coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहभोजमा सहभागी आचार्यलाई तनाव, मुख्यमन्त्री गुहारे

सामाजिक बहिस्कारमा परेपछि मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका टंकप्रसाद आचार्य । तस्बिर : नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टंकप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिबाट सहभोजमा सहभागीताका लागि पत्र प्राप्त भयो। छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तर्गत समन्वय समितिको पत्र प्राप्त भएपछि आचार्य उत्साहकासाथ जेठ १८ गतेको सहभोजमा सहभागी भए। 

दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धबिश्वासकाबीचमा जन्मे, हुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजित सहभोजमा उत्साहकासाथ सहभागी भएका थिए। स्थानीय किशोरी रचना सुनारको हातबाट दही पिए। दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचार लगायतका परिकार खाए। ‘यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो,’ दही पिउँदै आचार्यले भनेका थिए, ‘मेटासिटले मरिन्छ, दलितले छोएको खानेकुराले मरिन्न। हामी सबै मानव एउटै हौँ।’ तर, त्यही सहभागीता उनका लागि झमेलाको कारण बन्न पुगेको छ। पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा आचार्यको तारिफ मात्र भएन। आलोचना र सामाजिक दमनको सामना पनि गर्न परिरहेको आचार्यको गुनासो गरे। समाजमै अघोषित बहिस्कारको शिकार भएको भन्दै आचार्य न्यायको याचना सहित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका छन्। सामाजिक बहिस्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यमन्त्री राईले मंगलबार खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण निर्माण गर्न निर्देशन दिएका छन्। 

सहभोजमा सहभागी भएपछि गाउँकै कतिपय दाजुभाईले अप्रत्यक्षरुपमा बहिस्कार गर्दै लगेपछि आचार्य अप्ठ्यारोमा परेका हुन्। गाउँघरमा हुने कतिपय धार्मिक तथा साँस्कृतिक कार्यक्रममा उनलाई बोलाउन छाडिएको स्थानीय बताउँछन्। उनको बाबुको श्राद्ध समेत झण्डै असफल हुनुले उनीमाथिको समस्या देखाउँछ। पुरोहितका कारण श्राद्ध अड्केपछि अर्को पुरोहित झिकाएर श्राद्ध टारिएको थियो। दलितको हातबाट दही पिएको भनेर कुरा काट्ने र नबोलाउने गरेको सुनिएको नेकपा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका सचिव गोपालचन्द्र आचार्यले बताए।

सामाजिकरुपमा समस्यामा परेको आचार्यको मनोवल बढाउन यसबीचमा जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १० दिनको अन्तरालमा छुट्टाछुट्टै सम्मान नै गर्यो। छुवाछुतमुक्त समाज निर्माणमा अग्रणी भूमीका निर्वाह गरेको भन्दै तेश्रो जिल्लासभाको अवसर पारेर जिल्ला समन्वय समितिले असार २० गते र नगरसभाको अवशर पारेर नगरपालिकाले असार १० गते सम्मान गरेको थियो। 

सहभोजमा सहभागी भएकै कारण आचार्यमाथि सामाजिक विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले असार २ गते चार जना विरुद्ध उजुरी दिएको थियो। उजुरीको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुबैपक्षबीचमा सहमति गरिएको थियो। 

प्रकाशित: ४ भाद्र २०७६ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App