८ वैशाख २०८१ शनिबार
समाज

पाँचथरमा बढ्दै डेंगु संक्रमण

पाँचथर - तराईका जिल्लामा फैलिएको डेंगु संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढ्दै गएको छ। ज्वरो आएर स्वास्थ्य केन्द्रमा उपचारमा आउने बिरामीमध्ये डेंगु संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लावासी चिन्तित हुन थालेका छन्।

सुरुमा तराई आउजाउ गर्नेलाई यस्तो संक्रमण भएको अनुमान गरिए पनि बिरामीको संख्या बढेपछि डेंगु सार्ने लामखुट्टे पाइन सक्ने आंशका गरिएको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका बिरामीको संख्यामा बढोत्तरी हुँदै गएको हो। बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्।

स्वास्थ्य कार्यालय पाँचथरले डेंगु संक्रमितको तथ्यांक संकलन गरिरहेको छ। हालसम्म २० जनामा यस्तो सक्रमण देखिएको निमित्त कार्यालय प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए। सदरमुकामस्थित जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको खुल्न आएको छ। सदरमुकाममा मात्र नभएर गाउँगाउँमा यसको संक्रमण पाइएको छ।

जनस्तरमा रोगबारे यथार्थ जानकारी नहुँदा भयको सञ्चार भइरहेको छ। ज्वरो आउने र उपचारपछि निको हुने भनी सर्वसाधारणलाई जानकारी नगराउँदा गम्भीर प्रकृतिको रोग भएको बुझाइका कारण त्रासको वातावरण बनेको छ। रोगबारे सचेतना जगाउनेबारे स्थानीय सरकार तथा अन्य निकायले ध्यान दिन नसकिरहेको आवा उठिरहेको छ। ‘डेंगुको बिरामी बढ्दै जानु गम्भीर विषय हो।

हामीले सञ्चार मध्यमबाट सूचना गराइरहेका छौं। घरवरी परि पानी जम्न नदिने, सरसफाइमा ख्याल गर्नेलगायत सूचना प्रवाह गरीरहेका छौं,’ तुम्बापोले भने, ‘सुरुमा तराई आउजाउ गर्नेलाई यो सक्रमण भएको हो भन्ने लागेको थियो। अहिले बिरामी बढ्दै जाँदा थप अध्ययन गर्नुपर्ने देखिएको छ। सचेतनाका लागि युनिसेफलाई अनुरोध गरेका छौं।’

रोग देखिएकामध्ये धेरैको उपचार जिल्लामै उपचार भएको छ। पाँचथर अस्पतालमा परीक्षण गर्ने किड्स नहुँदा स्थानीय समर्पित अस्पतालमा परीक्षण भएको थियो। जिल्ला अस्पतालमा ३० थान किड्स आएको र अपुग भएकाले थप झिकाउने प्रयास भइरहेको अस्पतालले जनाएको छ। ज्वरोको उपचार गर्न आएका बिरामीको स्वास्थ्य परीक्षणका क्रममा डेंगु संक्रमण भेटिएको समर्पित अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङ्बोले बताए। धेरैको यही उपचार गरिए पनि केहलाई रेफर गर्नुपरेको उनले जानकारी दिए। सुनसरीको धरानमा व्यापक रूपमा फैलिएको भनिएको डेंगु संक्रमण पहाडी जिल्लामा पनि देखिएको हो। पहाडी जिल्लाका लागि यो रोग नौलो रहेको छ।

एक्कासि ज्वरो आउनु, पाँचसात दिन ज्वरो रहनु, आँखाको गेडी र टाउकाको पछाडिको भाग दुख्नु, शरीर कटकटी दुख्नु यो रोगको लक्षण देखिन्छ। समस्या देखिए स्वास्थ्य केन्द्रमा सम्पर्क राखी उपचार गराए पूर्ण रूपमा स्वास्थ्य लाभ लिन सकिने चिकित्सकहरू बताउँछन्। तर यसबारे सर्वसाधारणलाई जानकारी गराउन नसक्दा त्रास फैलिएको छ। डेंगु गम्भीर प्रकृतिको रोग भएको भ्रम देखिन्छ। रोग सार्ने लामखुट्टे फैलिएको हो÷होइन भन्ने किसिमको अध्ययन भएको देखिँदैन। यो रोग चितवनमा सन् २००४ मा पहिलोपल्ट देखापरेको थियो।

प्रकाशित: ५ भाद्र २०७६ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App