७ वैशाख २०८१ शुक्रबार
समाज

चावहिल–साँखु सडकखण्डमा यातायात व्यवसायीको विरोध

साँखु - लामो समयदेखि चावहिल–साँखु सडकखण्डको निर्माण सम्पन्न नहुँदा यातायात व्यवसायीले विरोध शुरु गरेका छन्। सडक नबन्दा हिलो र खाल्डोमा परेर दिनहुँ गाडी बिग्रने तथा सरल र सहजरूपमा यातायात सेवा सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले विरोध गरेका हुन्।     
     
यस सडकखण्डमा हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि आन्दोलित भएको साँखु शालीनदी यातायात प्रालिका अध्यक्ष गोविन्द श्रेष्ठले बताए। व्यवसायीले गाडीमा कालो झण्डासहित ‘हामीले तिरेको कर कहाँ जान्छ?’, ‘हिलो धुलोमुक्त बाटोमा हिँड्न कहिले पाइन्छ सरका?’ लगायतको ब्यानर राखेर विरोध गरेका थिए। सडकको अवस्थालाई लिएर आन्दोलिन हुँदै आएका स्थानीयबासिन्दाको सहयोगमा यातायात व्यवसायीले गाडीमा कालो झण्डासहित सरकारलाई प्रश्न गरेका छन्।

सोही रुटमा चल्ने बाबा गोकर्णेश्वर यातायात अटो प्रालि र साँखु शालीनदी यातायात प्रालिले संयुक्तरूपमा विरोध गरेका हुन्।सडकखण्ड अन्तर्गतका केही भाग कालोपत्र गरे पनि अन्य ठाउँमा भने पानी पर्दा हिलो र घाम लाग्दा धुलोले यात्रु तथा स्थानीय आक्रान्त बनेका छन्। सडकखण्ड मर्मत तथा निर्माण सम्पन्न गर्नका लागि ध्यानार्कषण गर्न बनेको साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिका अध्यक्ष मिलन खड्काले सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै गुनासो पोखेका छन्।    
     
विभिन्न चरणमा स्थानीयले आन्दोलन गर्दै सडक निर्माण गर्न दबाब दिँदै आएको भए पनि सो सडकको भौतिक प्रगति भने अझै भएको छैन। विसं २०७२ मा दुई वर्षभित्र चावहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो। सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम पनि सकिएको छैन।     
     
म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाए पनि कामले गति लिन सकेको छैन। सरकारले चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।     
     
कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन्। सडक निर्माणमा विलम्ब भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले भने अझै गति लिन सकेको छैन।रासस     
   

 

प्रकाशित: ४ भाद्र २०७६ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App