७ वैशाख २०८१ शुक्रबार
खेल

मेसीलाई फर्कन राष्ट्रपति र म्याराडोनाको आग्रह

ब्युनस आयर्स– अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना र राष्ट्रपति माउरियो मास्र्रीले सोमबार लियोनल मेसीलाई राष्ट्रिय टोली नछाड्न आग्रह गरेका छन्।
आइतबार कोपा अमेरिकाको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि निराश बनेका मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका थिए । अर्जेन्टिनाबाट पहिलो पेनाल्टी प्रहार गरेका मेसी त्यसमा चुकेका थिए । सुटआउटमा ४–२ को नतिजामा पराजित भएपछि मेसीले खेल सकिएलगत्तै लामो समय आँसु थाम्न सकेनन् ।
लकर कक्षसम्म पुग्दा पनि आफूलाई सम्हाल्न नसकेका मेसीले एकाएक अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेपछि २०१८ विश्वकपको छनोट प्रतियोगिता खेलिरहेको अर्जेन्टिनी फुटबलमा हलचल मच्चिएको थियो ।  
‘उनी टोलीमै बस्नुपर्छ किनकि उनीसँग खेल्नका लागि प्रशस्त समय छ,’ ला नासन पत्रिकाले म्याराडोनालाई उद्धृत गर्दै लेखेको छ, ‘उनी विश्वविजेता बन्न रुस जानुपर्छ ।’
२९ वर्षे मेसीलाई विश्वकै उत्कृष्ट खेलाडीमा लिइन्छ । तर आइतबार उनी अर्जेन्टिनाबाट चौथोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भए । सामाजिक सञ्जालमा समर्थकले मेसीलाई फर्किन अनुरोध गरेपछि त्यसमा राष्ट्रपति मास्री पनि थपिए । उनले पनि बार्सिलोनाका स्टारलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्किन अनुरोध गरे ।
‘राष्ट्रपतिले मेसीलाई फोन गरेर राष्ट्रिय टोलीको प्रदर्शनबाट आफू गौरवान्वित भएको भन्दै आलोचना नसुन्न आग्रह गर्नुभयो,’ राष्ट्रपतिका प्रवक्ताले भने ।
अर्जेन्टिनी फुटबलमा खडेरी
१९८६ विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको पछिल्लो उपाधि खडेरी लाग्नुको दोष राष्ट्रिय फुटबल संघलाई लगाएका छन् । उनले संघमाथिको आरोप मेसीको समर्थनमा नगरेको भन्दै आइतबारको हारमा मेसीको पनि दोष रहेको बताए ।
‘जसले मेसीले छाड्नुपर्छ भन्छन् उनीहरूलाई उपाधि खडेरी किन भयो भन्ने नै थाहा छैन,’ म्याराडोनाले भने । मेसीसहितका अर्जेन्टिनी टोली सोमबार दिउँसो राजधानी ब्युनस आयर्समा उत्रिसकेको छ । सञ्चारमाध्यमका क्यामराले प्रशिक्षकलाई समाउन सके पनि खेलाडीको प्रतिक्रिया बाहिर आइसकेको छैन।

आलोचनाको पराकाष्ठा

बार्सिलोनामा मेसीलाई माया धेरै छन् । तर, त्यही किसिमको माया उनले मातृभूमिमा पाउन सकेका छैनन्। मेसीका साथीहरू नै अचम्म मान्छन् कि  मेसीले कसरी घरेलु समर्थकको रुखो व्यवहार झेलिरहेका छन् ।
‘आलोचना र खराब व्यवहारले परकाष्ठा नाघेको नतिजा हो,’ घरेलु सहरमा मेसीका पहिलो प्रशिक्षक इरनेस्टो भेचियोले भने, ‘म उनले छाडोस् भन्ने पक्षमा छैन । आफूलाई उनको स्थानमा राखेर हे¥यो भने निपष्क्ष हुन सकिन्छ । टोलीमा अन्य १० खेलाडी पनि छन् किन उनलाई मात्र मुक्तिदाता सोच्ने ।’
मेसीको शान्त स्वभावले मैदानमा उनी प्रभावशाली गोल गर्ने खेलाडी भएका छन् । तर, उनको रिजर्भ स्वभावले आलोचना निम्त्याउने गरेको छ ।
कोपा अमेरिका सुरु हुनुपूर्व स्वयं म्याराडोनाले पनि मेसीमा कप्तान हुने व्यक्तित्व नभएको बताएका थिए । मेसीले पाँचपटक फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । तर, अझै पनि उनी म्याराडोनासँग दाँजिन सकेका छैनन् । म्याराडोनाले १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

खेलाडीमा हलचल

अर्जेन्टिनी टोलीका अन्य थुप्रै स्टार खेलाडीहरू पनि टोलीबाट बाहिरिन सक्छन् । म्यानचेस्टर सिटीका स्टार सर्जियो अग्विरोले अन्य खेलाडीले पनि राष्ट्रिय टोलीबाट संन्यास लिन सक्ने बताइसकेका छन् ।
‘ड्रेसिङ कक्षमा हामी सबै उजाड मनस्थितिमा थियौं, विशेष गरी मेसी । मैले उनलाई यस्तो अवस्थामा कहिल्यै देखेको थिइनँ,’ अग्विरोले भने, ‘अन्य केही खेलाडी पनि निरन्तरता नदिन सक्छन् ।’
अग्विरो आफैले मेसीलाई पछ्याउँछन् वा पछ्याउँदैनन् खुलाएका छैनन् । तर सञ्चारमाध्यमका अनुसार हाभियर मास्केरानो र गोन्जालो हिग्विनले टोली छाड्ने जनाएका छन् ।
हारको दबाब
अर्जेन्टिना विश्वकप २०१४ को फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । २०१५ को कोपा अमेरिकाको फाइनलमा पनि चिलीसँग पेनाल्टीमै पराजित भएको थियो । मेसीसँग अर्जेन्टिना २००७ कोपा अमेरिका फाइनलमा ब्राजिलसँग पराजित हुँदाको अनुभव पनि छ ।
यही प्रतियोगितामा सेमिफाइनलमा अमेरिकालाई पराजित गर्दा मेसीले अर्जेन्टिनाबाट सबैभन्दा धेरै गोल गर्ने (५५) खेलाडीको कीर्तिमान बनाएका थिए । आइतबार राति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलले भने उनलाई निराशाको आँसु दियो ।
‘मैले गर्न सक्ने सबै गरिसकेँ । चारवटा फाइनल पुगेँ तर जित्न नसक्दा पीडा हुन्छ,’ मेसीले भने ।
उनको राष्ट्रिय टोली छाड्ने घोषणा गरेपछि समर्थकले फाइनलको हार बिर्सिएका थिए । ‘फाइनल हार्नु फुटबलको एक नियमित प्रक्रिया हो,’ मेसीका समर्थक फेड रुइजले ट्विट गरेका छन्, ‘तर फाइनल गुमाउनुभन्दा मेसीलाई गुमाउनु धेरै पीडादायी छ।’

 

 

 

प्रकाशित: १५ असार २०७३ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App