७ वैशाख २०८१ शुक्रबार
समाज

डेङ्गुको त्रास बढ्दै

गाईघाट- उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको त्रास बढेको छ। एक हप्ताभित्र मात्र कटारी क्षेत्रमा डेङ्गुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् भने अन्य डेङ्गुबाट प्रभावित बिरामीसमेत अहिले उपचारको लागि कटारी अस्पतालमा आउने क्रम बढ्दै गएको बताइएको छ।     
     
अस्पतालका प्रमुख डा. पवन साहका अनुसार १५ शैयाको कटारी अस्पतालमा अहिले डेङ्गुका बिरामीले अस्पतालका शैया भरिभराउ भएपछि बाँकी डेङ्गुका बिरामीलाई भूईंमा राखेर उपचार गर्न बाध्य हुन परेको छ। डा. साह भन्हुछन्, “अहिलेसम्म २९ जना डेङ्गुका बिरामीको उपचार गरिरहेका छौँ, केही उपचारपछि घर फर्केका छन्।”     
     
अस्पताल आएका तीन बिरामीको अवस्था गम्भीर भएकाले एक जनालाई धरानस्थित बिपी मेमोरियल अस्पताल, एकको विराटनगर र अर्का बिरामीलाई काठमाडौँ पठाउन सिफारीस गरिएको डा. साह बताउछन्। कटारी बजारमा अहिले डेङ्गुको व्यापक प्रभाव देखिएपछि नगरपालिकाले व्यापक नगर सरसफाइ अभियान तथा लामखुट्टे हटाउने अभियान शुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।     
     
उनका अनुसार डेङ्गुबाट बच्न नगरपालिकाले कटारी बजार र गाउँघरमा सडक खाल्डा, नालाको व्यापक सरसफाइ अभियान थालिएको छ। लामखुट्टे हटाउन ‘स्प्रे’ छर्कने कामदेखि लामखुट्टे मार्ने ग्यास बाल्ने कार्यसमेत गरिएको छ।     
     
स्थानीय सञ्चार माध्यबाट र नगरपालिकाले माइकबाटसमेत आह्वान गरेर लामखुट्टेबाट सतर्क हुन नगरवासीलाई आग्रह गरिएको छ। प्रदेश नं. १ अन्तर्गतको स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले डेङ्गुको अनुगमन गरेको नगर प्रमुख श्रेष्ठले बताए। डेढ महीना अघि कटारीमा दुई जनामा देखा परेको यो रोग अहिले फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ।     
     
जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीको हडिया, सुन्दपुर, बसाहा, बेल्टार र बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेश्वरी, रामपुरसहितका स्थानमा समेत अहिले केही मानिसमा डेङ्गु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ। कटारीसहित अन्यत्र समेत गरी ४५ भन्दा बढी मानिस डेङ्गुबाट प्रभावित भएको पनि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिए।रासस     

 

प्रकाशित: ४ भाद्र २०७६ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App