८ वैशाख २०८१ शनिबार
समाज

अबैध रूपमा बालुवा निकासी गरिरहेको ७ ट्याक्टर नियन्त्रण

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैध रुपमा बालुवा ओसारपसार गरिरहेको ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा क्षेत्रबाट दुधकोसीको बालुवा निकालेर दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। 

प्रहरीले बालुवा लिएर आउदै गरेको ना ४ त ९१७२, को २ त ८२३८, ना ४ त ९६५५, ना ५ त ६६८३, को २ त १३८४ र को १ त ३८१२ नम्बरको ट्याक्टर प्रहरीले बुधबार नियन्त्रण लिएको नियन्त्रण लिएको हो। अवैधरुपमा बालुवा निकासी गरिरहेको सूचनाका आधारमा प्रहरीचौकी नुनथलाले ट्याक्टर नियन्त्रणमा लिएको हो।

रावावेशी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्याक्टर ५ सय राजश्व बुझाएको रसिद हुँदाहुँदै प्रहरीले बालुवा नियन्त्रणमा लिएको हो। जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौकोबीचमा ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री उत्खनन् गर्न नपाइने नेपाल सरकारको नियम अनुसार बालुवा ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई जिल्ला समन्वय समितिका प्रमुख संयोजकत्वको जिल्ला अनुगमन समितिलाई बुझाइएको प्रहरीले जनाएको छ। सात वटामध्ये एउटा ट्याक्टर भने प्रहरी चौकी नुनथलाकै नियन्त्रणमा राखिएको छ। ट्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ।

वातावरणीय प्रभावकारी मूल्यांकन (आइईई) नगरी दुधकोसीबाट बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्याक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक बबी चाम्लिङले बताए। ‘वातावरणीय प्रभावकारी मूल्यांकन (आइईई) नगरी नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्न पाइदैन। विधि र प्रकृया मिचेर वालुवा निकालेको पाइएपछि अनुगमन समितिको निर्णय अनुशार प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो,’ संयोजक चाम्लिङले भने, ‘आइईई नगरी बालुवा झिक्ने व्यवसायीलाई आवश्यक कारबाही हुन्छ।’

जिल्लाको दुधकोसीको रभुँवा, जयराम, लुलीमा, हात्तीटार, सुनकोसीको बतासेघाट, फोक्सिङटार लगायतका क्षेत्रबाट आईई नगरी अनियन्त्रित तरिकाले दैनिक ढुंगा, गिटी, बालुवा निकाल्ने काम भइरहेको छ। रावा खोला, साप्सुखोलाका बिभिन्न खोलाबाट समेत आईई नगरी गिटी बालुवा निकासी भइरहेको छ। कतिपय ठाउँमा ढुंगा, गिटी र बालुवा निकासीकै लागि जथाभाबी सडक निर्माण गरिएका छन्। 

बालुवासहित प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय परिषरमा राखिएको ट्याक्टर। तस्बिर ः दमन राई÷नागरिक 

प्रकाशित: ४ भाद्र २०७६ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App