६ वैशाख २०८१ बिहीबार
राजनीति

शीर्ष नेतामै विवाद

जनकपुर - प्रदेश २ को नामकरण र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन दुई दिन बाँकी रहँदा मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले पार्टीको प्रदेश संसदीय दलको बैठकमै छलफल गरेका छन्।

जनकपुरस्थित प्रदेशसभा सचिवालयको बैठककक्षमा नेकपाका प्रदेश सांसदसँग दाहाल र नेपालले प्रदेशको उपयुक्त नाम र राजधानीको विषयमा छलफल गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको सम्भावित प्रस्ताववारे जानकारी पाएपछि दाहालले प्रदेशको नाम ‘जानकी वा राजर्षिनक’ र नेपालले ‘मिथिला–भोजपुरा वा विदेह’ तोक्नुपर्ने राय दिएको बैठकमा सहभागी प्रदेश सांसद मञ्जु यादवले जानकारी दिइन्।

प्रदेशको स्थायी राजधानीको सन्दर्भमा दुवै नेताले चुरे क्षेत्र र जनकपुरधामलाई छुनेगरी धनुषा र महोत्तरी जिल्लाको भूभाग कायम गर्न सल्लाह दिए। ‘सबै वर्ग र समुदायले अपनत्व महसुस गर्नेगरी प्रदेशको नामकरण र राजधानी तोक्न पार्टीका अध्यक्ष र वरिष्ठ नेताले सुझाव दिनुभएको छ,’ प्रदेश सांसद यादवले नागरिकसँग भनिन्, ‘नेकपाले मधेसबाहेक मिथिला, मिथिला–भोजपुरा, जानकी, राजर्षिजनक र विदेहमध्ये कुनै एक नाम र ढल्केवर–महेन्द्रनगर–जनकपुर जोडिनेगरी राजधानी प्रस्ताव गर्नसक्ने सम्भावना छ।’

नेकपाकै अर्का प्रदेश सांसद जगतप्रसाद यादवले दाहाल र नेपालसहितको प्रदेश संसदीय दलको बैठक प्रदेश २ को राजधानी धनुषा र नाम पार्टी केन्द्रीय सचिवालयबाट टुंग्याउने निष्कर्षमा पुगेको छ। ‘प्रदेशको राजधानी जनकपुरको राम्रो विकल्प देखिँदैन। जनकपुरलाई केन्द्रमा राखेर धनुषा जिल्लाभर उपयुक्त सीमाक्षेत्र तोक्न अध्यक्ष र वरिष्ठ नेताले सुझाव दिनुभएको छ,’ यादवले भने, ‘प्रदेशको नाउँको विषयमा केन्द्रीय सचिवालय बैठकबाट तय गर्ने भन्नुभएको छ।’

प्रदेशका सत्तापक्ष समाजवादी पार्टी र राजपाले ‘मधेस’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ को पक्षमा वकालत गरिहेकाले नेकपाको तर्फबाट दुवैको विकल्पमा नाम प्रस्ताव हुनुपर्ने धारणा बैठकले बनाएको यादवले बताए। ‘बैठकमा दाहाल र नेपालको भावना सुन्दा मधेसवादी र कांग्रेस दुवै पक्षले स्वीकार गर्न सक्ने तराई–मधेस, मध्य–मधेस वा मधेस–मिथिला–भोजपुराको नाम प्रस्ताव गर्नसक्ने मेरो अनुमान छ,’ प्रदेश सांसद यादवले भने।

प्रदेशको नाम र राजधानीका लागि बिहीबारसम्म प्रस्ताव दर्ता गराउन प्रदेशसभा सचिवालयले आह्वान गरेको छ। यसका लागि सबै दलले बुधबारसम्म आधिकारिक धारणा तय गरिसक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। समाजवादी पार्टी र राजपाले प्रदेशको नाममा ‘मधेस’ को अर्को कुनै विकल्प मान्य नहुने अडानमा लिएका छन्। नेपाली कांग्रेस र नेकपा ‘मधेस’ स्वीकार्न नसक्ने मनस्थितिमा देखिन्छन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य संख्याको आधारमा राजधानी र नाम टुंग्याउन प्रमुख चार दल नेकपा, समाजवादी पार्टी, राजपा र नेपाली कांग्रेसमध्ये कम्तीमा कुनै तीन दल एउटा कित्तामा आउनैपर्छ। कुल १०७ सदस्य रहेको प्रदेशसभामा राजधानी र नाम टुंग्याउन कम्तीमा दुईतिहाइ अर्थात् ७२ जना सांसद आवश्यक पर्छ। प्रदेशसभामा नेकपाको ३२, समाजवादी पार्टीका ३०, राजपाका २५, कांग्रेसका १९ र संघीय समाजवादी पार्टी नेपालका १ सांसद छन्।

दाहाल–प्रदेशमन्त्रीबीच जुहारी
नेकपा अध्यक्ष दाहालले सोमबार माओवादीका तत्कालिन नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा प्रदेश २ मा भ्रष्टाचार मौलाएको र जनताले सरकारको अनुभूति गर्न नसकेको टिप्पणी गरेका थिए। मंगलबार बिहान अध्यक्ष दाहालसमेत उपस्थित रहेको जिल्ला विपद् व्यवस्थापन समितिको अन्तरक्रियामा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले कठमाडौंमा भ्रष्टाचार चरमोत्कर्षमा पुगेको र दिनदहाडै किलोका किलो सुन गायब हुँदा संघीय सरकार असक्षम सावित भइरहेको आरोप लगाए।

मन्त्री यादवले भने, ‘काठमाडौंमा हुने भ्रष्टाचार रोक्न नसक्ने संघीय सरकार हाँक्ने दलका ठूला नेताहरू प्रदेश २ मा भ्रष्टाचार बढेको भन्न सुहाउँदैन।’ जवाफमा दाहालले प्रदेश २ मा मात्र होइन, आफूले सिंगो मुलुकमा भ्रष्टाचार हाबी भइरहेको भनेको बताए। ‘यो प्रदेश मात्र होइन, देशैभरि भ्रष्टाचार बढिरहेको छ। यसलाई नियन्त्रण गर्न सबै तहको सरकारको लागि चुनौती रहेको मेरो भनाइ हो,’ दाहालले भने।

प्रदेश अध्यक्ष प्रभु साहको राजीनामा
मंगलबार बिहान जनकपुरस्थित होटल सीताशरणमा नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालसहितको उपस्थितिमा प्रदेशका नेताहरूसरकार र पार्टीको रणनीतिबारे छलफल गर्दै थिए। सोहीबीच पार्टीका प्रदेश अध्यक्ष प्रभु साहले दाहाललाई राजीनामापत्र थमाइदिए।

पार्टीभित्र आफू चौतर्फी घेराबन्दीमा परेको र प्रदेसमा सह–इन्चार्ज तोक्दा मर्यादाक्रम मिचेको लगायत कारण देखाएर साहले प्रदेश अध्यक्षको पदबाट राजीनामा गरेको उनी निकट एक प्रदेश सांसदले बताए। पार्टीका एक केन्द्रीय सदस्यले भने स्थायी समितिमा जान बार्गेनिङका लागि उनले राजीनामा गरेको टिप्पणी गरे। ‘मन्त्री बन्न पनि पहल गर्नुभएको थियो, सक्नुभएन। अहिले कम्तीमा स्थायी समितिमा पुग्न पाए हुन्थ्यो भन्ने मनसायले बार्गेनिङका लागि राजीनामा गरेको हुनसक्छ,’ ती नेताले भने।

प्रकाशित: ४ भाद्र २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App