coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुन्डी कारोबारीविरुद्ध १२८ करोड बिगो दाबी गर्दै मुद्दा

वीरगन्ज – वैधानिक माध्यमबाहिर हुने आर्थिक कारोबार रोक्न पछिल्लो समयमा प्रहरीले सिमावर्ती व्यापारिक नाका वीरगन्जमा सक्रियता बढाए पनि हुन्डी कारोबार नरोकिएको पाइएको छ। गत असार ९ गते फेला पारेको त्यसतै एउटा हुन्डी कारोबारको घटनामा जिल्ला प्रहरी कार्यालय पर्साले एक अर्ब २८ करोड ४३ लाख ३९ हजार सात सय २३ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला अदालत पर्साबाट म्याद लिई गरेको अनुसन्धानपछि आठजना आरोपीविरुद्ध उक्त रकम बराबरको बिगो दाबीसहित पर्सा प्रहरीले अदालतमा मुद्दा दायर गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

हुन्डीको कारोबार गर्ने गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर नगरपालिका–७ का विनोद सुनार, पर्साको छिपहरमाई गाउँपालिका–२ का राजकपुर साह, विन्दवासिनी गाउँपालिका–२ का सुजितकुमार साह, बाराको परवानीपुर गाउँपालिका–१, बुनियादका घनश्याम सर्राफ, वीरगन्ज महानगरपालिका–१० का चन्दनकुमार सर्राफ, वडा नम्बर–६ का राकेशकुमार सिंह, भारत विहारको मोतिहारी जिल्ला, पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद र पूर्वी चम्पारण जिल्ला नैनपुरका गुलाब साहलाई प्रहरीले उक्त मुद्दामा पक्राउ गरेको थियो। उनीहरुउपर सो बराबर बिगो दाबी गर्दै प्रहरीले मुद्दा दायर गरेको हो।

हुन्डी करोबार व्यापक मात्रामा हुने गरेको बताइन्छ। हुन्डी कारोबारको आरोपमा पक्राउ पर्ने र मुद्दा चल्ने क्रम दोहरिए पनि कारोबार रोकिँदैन। व्यापारमा राज्यको रेकर्डमा नदेखाइएका मूल्य वा वस्तुको भुक्तानी विदेशमा गर्नु पर्दा ‘हुन्डी’बाट रकम पठाउने चलन छ। तस्करीका सामानको भुक्तानी माध्यम पनि ‘हुन्डी’ नै हो। प्रहरीले आफ्नो सूचना स्रोत परिचालन गरी हुन्डी कारोबार नियन्त्रणका लागि कारवाही चलाएको देखिन्छ।

खासगरी यो धन्दामा प्रतिस्पर्धीले सुराकी गरेपछि प्रहीले पक्राउ गर्छ। तीन वर्ष भित्र हुन्डी कारोबार रोक्न प्रहरी छापामारीका पाँच ठूला घटना भएका छन्। ताजा घटना सहित जोड्दा ती छापामारीमा २५ जनालाई प्रहरीले समातेर मुद्दा चलाएको छ।

यस्ता छन् हुन्डीका घट्ना
यसअघि पोहोर भदौमा दुई भारतीयसहित पाँचजनालाई ‘हुन्डी’ सञ्चालनको आरोपमा पक्राउ गरी सोमबार पर्सा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। वीरगन्जको माइस्थान र घडीअर्वामा ‘हन्डी’ कारोबार गर्दै आएका पर्साको बिन्दवासनी गाउँपालिका–५ प्रर्सौनीका पवनकुमार गुप्ता, वीरगन्ज महानगरपालिका, जेल रोडका अजय मानन्धर, बाराको सिमरौनगढ नगरपालिका–१ खजानीका अजय जैसवाल,  भारत विहारको पूर्वी चम्पारण, चम्पापुरका साबिर मियाँ, सीमावर्ती भारतीय बजार रक्सौलका अशोक श्रीवास्तव पक्राउ परे। ५४ लाख ९६ हजार नगद, चार थान मोबाइल, डायरी र अन्य कागजात उनीहरुबाट बरामद भएको पर्साका प्रहरीको रेकर्ड छ

पोहोर असार २४ मा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रानीघाटबाट स्थानीय राहुल केशरीलाई हुन्डी कारोबारीको आरोपमा पक्राउ गरेको थियो। केशरीबाट स्रोत नखुलेको एक करोड १५ लाख पाँच हजार एक सय ५० रुपैयाँ नगद बरामद भएको प्रहरीले बताएको थियो।

२०७४, माघ २८ मा हुन्डी कारोबार गर्ने चारजनालाई ५६ लाख रुपैयाँँसहित प्रहरीले वीरगन्जको लिंकरोडस्थित दक्षिणकाली अटोपार्टबाट पक्राउ गरेको थियो। मुख्य कारोबारी भनिएका दिपेश अग्रवाल, विनित अग्रवाल सहयोगी मनोज पटेल र घरधनी राजेश रौनियार उक्त प्रकरणमा पक्राउ परेका थिए। उनीहरुबाट ५६ लाख रुपैयाँ नगद, कागजात र ६ थान मोइबाल सेट बरामद गरिएको थियो।

२०७३ असोज १७ मा वीरगन्जका सन्तोषकुमार (राजा) जैनसहित पाँचजनालाई प्रहरीले नगद र विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले सुनचाँदीको र अन्नको कारोबार भन्ने व्यावसायिक प्रयोजन उल्लेखित फर्ममार्फत पैसा जम्मा गर्ने, लिने, दिने र अरु ठाउँमा पु-याइदिने गरेका थिए। न्यु नेहा ओभरसिजको नाममा हुन्डी सञ्चालन भइरहेको वीरगन्ज–७ रेशमकोठीस्थित जैनको घरबाट नगद ८१ लाख चार हजार र एक कारेड ३२ लाख ७८ हजार बराबरको चेक प्रहरीले बरामद गरेको जनाएको थियो।

के हो ‘हुन्डी’ ?
बैंकिङ च्यानलबोहक अवैध र गोप्य रुपमा एक ठाउँबाट अर्को ठाउँमा पैसाको भुक्तानी दिने–लिने कारोबारलाई ‘हुन्डी’ भन्ने गरिएको छ। व्यापारीले राजस्व छलेर गर्ने कारोबारको भुक्तानी हुन्डीबाट हुन्छ। नेपालबाट विदेशमा रकम ओसार्न पनि यसको प्रयोग हुन्छ। यताको हुन्डी कारोबारीलाई रकम बुझाएपछि उताको कारोबारीले उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थालाई दिन्छ। यसरी रकम ओसारपसार गरिदिएबापत उनीहरुले रकम लिने गर्छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App