८ वैशाख २०८१ शनिबार
खेल

रंगभेदी टिप्पणीको कडा निन्दा

लन्डन – विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ ।

इङ्लिस प्रिमियर लिगमा सोमबार उल्भरह्याम्पटनसँगको खेलमा पोग्बाले पेनाल्टी अवसर गुमाएपछि युनाइटेड १–१ गोलको बराबरीमा रोकिँदा उनीप्रति समर्थकले रंगभेदी टिप्पणी गरेका थिए । सो व्यवहार निकै निन्दनीय भएको युनाइटेडले जनाएको छ । गत संस्करणदेखि २६ वर्षे फ्रान्सेली स्टार पोग्बा चार पटक पेनाल्टीमा चुक्दा प्रिमियर लिगमै धेरै पेनाल्टी गुमाउने खेलाडीसमेत भए ।

उनको टोलीका मार्कुस रसफोर्डले पनि आफ्ना चारै पेनाल्टीलाई गोलमा परिणत गरेका छन् । जसको कारण पनि पोग्बा सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परे । गत हप्ताभित्र मात्र पेनाल्टी अवसर गुमाउँदा इङ्ल्यान्डमा रंगभेदी टिप्पणी खेप्ने पोग्बा तेस्रो खेलाडीका भएका छन् । युनाइटेडले सो किसिमको टिप्पणीलाई घ्रिणालाग्दो व्यवहार भएको विश्लेषण गर्दै निन्दनीय रहेको जनाएको छ ।

‘जो व्यक्तिले त्यस किसिमको खराब धारणा व्यक्त गरेका छन्, त्यसले हाम्रो क्लबको मान गिराएको छ । हाम्रा समर्थकहरूलाई खराबतर्पm लगिरहेको छ,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनाइटेडले त्यस्ता टिप्पणीप्रति शून्य सहनशीलता हुने उल्लेख गरेको छ । ‘त्यस्ता गतिविधिप्रति हामी शून्य सहनशीलता अपनाउनेछौं । रंगभेदी, विभेद र क्याम्पेनको पूर्ण विपक्षमा छौं,’ युनाइटेडले भनेको छ, ‘हामी त्यो घटनाको विषयमा पनि छानबिन गर्नेछौं । साथै हामी त्यस किसिमको घटना रोक्न क्याम्पेन नै चलाउनेछौं ।’

रसफोर्डले पनि पोग्बाको समर्थनमा ट्विट गर्दै भनेका छन्, ‘उनी हाम्रो परिवारका सदस्य हुन् । पोग्बाप्रति आक्रमण हुनु हामी सबैप्रतिको आक्रमण हो ।’ गत हप्ता चेल्सीका टमी अब्राहम र च्याम्पियनसिप क्लब रिडिङका याकोयु मेइटेलाई पनि रंगभेदी टिप्पणी गरिएको थियो ।
अब्राहमले गत बुधबार सुपर कपको फाइनलमा लिभरपुलविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम पेनाल्टी चुमाउँदा चेल्सीले उपाधि गुमाएको थियो । त्यससँगै अब्राहममाथि पनि तीव्र रंगभेदी आक्रमण भयो । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले त्यस्तो टिप्पणीलाई घृणित व्यवहार भएको प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षक लाम्पार्डले सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यस्ता खराब टिप्पणी रोक्ने अभियान चलाउन पनि अनुरोध गरेका छन् । अब्राहमले पनि आफूलाई घृणा गर्नेप्रति केही नभन्ने बताइसकेका छन् । यसअघि चेल्सीले नै गत जुलाईमा म्यानचेस्टर युनाइटेडका रहिम स्टर्लिङप्रति रंगभेदी टिप्पणी गर्नेलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ । पाँच समर्थकलाई चेल्सीले एक वर्ष र २ वर्ष प्रतिबन्ध लगाएको छ ।

उल्भरह्याम्पटनको घरेलु मैदानमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेको थिएन । २७औं मिनेटमा एन्टोनी मार्सियलको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइेटडविरुद्ध उल्भरह्याम्पटनले दोस्रो हाफमा भने गोल फर्कायो । ५५औं मिनेटमा उल्भरह्याम्पटनका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पु¥याए ।

तर, ६८औं मिनेटमा युनाइटेडले अग्रता लिने अवसर पाएको थियो । यद्यपि, पेनाल्टीमा पोग्बा चुक्न पुगे । त्यससँगै यो सिजनको पहिलो खेलमा चेल्सीमाथि ४–० को प्रभावशाली जित निकालेको युनाइेटड उल्भरह्याम्पटनसँग भने अंक बाँड्न बाध्य भयो । खेलपछि प्रशिक्षक ओले गनर सोल्सजायररले रसफोर्ड र मार्सियल अग्रपंक्तिमा अझ चुस्त हुन आवश्यक रहेको बताए । यो बराबरीसँगै युनाइटेडले २ खेलबाट ४ अंक बनाएको छ । ‘पोग्बा हाम्रो परिवारका सदस्य हुन् । उनीप्रति आक्रमण हुनु हामी सबैप्रतिको आक्रमण हो ।’

 

 

प्रकाशित: ४ भाद्र २०७६ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App