा बिओपी स्थापना भइसकेका छन्। आवश्यकताअनुसार थप गर्दै लैजाने लक्ष्य छ। विगतमा कुल ८७ बिओपी रहेकोमा संगठनको पुनर्संरचनापछि संख्या बढाइएको हो। सीमा सुरक्षालाई विषेश ध्यान दिई आगामी वर्षमा दक्षिणी सीमामा १५ वटा थप बिओपी स्थापना गर्ने लक्ष्य छ भने उत्तरी सीमातर्फ समेत परिचालन गर्दै लैजाने योजना छ’, श्रेष्ठले भने। चीन सरकारले सीमा क्षेत्रबाट सुन, जडीबुटीलगायत तस्करी हुने गरेको गुनासो गरेकाले बिओपी स्थापनाका लागि गृह मन्त्रालय पनि सकारात्मक रहेको सशस्त्रको दाबी छ।

विपद् व्यवस्थापनका लागि स्कुल
प्रवक्ता श्रेष्ठका अनुसार सशस्त्र प्रहरीले उच्च हिमली क्षेत्रमा विपद् व्यवस्थापनका लागि ‘माउन्टेनरिङ रेस्क्यु ट्रेनिङ स्कुल’ पनि स्थापना गर्ने भएको छ। आकस्मिक उद्धारका लागि सहज हुने भएकाले यस्तो स्कुल सञ्चालनमाल्याउन लागिएको श्रेष्ठले बताए।

हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा स्कुल खोल्ने तयारी गर्न डिएसपीको कमान्डमा अध्ययन टोली बनाइएको उनले जानकारी दिए। ‘यस्तो स्कुलको कमान्ड एसपीले गर्नेछन्’, उनले भने। उद्धार कार्यमा आवश्यक पर्ने जनशक्ति यस्ता स्कुलले उत्पादन गर्ने उनले बताए।

चीन सरकारले नेपालमा तिब्बती नागरिक शरणार्थीका रुपमा आई चीनविरोधी गतिविधि गर्न सक्ने भन्दै गृह मन्त्रालयमा बारम्बार गुनासो गर्दै आएको छ। हिमाली जिल्लाहरुबाट नेपालको बाटो हुँदै तिब्बतीहरु भारतको धर्मशाला जाने गरेको गुनासो पनि चीनको छ। यस्तो गतिविधिलाई समेत लक्षित गरी सशस्त्र प्रहरीले बिओपी स्थापना गर्न लागेको हो।

प्रकाशित: ५ भाद्र २०७६ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App