coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्ज नाका ६ घण्टा अवरुद्ध

वीरगन्ज– भारतीय सवारी साधनसंग नेपाली सुरक्षाकर्मीले बिभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ। भारतीय सवारी साधन नेपाल प्रवेशमा ‘इन्ट्री’को नाममा र अन्य बहानामा नेपालतिर अनावश्यक झमेला गर्दै दुःखदिएको भन्दै भएको प्रदर्शनले करिब ६ घण्टा नाका अवरुद्ध रह्यो।

सिमावर्ती बजार रक्सौलका प्रदर्शनकारीले नेपाल भारत सीमामा रहेको दुई देशलाई जोड्ने मितेरी पुल अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। साथै उनीहरुले नेपाली नम्बरको सवारी साधन भारतमा प्रवेशमा रोक समेत लगाएका थिए। दुबैतिरका अगुवा र स्थानीय प्रशासनको समन्वयमा साँझ करिब ४ बजे अवरोध हटेको थियो। प्रदर्शनमा उत्रेका स्थानीयलाई वीरगन्ज भन्सार कार्यालयको पहलमा भारतीय कस्टमका अधिकारीले सम्झाउने बुझाउने प्रयास गरे पनि उनीहरुले अवरोध हटाउन मानेका थिएनन। 

भारतीयले बीच सडकमै एम्बुलेन्स तेर्स्याएर विरोध प्रदर्शन गरे। नेपाली सुरक्षाकर्मीले इन्ट्रीको नाममा भारतीयमाथि ज्यादती गरेको भन्दै त्यस्तो गतिबिधि बन्द गराउन आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय शुरेश गुप्ताले बताए। नेपाली सवारी साधन उक्त प्रदर्शनका कारण भारतीय भन्सारबाट नै फर्किएका थिए। प्रदर्शनले गर्दा पेट्रोलियम इन्धन लिन पुगेका नेपाली ट्यांकरहरु समेत दिनभरी अलपत्र रहे।

‘भन्सारको कारोबारमा उक्त अवरोधले असर परेन, पहिलेदेखि यार्डमा रहेका गाडीले कार्य संचालन सुचारु नै थियो’, वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनिषकुमार महतोले भने, ‘पारीको उक्त समस्याले गर्दा पेट्रोलियम इन्धनका ट्यांकर आज (बुधवार) ढिलो गरी आए।’ 

रक्सौलका नागरिक अगुवा महेश अग्रवालले यस्ता समस्या उठ्न नदिन दुबैतिरका सरकारी अधिकारीहरु सजग रह्नु पर्ने बताए। उनले सीमाको सौहार्द दुबैतिरका राज्य र नागरिकको महत्वपूर्ण सरोकार रहेकाले उठेका सवालहरुको समाधान हुन आवश्यक रहेको बताए।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले नाकामा भएको समस्या फुकाउन सीमापारी रक्सौल पुगेका थिए। उनले समेत नाका खुलाउन पहल गरे। 

भित्री कुरो के हो? 

भारतको बिहार प्रान्तमा अहिले मदिरा बिक्रीबितरण र सेवन बन्द रहेको कारण सीमापारीबाट दैनिक रुपमा सयौं जना मदिराका अमलीहरु वीरगन्ज आएर रक्सी सेवन गरेर फर्किने गरेका छन्। तिनीहरुबाट मापसे चेकजाँचको नाममा शंकराचार्य गेटमा खट्ने नेपाली सुरक्षाकर्मीले पैसा असुल गर्ने गरेको भन्दै रक्सौलमा बिशेष असन्तोष देखिएको थियो। ‘मान्छे हेरी हेरी पैसा लिन्छन्, यदी रक्सी पिउन अबैध छ भने बिक्री नै रोक, कि खाएपछि निर्वाध फर्किन देउ’, आफूले धेरै पटक पैसा दिन बाध्य भएको बताउने एक स्थानीयले भने, ‘कि लिएको पैसाको रसिद देऊ!’ 

सीमापारी मदिरा निषेधित रहेकोले त्यहाँका सुरक्षाकर्मी अगाडि प्रदर्शनकारीले औपचारिक रुपमा यस बिषयलाई मुद्दा नबनाए पनि बुधवार भएको नाका अवरोध पछाडि सीमावर्ती बिहारका मदिराका अमलीहरुको ठूलो हात देखिएको थियो।

प्रकाशित: ४ भाद्र २०७६ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App