coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हडपिएको जग्गा बागेश्वरीेकै नाममा ल्याउन माग

नेपालगन्ज - विभिन्न व्यक्तिका नाममा गराइएको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा मन्दिरकै नाममा ल्याइनुपर्ने आवाज उठेको छ। बाँकेको साबिक ईन्द्रपुर गाविसमा रहेको बागेश्वरी मन्दिरको जग्गा व्यक्तिका नाममा गराइएको तथ्यसहितको समाचार मंगलबार नागरिक दैनिकमा प्रकाशित भएपछि सो जग्गा मन्दिरकै नाममा फिर्ता गर्न÷गराउन सरोकारवाला पक्षले पहल गर्नुपर्ने आवाज उठेको हो।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख एवं बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष डा. धबलशमशेर राणाले लामो प्रयासपछि मन्दिरको जग्गाको स्थिति पत्ता लागेको बताए। ‘मन्दिरको जग्गा धेरै पहिला व्यक्तिका नाममा गएको देखिन्छ। हामी यसकोे लगत संकलन गर्दैछौं,’ उनले भने,
‘पहिला मालपोत कार्यालयले सहयोग गरेन। अहिले भने उसले लगत निकाल्ने काम गरिराखेको छ। जग्गा मन्दिरका नाममा ल्याउन जे–जे गर्नुपर्ने हो सबै हामी गर्छौं।’

गुठी व्यवस्थापन समितिले करिब डेढ वर्ष समय लगाएर आन्तरिक रुपमा गरेको छानबिनबाट मन्दिरको ८४ बिघा जग्गा ३ सयजनाले व्यक्तिगत बनाएर लालपुर्जा लिएको तथ्य खुलेको छ। धेरैजसोले मन्दिरको जग्गालाई रैकरमा परिणत गरी आफ्नो नाममा गराएको देखिन्छ।

मन्दिरको जग्गा धेरै पहिला व्यक्तिका नाममा गएको देखिन्छ। हामी यसकोे लगत संकलन गर्दैछौं। पहिला मालपोत कार्यालयले सहयोग गरेन। अहिले भने उसले लगत निकाल्ने काम गरिराखेको छ। जग्गा मन्दिरका नाममा ल्याउन जे–जे गर्नुपर्ने हो सबै हामी गर्छौं।
- धबलशमशेर राणा, प्रमुख नेपालगन्ज उपमहानगरपालिका

बागेश्वरी मन्दिरको सम्पत्ति छानबिन सम्बन्धमा वकालत गर्दै आएका कानुन व्यवसायी लोकबहादुर शाह ८४ बिघा जग्गा व्यक्तिको नाममा कानुनी र गैरकानुनी कुन तवरबाट गयो भन्ने विषयमा छानबिन जरुरी रहेको बताउँछन्। ‘मन्दिरको जग्गा कुन मितिमा, कसरी व्यक्तिका नाममा गयो भनेर मालपोत कार्यालयसँग विस्तृत विवरण माग्नुपर्छ। जग्गाको विषय मालपोतलाई थाहा हुन्छ,’ शाहले भने, ‘जग्गा कानुनी या गैरकानुनी कुन प्रक्रियाबाट व्यक्तिका नाममा गयो थाहा छैन। गलत प्रक्रियाबाट व्यक्तिका नाममा गएको रहेछ भने मन्दिरको नाममा फिर्ता आउँछ।’

विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले ऐतिहासिक धरोहर बागेश्वरी मन्दिरको जग्गा गैरकानुनी रुपमै व्यक्तिगत बनाइएको हुन सक्ने बताए। ‘सरकारी र सार्वजनिक जग्गामा भूमाफियाले नजर लगाइरहेका छन्। बागेश्वरी मन्दिरको जग्गा पनि यस्तै माफियाले गैरकानुनी रुपमा व्यक्तिगत बनाएको हुन सक्छ,’ उनले भने। बागेश्वरी गुठी व्यवस्थापन समितिले आन्तरिक रुपमा गरेको छानबिनलाई सघाउन सरकारले पनि छानबिन थाल्नुपर्ने श्रेष्ठको आग्रह छ। उनले भने, ‘सरकारले ढिला नगरोस्, नत्र भूमाफियाको चलखेल झन् बढ्न सक्छ, प्रमाण मेटाउन पनि सक्छन्, नागरिक समाज सरकारलाई खुलेर सहयोग गर्न तयार छ।’

प्राध्यापक डा. राजकुमार सुवेदी मन्दिरको जग्गा फिर्ता गर्ने प्रक्रिया थाल्नुभन्दा पहिला कानुनी पाटो बुझ्न जरुरी रहेको तर्क गर्छन्। ‘कुन कानुन प्रयोग गरेर राज्यले मन्दिरको जग्गालाई रैकरमा परिणत गरिदियो, यसको छानबिन जरुरी छ,’ उनले भने। मन्दिरको ८४ बिघा नै रैकरमा परिणत नभएको सुवेदी बताउँछन्। ‘मैले सुनेको आधारमा भन्दैछु, मन्दिरको ८४ बिघामध्ये अझै ३४ बिघा जति रैकरमा परिणत भएको छैन,’ उनले भने, ‘अर्को विडम्बना के हो भने ८४ बिघामध्ये कति रैकरमा गयो, कति गएको छैन, त्यसको रेकर्ड दिन मालपोतले किन मानिराखेको छैन, आशंका उब्जिएको छ।’ मन्दिरको जग्गा रैकर प्रक्रियाबाटै व्यक्तिका नाममा गएको भए पनि यसमा केही न केही जालसाजी भएको सुवेदीले बताए। यसमा गम्भीर ढंगले छानबिन हुनुपर्ने उनको माग छ।

मालपोत कार्यालयको लगतअनुसार पहिले बागेश्वरी मन्दिरको जग्गा भए पनि त्यसलाई जोतभोग गर्दै आएका व्यक्तिले रैकरमा परिणत गरी लालपुर्जा लिएको देखिन्छ। ती व्यक्तिले जग्गा रैकर बनाएबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको बताइएको छ।
मन्दिरको यति धेरै जग्गा कहिले, कसरी, किन र कुन प्रक्रियाबाट व्यक्तिका नाममा गयो भन्ने कुराको छानबिन चलिरहेको समितिले जनाएको छ। छानबिन समितिका संयोजक एवं उपमहानरपालिकाकी उपप्रमुख उमा थापामगर मन्दिरको उक्त जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा सूक्ष्म छानबिन आवश्यक भएको औंल्याउँछिन्। ‘मन्दिरको सम्पत्तिबारे व्यापक रुपमा कुरा उठेपछि हाम्रै सक्रियतामा जग्गाको छानबिन सुरु गरिएको हो, अहिलेसम्मको छानबिनबाट मन्दिरको जग्गा रैकर प्रक्रियामार्फत व्यक्तिका नाममा गएको बुझिन्छ,’ उनले भनिन्, ‘तर कानुनी वा गैरकानुनी कुन प्रक्रियाबाट गएको हो, यसको सूक्ष्म रुपले छानबिन हुनुपर्छ।’

सर्वसाधारण र मन्दिरको जग्गा संरक्षणमा सरोकार राख्ने पक्षले नियमकानुन मिचेर मन्दिरको जग्गा व्यक्तिका नाममा बनाइएको दाबी गर्दै तत्काल फिर्ता प्रक्रिया थाल्नुपर्ने माग गरेका छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App