७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ। 

बुधबार केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै अध्यक्ष केसीले २०६२/०६३को जनआन्दोलनका मुख्य उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको र यसमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको उल्लेख गरे।  

‘पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्म निरपेक्षताको विरोध गरेका छन्। यदि धर्म निरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ’, जनमोर्चाको निष्कर्ष छ, ‘तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं।’

जनमोर्चाले परिवर्तन उल्ट्याउने खेलमा छिमेकी भारतबाट पनि खतरा रहेको औल्याएको छ। ‘भारतमा कट्टर हिन्दूवादी भारतीय जनता पार्टीको विजयले नेपालको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्धको खतरा झन गम्भीर बनेको छ’, अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

दुईतिहाइको नेकपा सरकारले काम गर्न नसकेको र कतिपय विषयमा असफल नै भएको जिकिर गर्दै जनमोर्चाले सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भावना रहेको र कतिपय बामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिवविधिले प्रतिगमनलाई मद्दत नै पुग्नेतर्फ सचेत गराएको छ। 

जनमोर्चाले संघीयताबाट नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि खतरा रहेको ठहर समेत गरेको छ।  

कश्मीरमा देखिएको भारतीय साम्राज्यवादी चरित्र नेपालका लागि पनि खतरा हुनसक्ने भन्दै जनमोर्चाले कश्मीरका जनताको आत्मनिर्णयको अधिकार तथा न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको छ।

भ्रष्टाचार, नागरिकता समस्या, महंगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समूदायका समस्याहरु पनि विकराल बन्दै गएको जनमोर्चाको ठम्याई छ। विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थतन्त्र झन–झन बिग्रदै गएको छ। सामाजिक न्याय पनि छैन। अतः गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि र भ्रष्टाचार, महँगी, विभिन्न जनवर्ग तथा समुदायहरुको हकहितका लागि संघर्ष गर्नुपर्ने राष्ट्रिय आवश्यकत्ता भएको छ।’

पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले संघीयता, महँगी र करवृद्धि, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा डुवानका समस्या, मजदुर मोर्चाले मजदुरका समस्या, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्यासहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछुतसमेतका समस्याका बारेमा संघर्ष गर्ने पनि जनाइएको छ।

जनमोर्चाले प्रचार, संगठन र संघर्षका कार्यक्रमहरु आजैबाट सुरु भई चैत्र मसान्तसम्म समापन हुने पनि जनाएको छ। भदौ महिनामा सबै प्रदेश समन्वय समिति र जिल्ला समितिहरुको बैठक बस्ने, असोज १० गते ७ वटै प्रदेशहरुमा प्रदेशस्तरका सभाहरु आयोजना गर्ने, असोज ११ गतेदेखि कात्तिक महिनाभर प्रचारात्मक कार्यहरु गर्ने निर्णय गरेको छ। मंसिर महिनाभरि संघर्षको तयारी सम्बन्धी काम र उपनिर्वाचन हुने ठाउँमा निर्वाचनसम्बन्धी काम गर्ने, पुस महिनाभरि घनिभूत संघर्षका कार्यक्रमहरु गर्ने, माघ महिनाभरि संगठनात्मक तयारीका कार्यहरु गर्ने, फागुन महिनाभर पार्टीको संगनात्मक अभियानका कार्यक्रम सञ्चालन गर्ने र चैत्र महिनाभर अखिल नेपाल किसान महासंघको संगठनात्मक अभियानका कार्यक्रमलाई सहयोग गर्ने रहेका छन्।

अध्यक्ष केसीले संघीयता अहिले सबैलाई भालुको कंचड भएको बताउँदै आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने स्पष्ट पारे। ‘संघीयता विद्यार्थीको भरमा भएको हुँदा हामीले विरोधको तयारीका लागि विद्यार्थीहरुलाई मुख्य रुपमा जोड दिएका छौ, तर संविधानको विरोधमा हामी छैनौ’, उनले भने। 

संघीयताको आवरणमा नेपाललाई धर्मनिरपेक्ष बनाउने र हिन्दुराज्य बनाउने बहानामा फेरी राजसंस्था फर्काउने कार्य भएकोले यसको विरुद्ध आफूहरुको विरोधका कार्यक्रम जारी रहेको प्रस्ट पारे। हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा पनि गणतन्त्रमाथि कालो बादल मडारिएको र धर्म निरपेक्षतामाथि शंका भएको कुरा नेताहरुले आँकलन गरेको समेत उनले ठोकुवा गरे। 

नेपाललाई हिन्दुराज्य बनाउने बाहानामा धर्मनिरपेक्ष बनाउने र गणतन्त्र सिध्याउने कुरामा बाह्य शक्तिको चलखेल भएको हुँदा यसमा नेपाली जनता सतर्क हुनुपर्ने कुरामा समेत उनले जोड दिए। 

पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रीय सदस्यद्वय घनश्याम न्यौपाने र लालबहादुर थापाले प्रतिगमनविरुद्ध पार्टी एक भएर लड्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ४ भाद्र २०७६ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App