८ वैशाख २०८१ शनिबार
समाज

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

महानगरपालिकाले इटालीबाट झिकाएको पाँच बु्रुमर। फाइल तस्बिर : नागरिक

काठमाडौं – ‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए।

उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे। तर सहरको धुलोको समस्या ज्यूँका त्युँ रह्यो। सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुुन नसकेको बताइएको छ। सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौंका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए। तर, पाँच महिना बित्दा समेत कुनै ठाउँमा सडक टालटुल गरिएको छैन। ढलको समेत व्यवस्थापन हुन सकेको छैन। जसले गर्दा ब्रुमर सञ्चालन प्रभावकारी हुन नसकेको हो।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार चैत्र १२ गते ब्रुमर सञ्चालनमा आएदेखि अहिलेसम्म पाँच ब्रमुरको डिजेल खर्च १० लाख ९० हजार एक सय २५ रुपैयाँ पुगेको छ। हालसम्म ११ हजार चार सय ७५ लिटर डिजेल सकिएको छ। तेलको खर्चअनुसार ब्रुमरबाट सफाइको काम भने प्रभावकारी नदेखिएको स्थानीय बताउँछन्। महानगरपालिकाले ब्रुमर चलाए पनि सडकमा धुलो नहटेको स्थानीयको अनुभव छ।

महानगरपालिकालाई धुलोमुक्त बनाउनका लागि पहिले बौद्ध, जोरपाटी, नारायणटार सडकमा पिच हुनु आश्यक छ। त्यहाँका हिलो सवारी साधनको चक्कामा टाँसिएर गौशला, पुतलीसडकसम्म हिलो आउँछ। त्यसैले पनि ब्रुमर चलाए पनि समस्या उस्ताको उस्तै देखिन्छ।

गौशालाका सन्दीप श्रेष्ठले महानगरले ब्रुमर चलाए पनि धुलोका कारण सधैं माक्स लगाएर बस्नु परेको बताए। ‘महानगरपालिकाले ब्रुमर चलाए पनि धुलोको समस्या ज्यूँका त्युँ छ,’ उनले भने, ‘अहिले यो रुटमा ब्रुमर चलेको देखिँदैन। चल्दा पनि पहिलेकै जस्तै धुलो हुन्छ। धुलोले गर्दा पसलमा बस्नै सकिँदैन। दिउँसै अन्धकार हुन्छ।’ ब्रुमरको डिजेल खर्चप्रति आपत्ति जनाउँदै उनी भन्छन्, ‘ब्रुमरको कामले सडकमा १० प्रतिशत पनि धुलो हटेको छैन। त्यति धेरै डिजेल खर्च भयो भयो होला र ... ’ उपत्यकाका सडक पिच नहुँदा धुलो हट्न नसकेको उनले बताए।

सहरलाई स्वच्छ र सफा बनाउनका लागि सडकका खाल्डाखुल्डी पुर्नुुुपर्ने विज्ञहरुको राय छ। पूर्वाधारविद् सूर्यराज आचार्य काठमाडैंका सडक पूर्ण रूपले मर्मत गरेर मात्रै बु्रमर चलाउँदा उपयुक्त हुने तर्क गर्छन्। ‘बु्रमर चलाउनका लागि सडक चिल्लो हुनुपर्छ,’ उनले भने, ‘अहिले यहाँ खाल्डाखुल्डी नभएका कुनै सडकै छैनन्। कतिपय सडकमा सबै कालोपत्रे उप्किसकेका छन्। त्यसैले सडक कालोपत्रे गरेर मात्र ब्रुमर चलाउनु बुद्धिमानी हुन्छ।’ उनका अनुसार महानगरपालिकालाई धुलोमुक्त बनाउनका लागि पहिले बौद्ध, जोरपाटी, नारायणटार सडकमा पिच हुनु आश्यक छ। त्यहाँका हिलो सवारी साधनको चक्कामा टाँसिएर गौशला, पुतलीसडकसम्म हिलो आउँछ। त्यसैले पनि ब्रुमर चलाए पनि समस्या उस्ताको उस्तै देखिन्छ।

