coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मर्मत गरिँदै सडक

धनगढी – धनगढी उपमहानगरपालिका–३ मा सघन सहरी आयोजनाअन्तर्गत निर्माण गरिएको सडक एक महिनामै भत्किएपछि मर्मत गर्न थालिएको छ। नागरिक दैनिकमा सडक भत्केको समाचार प्रकाशित भएपछि मर्मत गर्न थालिएको हो। निर्माणाधीन चक्रपथअन्तर्गत राजपुर–भन्सार खण्डसम्मको करिब ९ किलोमिटर निर्धारित समयभित्रै असार मसान्तमा सन्पन्न गरिएको थियो। सडक बनेको एक महिनामै ठाउँठाउँमा भाँसिएर चिरा परेको थियो। लुम्बिनी, राजेन्द्र र केएस कन्स्ट्रक्सन जेभी निर्माण सेवाले २०७४ साल असार मसान्तमा सडक निर्माणका लागि संयुक्त ठेक्का पाएका थिए। झन्डै ९ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर १ करोड २ लाख रुपैयाँका दरले सडक निर्माण ठेक्का सम्झौता भएको थियो।

केएस कन्ट्रक्सनका डम्बर पालले सडक निर्माणको काम निर्धारित समयभन्दा एक महिनाअघि सिध्याएको बताए। गुणस्तरीय काम नै गरेको उनको भनाइ छ। ‘नयाँ ट्र्याकमा बनाइएको सडमा पहिले अध्ययन नभएका कारण केही ठाउँमा माटो कमजोर भएकाले धसिएकाले चिरा परेको हो,’ उनले भने। केही ठाउँमा स्थानीयले नाली बनाएर ह्युमपाइप हाल्दा पनि सडक भत्किएको उनले बताए। ‘सडक भत्किएको ठाउँमा मर्मत गर्न थालेका छौं,’ उनले भने, ‘सुरुमा १० प्रतिशत धरौटी राखेका हुन्छौं। एक वर्षसम्म बिग्रेको र भत्केको पुनर्निर्माण गर्ने हाम्रो जिम्मा हुन्छ।’

असार मसान्तमा सन्पन्न सडक एक महिना नहुँदै ठाउँठाउँमा भाँसिएर चिरा परेको छ।

सडक भत्केको र बिग्रेको सबै हामी मर्मत र पुनर्निर्माण गरेर राम्रो सडक हस्तान्तरण गर्ने उनको भनाइ छ। भत्केको सबै स्थानमा मर्मत गरेर राम्रो सडक बनाउन सुरु गरेको उनको भनाइ छ। ‘हाललाई भत्केको स्थानमा वेस निर्माण गरिने र बर्खापछि पुनः पिच गरिनेछ,’ उनले भने। सडकको जिम्मा एक वर्षसम्म आफ्नै मातहतमा हुने हुँदा बिग्रेको भाग आफूहरुले नै बनाउने उनले बताए। ‘हाम्रो मातहतमा हुँदै सडक भत्किएमा मर्मत गर्छौं,’ उनले भने।सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइमार्फत सघन सहरी कार्यक्रमअन्तर्गत धनागढीमा ४२ किलोमिटर चक्रपथ निर्माण भइरहेको छ।

निर्माण कम्पनीले गुणस्तरीय काम गरे पनि कमिसन नदिँदा साइट हेर्ने इिन्जिनियरले सिफारिस नगरिदिने र अनि कार्यालय प्रमुख तथा लेखापालले पनि भुक्तानी नदिने प्रवृतिका कारण सबैतिर मिलेमतोमा गुणस्तरहीन काम हुँदै आएको छ। ‘कमसल काम गरे पनि कमिसन दिएपछि इन्जिनियर, कार्यालय प्रमुख सबैतिरबाट फाइल पास भएर सजिलै भुक्तानी मिल्छ,’ एक निर्माण व्यवसायीले भने,‘जति राम्रो काम गरे पािन कमिसन नदिएपछि फाइल रोकिन्छ।’ मिलेमतो, कमिसन र संस्थागत भ्रष्टाचारले नै बजेटअनुसार गुणस्तरीय काम नहुने उनी बताउँछन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App