coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरा - पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म महिला र पुरुष गरी २८ जना पाइलट नियमित प्रशिक्षणमा छन्। सराङकोट र कास्कीकोटको तोरीपानी डाँडाबाट उडान भर्दै फेवातालको किनारमा अवतरण गर्दै प्रशिक्षणमा व्यस्त छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एवं १८औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका प्याराग्लाइडिङका खेलाडीहरू यति बेला दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा जुटेका छन्।

‘बिहानदेखि दिउँसो २ बजेसम्म नियमित प्रशिक्षण भइरहेको छ।’ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले भने, ‘पानी प¥यो भने प्रशिक्षणमा समस्या हुन्छ। तर केही दिनयता मौसम सफा छ। समस्या भएको छैन्।’ खेलाडीहरूले गत जेठ १५ देखि प्रशिक्षण सुरु गरेका हुन्। २२ पुरुष र ६ महिला गरी २८ जना सहभागी छन्। ‘अन्तिम छनोट भदौ १५ भित्र गर्नुपर्ने निर्देशन छ,’ उनले भने, ‘त्यही परिपत्रअनुसार महिलातर्फ ३ र पुरुषतर्फ ५ खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ।’

खेलाडीको प्रशिक्षणलाई भने व्यावसायिक उडानले प्रभाव पारेको छैन। पोखरामा दैनिकजसो सयौं एकल तथा टेन्डम (व्यावसायिक) उडान हुने गरेको छ। फरकफरक ठाउँमा टेकअफ र ल्यान्डिङ क्षेत्र छन्। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि खेलाडीले अहिले प्याराग्लाइडिङ कम्पनीकै निजी उडान क्षेत्र (टेकअफ) प्रयोग गर्दै आएका छन्। सरकारीस्तरको टेकअफ र ल्यान्डिङ क्षेत्र भने छैन। कम्पनीहरूले पनि व्यावसायिक उडान भर्न सुरु गरेको २०औं वर्ष भएपनि गुणस्तरीय टेकअफ र ल्यान्डिङ क्षेत्र बनाउने तर्फ ध्यान दिन सकेका छैनन्। यद्यपि महानगरपालिकाले बर्सेनि करोडौं रुपैयाँ राजस्व प्याराल्याइडिङबाट उठाउँदै आएपनि टेकअफ र ल्यान्डिङ क्षेत्र बनाउन चासो दिएको देखिँदैन।

टेकअफ र ल्यान्डिङ क्षेत्र निर्माण गर्नुपर्ने खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले बजेट उपलब्ध गराइसकेको छैन। अब साढे तीन महिना मात्रै बाँकी छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्याराग्लाइडिङका लागि ४४ लाख रुपैयाँ माग गरिएको छ। माग गरिएको बजेटले एक्युरेसी र क्रसकन्ट्रीको लागि छुट्टाछुट्टै स्थल निर्माण गर्नुपर्ने आवश्यकता छ। उडान र अवतरणस्थलमै चेन्जिङ तथा शौचालय निर्माण गर्नुपर्नेछ। सराङकोट र कास्कीकोटको तोरीपानीलाई स्तरोन्नति गर्ने आन्तरिक तयारी छ। ‘चेन्जिङ रुम र शौचालय बनाउन डेढ करोडभन्दा बढी लाग्छ,’ उनले भने।

प्रतियोगितामा दुई इभेन्ट क्रस कन्ट्री र एक्युरेसीमा प्रतिस्पर्धा हुनेछ। ‘एक्युेरसीमा हामी कमजोर छौं,’ उनले भने, ‘क्रसकन्ट्रीमा भने हामी राम्रो छौं।’ उनले एक्युरेसीको लागि वैदेशिक प्रशिक्षणको  व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। ‘एक्युरेसीको लागि वैदेशिक प्रशिक्षण पठाउनुपर्छ,’ उनको भनाइ थियो। प्रशिक्षणमा गण्डकी प्रदेशसँगै प्रदेश नं १, ३, ५ र ७ एवं नेपाली सेनाका पाइलटहरूको सहभागिता रहेको छ। उनीहरूलाई परिषद्ले योगेश भट्टराई र सुरेन गुरुङलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। उनीहरूकै प्रशिक्षकत्वमा नियमित प्रशिक्षण भइरहेको छ।

प्रशिक्षणरत खेलाडीले आफ्नै सामान प्रयोग गर्दै आएका छन्। प्रतियोगितामा सहभागिता जनाउन १६ वटा ग्लाइडरको माग गरिएको छ। संघका महासचिव रावतका अनुसार १६ वटा ग्लाइडरको सेट आवश्यकता रहेको भन्दै पत्राचार गरिसकिएको छ। एक सेटलाई क्रसकन्ट्रीको लागि ८ लाख रुपैयाँ र एक्युरेसीको लागि आवश्यक ग्लाइडर भने ६ लाख रुपैयाँ पर्ने उनले बताए। अहिले आफ्नै सामानले जेनतेन प्रशिक्षण गरिरहेको संघले जनाएको छ। खेलाडीलाई अहिले विभिन्न कम्पनीकै सवारीले लेकसाइड क्षेत्रदेखि उडानस्थलसम्म पु¥याउँदै आएका छन्। भदौ १५ पछि छनोट भएका खेलाडीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। ‘परिषद्ले नै छुट्टै खेलाडी ल्याउने र लैजाने सवारी व्यवस्था गर्नुपर्छ,’ उनको भनाइ थियो। लेकसाइडदेखि सराङकोटको उडान क्षेत्र ८ किलोमिटरको दूरीमा छ र कास्कीकोटको तोरीपानी भने १२ किलोमिटरको दूरीमा छ।

प्रकाशित: ४ भाद्र २०७६ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App