महानगरपालिकाले ब्रुमर चलाउन टेकु, पुरानो बानेश्वर, सिनामंगल, एअरपोर्ट, गौशाला चावहिल, चुच्चेपाटीलगायत तोकेको रुट तोकेको छ। यही रुट अनुसारमा ब्रुमर चलाइन्छ। त्यस्तै, महानगरपालिकाले भित्री शहरमा नियमित रातको आठ बजेदेखि चार बजेसम्म कमलपोखरी, थापाथली, कलंकी, पुतलीसडक, बागबजार, बबरमहल, माइतीघरलगायतका रुटमा ब्रुमर चलाउँदै आएको छ।

महानगरपालिकाले ब्रुमर चलाउन टेकु, पुरानो बानेश्वर, सिनामंगल, एअरपोर्ट, गौशाला चावहिल, चुच्चेपाटीलगायत तोकेको रुट तोकेको छ। यही रुट अनुसारमा ब्रुमर चलाइन्छ। त्यस्तै, महानगरपालिकाले भित्री शहरमा नियमित रातको आठ बजेदेखि चार बजेसम्म कमलपोखरी, थापाथली, कलंकी, पुतलीसडक, बागबजार, बबरमहल, माइतीघरलगायतका रुटमा ब्रुमर चलाउँदै आएको छ। इटालीबाट आयात गरिएका ब्रुमरको इन्जिन क्षमता एक सय सात किलोवाट रहेको छ। डिजेलबाट सञ्चालित हुने उक्त बु्रमरमा अगाडि एउटा, दुई छेउमा एक एकवटा र पडाडि एक गरी चारवटा ब्रस हुन्छ। सो ब्रुमरमा पाँच सय लिटर पानी र करिब पाँच घनमिटर धुलो भण्डारण क्षमता हुन्छ। त्यस्तैगरी ललितपुर महानगरपालिकाले पनि सडकको धुलो सफा गर्न दुई वटा ब्रुमर भित्र्याइसकेको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वमान डंगोलले वर्षातका कारण बु्रमर चलाए पनि धुलो हट्न नसकेको बताए। ‘वर्षातले गर्दा सर्वसाधारणको अपेक्षाअनुसार धुलो हट्न नसकेको हो,’ उनले भने, ‘अरु समयमा कम धुलो हुन्थ्यो। फेरि सडक खाल्डाखुल्डी भएकाले पनि धुलो हट्न नसकेको हो। ढल व्यवस्थापन र सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराएका छौं।’ उनका अनुसार ढल व्यवस्थापन नहुँदा र पानी परेको बेला जहाँ त्यहाँ पानी जमेर पोखरी नै बन्छ। पानी सुकेपछि त्यही ठाउँबाट धुलो उड्ने गरेको छ। ‘सडक पीच नभएर पनि एक ठाउँको हिलो गाडीको चच्काबाट अर्को ठाउँमा पुग्ने गरेको छ। उद्योग कलकारखाना भएको कच्चीसडकले पनि धुलोको समस्या निम्त्याएको छ,’ उनले भने।

ब्रुमरले उपत्यकाको बागबजार, पुतलीसडक, माइतीघरलगायत सडकबाट सफाइ थालेको पाँच महिनामा १४ सय ४९ टन धुलो उठाएको डंगोलले जनाए। उनका अनुसार उक्त सडकमा बु्रमरमार्फत् उठाएका धुलो खाल्डाखुल्डी भएका ठाउँमा हाल्ने गरिएको छ। उनले उठाइएको धुलोबाट इँटाजस्ता घर बनाउने निर्माण सामग्री बनाउने योजना रहेको बताए।

त्यस्तै, चीनले दिएको दुई बु्रमर अझै काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याउन सकेको छैन। गत असारमै चीनको छेदुङ नगरले महानगरपालिकालाई सो ब्रुमर प्रदान गरेको थियो । महानगरपालिकाका प्रवक्ता डंगोलले ती ब्रुमर भदौैसम्ममा सञ्चालनमा ल्याउने बताए। उनले भने, ‘चाइनाले दिएको ब्रुमरको रजिष्टर गर्ने प्रक्रियामा छ। यी सबै प्रक्रिया पूरा गरिसकेपछि भदौसम्ममा सञ्चालन गर्नेछौं।’ महानगरपालिकाका अनुसार यी दुवै ब्रुमरको इन्जिन क्षमता १ सय ५५ किलोवाट र ब्रुमर इन्जिनको क्षमता १५.८ मेट्रिक टन रहेको छ। दुई थप ब्रुमर गरी हाल महानगरसँग सात ब्रुमर छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App