७ वैशाख २०८१ शुक्रबार
अर्थ

१६ अर्ब माग्दा ३३ करोड पाए

काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या न्यून रहेको छ।

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरूले ३३ करोड रुपैयाँ मात्र ती युवाहरूलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ।  उद्यम गर्नलाई ऋण नै पाउन नसक्ने अवस्था सिर्जना भएपछि युवाले सरकारले झुक्याएको भन्दै विरोध गर्न थालेका छन्। ‘स्वदेशमा उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने सूचना देखेपछि बोर्डमा निवेदन दिएका हौं,’ बाख्रापालन गर्नका लागि १० लाख रुपैयाँ माग गरेका सर्लाही हरिवनमा सिजन प्रसाईले भने, ‘निवेदन दिएको लामो समय बितिसक्दा ऋण पाउने कुनै छाँट छैन।’

सहुलियत ऋणका लागि बोर्डको पत्र बोकेर विभिन्न बैंक धाउँदा अधिकांश बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरिरहेको उनको भनाइ छ। बोर्डले वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम होस् भन्ने उद्देश्यले युवालाई स्वदेशमै उद्यमी बनाउने पहल सुरु गरेको थियो। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा सिकेको सीप उपयोग होस् भन्नेसमेत उक्त कार्यक्रमको उद्देश्य रहेको बताए।

वैदेशिक रोजगारीबाट फर्केर सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १० लाख रुपैयाँभन्दा बढी माग गर्ने ६७ प्रतिशत रहेको बोर्डले जनाएको छ। त्यस्तै १० लाख रुपैयाँ ऋण माग गर्ने ३१ प्रतिशत छन्। निवेदन दिएका १८ हजार सात सय ३७ मध्ये १० लाख रुपैयाँ भन्दा कम ऋण मान्ने दुई प्रतिशत मात्र छन्। ऋण माग गर्नेमध्ये सबभन्दा बढीले उद्योग सञ्चालन गर्ने दावी गरेका छन्।

श्रेष्ठले ठूलो संख्याका युवाले स्वदेशमै केही गर्न खोजेको बेला सहुलियत ऋणका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीसँग सक्दो पहल गरेको बताए। ‘वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिनेमा सबै सकारात्मक नै हुनुहुन्छ,’ उनले भने, ‘तर, सहुलियत ऋण दिने कार्यविधिमा कसैले ऋण नतिरेमा फिर्ताका लागि बैंकहरूले कम्तीमा पाँच वर्ष कुर्नुपर्ने प्रावधान रहेकाले समस्या देखिएको छ।’

कार्यविधिमा पाँच वर्षका लागि सहुलियत ऋण लिएको युवा टाट पल्टेको खण्डमा कर्जा सुरक्षण गर्न पनि पाँच वर्ष नै पर्खनुपर्ने उल्लेख छ। ‘ऋण नतिर्नेबाट कर्जा असुली गर्ने प्रक्रिया थाल्न पनि पाँच वर्ष नै पर्खनु पर्ने भएकाले बैंकहरू सहुलियत ऋण दिन अनिच्छुक देखिएका हुन्,’ उनले भने, ‘अर्थ मन्त्रालयले यस्तो कार्यविधि संशोधनमा लागिरहेको छ। त्यसपछि केही सहज होला भन्ने अपेक्षा छ।’

वैदेशिक रोजगारीबाट फर्केर सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १० लाख रुपैयाँभन्दा बढी माग गर्ने ६७ प्रतिशत रहेको बोर्डले जनाएको छ। त्यस्तै १० लाख रुपैयाँ ऋण माग गर्ने ३१ प्रतिशत छन्। निवेदन दिएका १८ हजार सात सय ३७ मध्ये १० लाख रुपैयाँ भन्दा कम ऋण मान्ने दुई प्रतिशत मात्र छन्। ऋण माग गर्नेमध्ये सबभन्दा बढीले उद्योग सञ्चालन गर्ने दावी गरेका छन्।

चार हजार सात सय ४० युवाले  उद्योग सञ्चालन गर्ने चाहना राखी सहुलियत ऋणका लागि निवेदन दिएका छन्।  ‘विदेशमा सिकेको सीप र मेहनतले हुनसक्छ, धेरैले उद्यमी बन्ने चाहना राखेका छन्,’ श्रेष्ठले भने। विदेशबाट फर्केका युवाले गर्न चाहेको उद्यममा होटल, मदिरा, फलफूल, झोला, जुत्ताचप्पल कारखाना स्थापना गर्नेसम्मका छन्।

बोर्डले सहुलियतपूर्ण ऋण प्राप्तीका लागि वैदेशिक रोजगारीबाट फर्केका तीन वर्ष ननाघेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो।  त्यस्तै संशोधमार्फत कर्जा भुक्तानीलाई सहज बनाउनुको साथै धितोको बारेमा पनि प्रस्ट पार्न  खोजिएको छ।

सहुलियतपूर्ण ऋणका लागि आवेदन दिनेमध्ये तीन हजार सात सय १० ले यातायात व्यवसायमार्फत स्वरोजगार हुन चाहेका छन्। कुखुरा, माछा, गाई, चौरी, बाख्रा, बंगुर, मौरीलगायत पशुपालन गर्न दुई हजार ६ सय ३२ युवाले ऋणको प्रस्ताव पेस गरेका छन्।

त्यस्तै चिया, कफी, स्याउ, सुन्तला, कागती, टमाटर, च्याउ, तरकारीलगायतको खेती गर्न दुई हजार २२ युवाले चाहना राखेका छन्। बोर्डले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार बन्न खोज्ने युवालाई लक्षित गरी जारी गरेको सूचना अनुसार उनीहरूले ऋणका लागि व्यवसायिक योजनासहितको प्रस्ताव पेस गरेका हुन्।

सहुलियत कर्जा माग गर्ने महिलाको संख्या आठ सय ९३ छ। सरकारले बाध्यताको वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने बताइरहे पनि पहिलोपटक विदेश जानेलाई भने यस्ता कार्यक्रमले खासै प्रभाव पार्न सकेको छैन। विज्ञहरूका अनुसार कहिलै पनि विदेश नगएको युवाभन्दा पनि पटकपटक विदेश गइसकेकासँग सीप र लगानी हुन्छ। वैदेशिक रोजगारीको अनुभव गरिसकेका युवामा स्वदेशमै उद्यमी बन्ने चाहना देखिएको हो।

गत वर्षको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसायिक योजनाको आधारमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने योजना सार्वजनिक गरेपछि बोर्डले सोही अनुसार कार्यक्रम अघि बढाएको थियो। सहुलियतपूर्ण कर्जा लिनेले पाँच वर्षसम्म कर्जा चुक्ता गर्नुपर्ने र त्यसको बैंक ब्याज बढीमा पाँच प्रतिशतसम्म हुने बताइएको छ। जसले गर्दा ठूलो संख्याका युवाको आकर्षण बढेको हो।

कर्जा माग गरेका युवालाई राष्ट्र बैंकले चाँडो भन्दा चाँडो विभिन्न बैंकमार्फत ऋण दिने व्यवस्था हुनुपर्ने ऋणका लागि निवेदन दिएका युवाको भनाइ छ। स्वदेशमा रोजगारी पाउन नसकेपछि वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढिरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगिसकेको छ। त्यस्तै भारतमा कम्तीमा ३५ लाख नेपाली रहेको अनुमान गरिन्छ।  आर्थिक वर्ष २०७५/७६ मा करिब पाँच लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App