coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ह्यान्डबलका खेलाडीलाई जर्सीसमेत छैन

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलभित्र प्रशिक्षण गर्दै महिला ह्यान्डबल टोली

पोखरा - पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलभित्र यति बेला ह्यान्डबल प्रशिक्षण चलिरहेको छ। खेलाडीहरूले नियमित रूपमा बिहान र साँझ दुई समय प्रशिक्षण लिइरहेका छन्। तर खेलाडीहरू प्रशिक्षण जर्सीबिना नै सिकिरहेका छन्।

बिहान र साँझ प्रशिक्षण लिइरहेका खेलाडीहरू आफ्नै पोसाकमा व्यस्त रहन्छन्। आर्मीका खेलाडीले आर्मीकै जर्सी लगाएर प्रशिक्षण लिइरहेका छन्। अन्यले पनि आफ्नै प्रदेश तथा विभागीय जर्सी नै प्रयोग गर्दै आएका छन्।

‘ट्रेनिङ जर्सी हुनुपर्छ। तर उपलब्ध छैन। बजेट नै आएको छैन,’ राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विकले ह्यान्डबल प्रशिक्षणको निरीक्षण पछि भने, ‘कुनै खेलका लागि पनि बजेट आइसकेको छैन। बजेट नआउँदा ट्रेनिङ जर्सी उपलब्ध गराउन सकिएको छैन।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले पनि खेलाडीलाई अनिवार्य रूपमा टे«निङ जर्सी उपलब्ध गराउनुपर्ने प्रावधान भए पनि उपलब्ध गराउन नसकिएको स्वीकार गरे। उनले परिषद्बाट आवश्यक बजेटसमेत उपलब्ध नहुँदा भौतिक पूर्वाधार निर्माणमा समस्या पर्ने सम्भावना रहेको उल्लेख गरे। ‘ग्रिनरीका लागि हामीले ओमबुद्ध नर्सरीसँग विरुवा मागेका छौं,’ उनले भने, ‘आवश्यक परेको ठाउँमा ठूला बिरुवा रोपेर हरियाली बनाउन सुरु गरिएको छ।’

ह्यान्डबलमा पुरुष रमहिलातर्फ अहिले समान २८ खेलाडी प्रशिक्षणरत छन्।  केही खेलाडीहरू पनि आफ्नै कारणले अनुपस्थित छन्। महिला खेलाडीमध्ये केही भारतमा आयोजना हुने पूतियोगिताका लागि समेत गएका छन्। १३औं सागअन्तर्गत ह्यान्डबल प्रतियोगिता पोखरामा आयोजना गरिने तयारीसहित पोखरामै केही साता अघिदेखि प्रशिक्षण सुरु गरिएको हो। ‘ट्रेनिङ जर्सी चाहिन्छ। हामीले मागिरहेका छौं,’ प्रशिक्षणमा रहेका खेलाडी विशाल बस्नेतले भने, ‘तर राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको छैन।’

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादर गुरुङले प्रशिक्षणका लागि आवश्यक खेलसामग्री माग गरिएको भए पनि उपलब्ध नभएको बताए। परिषद्बाट सामग्री उपलब्ध नभए पनि नियमित प्रशिक्षणका लागि चाहिने सामग्रीलाई व्यक्तिगत रूपमा सहयोग भइरहेको बताए। ‘होटलको बसोबासदेखि खेल सामग्रीको व्यवस्थापनमा व्यक्तिगत रूपबाटै सहयोग भइरहेको छ,’ उनले भने, ‘परिषद्बाट उपलब्ध नभए पनि प्रशिक्षणमा समस्या छैन। ’ उनका अनुसार खेलाडीलाई प्रशिक्षणका लागि परिषद्ले प्रतिखेलाडी १४ सय रुपैयाँ भत्तास्वरूप उपलब्ध गराउनेछ।

प्रकाशित: ४ भाद्र २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App