५ वैशाख २०८१ बुधबार
अर्थ

कोरियाली पर्यटक बढाउन पहल गरिने

काठमाडौं, – नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने भएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

विगत पाँच वर्षयता कोरियाली पर्यटक बढ्दै गएको अवस्थामा कोरियामा पर्यटन प्रवद्र्धन गरेर पर्यटक बढाउने योजना बनाएका हुन्। गत वर्ष ३४ हजार कोरियाली नेपाल आएका थिए। ‘सन् २०१९ मा ३७ हजारभन्दा बढी कोरियालीले नेपाल घुम्ने अनुमान गरेका छौं, नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले भने, ‘कोरियामा राम्रो प्रचार गर्न सकियो भने लुम्बिनीले पनि कोरियाली पर्यटक तान्न सक्छ।’

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कोरियामा भएका विश्वविख्यात पर्वतारोहीहरूलाई नेपालले सद्भावना दूतका रूपमा सम्मान गर्न राजदूत सिकले सुझाए।

विशेषतः पदयात्रा र पर्वतारोहणका लागि कोरियाली नेपाल आउने गरेका छन्। ‘हामी कोरियामा लुम्बिनीजस्ता गन्तव्यहरूको प्रचार गर्नेछौं,’ कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘हामी प्रवद्र्धनात्मक कार्यक्रममा कोटानसँग सहकार्य गर्नेछौ ।’

मंगलबार कोटानले ट्राभल तथा ट्रेकिङ कम्पनीका पथप्रदर्शकहरूका लागि आयोजना गरेको ‘हाइ अल्टिच्युड सिक्नेस’सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनीहरूले प्रवद्र्धनात्मक कार्यक्रममा सहकार्य गर्ने बताए। ‘हामीले पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यमा पु-याउन तालिम दिएका हौं,’ कोटानका अध्यक्ष अमरबहादुर शाहीले भने, ‘यसले आगामी दिनमा पर्यटक बढाउन सहयोग पु-याउँछ।’

प्रशिक्षण कार्यक्रममा ५५ जना सहभागी थिए। उनीहरूलाई होचल लि, तुलसी गुरुङ, लालप्रसाद भट्टराई, डा. सञ्जय कार्की, डा. अभिजित अधिकारी र अर्जुन पौडेलले प्रशिक्षण दिएका थिए। कोटानका कोषाध्यक्ष ङिमा ङाबाङका अनुसार उनीहरूलाई अल्टिच्युड सिक्नेस, प्राथमिक उपचार र उद्धार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।

प्रकाशित: ५ भाद्र २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App