coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

देशभरी इलाम छर्ने धोको

इलाम

आफ्नो वरिपरि
भीर पाखा र कान्लाभरि
थुम्का–थुम्का चिया र
झुम्का–झुम्का अलैंची उमारेर
सन्तोषले एक्कासि सुस्मित उठेझैं
हरियो भरिलो इलामलाई देख्दा मलाई
नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो

इलामको चर्चा गरेर दर्जनौं गीत लेखिए, कविता लेखिए अनि कथा, समाचार र नियात्रालगायत त कति हो कति। तर, हजारौं शब्दले वर्णन गरेपनि उबेला भूमि शेरचनले लेखिदिएको यही एउटा कविता इलामको छोटकरी परिचय दिनेगरी धेरैको मुखमा बसेको छ। र, नेपाली साहित्यका माध्यमबाट इलामलाई चिनाउनुपरे सबैभन्दा पहिला दिइने उदाहरण पनि भएको छ यो।

साहित्यकारले लेखेका थोरै शब्द नै कहिलेकाहीं अगुवाको भाषण वा अन्य कुनै माध्यमभन्दा बढी प्रभावकारी बनिदिन्छन्। त्यसरी नै इलामलाई फेरि १ पटक साहित्यममार्फत् ‘देशैभर छर्नेगरी’ जिल्लाका युवा साहित्यकार जुर्मुराएका छन्। तर, आफूले इलाम लेखेर होइन, देश र देशबाहिरका साहित्यकारलाई समेत इलाम लेख्न प्रेरित गरेर अनि सिंगो नेपाली साहित्यको गन्थनलाई छोटो समयका लागि भएपनि इलाममै केन्द्रित गरेर।

यही मेलो बनाउन आउँदो असोज ३ र ४ मा ‘इलाम साहित्य महोत्सव–२०७६’ आयोजना गरिँदैछ। साहित्य, राजनीति, सिनेमा, कलाकारिता, पर्यटन, गीत–संगीतलगायत विधामा बहस गर्ने महोत्सवको कार्यतालिका छ। तर, बहसले यी विषयमा चर्चा मात्रै गर्नेछैन, त्योभन्दा ठूलो उद्देश्य चाहिँ छ–साहित्यमा इलाम भरियोस्। र, त्यस अवसरमा आएका पाहुनामार्फत् नेपाल तथा देशबाहिरसमेत भूमिले भनेझैं ‘अलि–अलि इलाम’ छरियोस्।

महोत्सवका लागि जिल्ला आएका साहित्यानुरागी, विज्ञ, कलाकार, राजनीतिज्ञलगायतका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको आयोजक संस्था साहित्य समाज इलामका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए। ‘इलाम पर्यटकीय गन्तव्य हो, यहाँको सौन्दर्यमा निमग्न भएर सर्जकहरूले सयौं विधाको साहित्य रचेका छन्,’ उनले भने, ‘यसैका माध्यमबाट इलामको विकास र प्रचारमा सहयोग गर्ने र नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रवद्र्धन गर्ने हाम्रो प्रयत्न हो।’ महोत्सवमा नेपालका विभिन्न जिल्लाबाट डेढ सय तथा भारतका दार्जिलिङ र सिक्किमबाट २० जना साहित्यकार, लेखक, विश्लेषक, कलाकार र राजनीतिज्ञ आउने तय भएको कवि विमल वैद्यले बताए। ‘नेपाल र भारतका साहित्यकारमार्फत् इलामको प्रचार गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने हाम्रो धोको छ,’ वैद्यले भने।

साहित्य र विविध विषयमा विचार मन्थन, लेखक–पाठकबीच अन्तत्र्रिmया, सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न महोत्सवले सघाउने लक्ष्य राखिएको छ। ‘देश विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञसँग पाठकले प्रत्यक्ष अन्तत्र्रिmया गर्ने हुँदा यसले विश्व साहित्यको उतारचढावलाई बुझ्न मद्दत गर्छ,’ अध्यक्ष थाम्सुहाङले भने, ‘विषयगत ज्ञानको दायरा फराकिलो पार्न र वैचारिक मत बनाउन यसले सघाउनेछ।’

महोत्सवमा ‘समृद्धि कस्तो र कसका लागि ?’ शीर्षकमा विश्वप्रकाश शर्मा, घनश्याम भुसाल र योगेश भट्टराईबीच भलाकुसारी चल्नेछ। ‘करोड क्लब र अफवाह’ शीर्षकमा दयाहाङ राई, प्रकाश आङदेम्बे, यज्ञश र ब्रजेसबीचको छलफल सहभागीले हेर्न पाउनेछन्। साढे २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको साहित्य महोत्सवको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ।  

प्रकाशित: ४ भाद्र २०७६ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App