coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नियमावली टुंगोमा नपुग्दै समानान्तर सम्पर्क समिति

सोलुखुम्बु – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सोलुखुम्बु–काठमाडांै समितिले राष्ट्रिय जागरण अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको २ महिना नवित्दै अर्को पक्षले समानान्तर सम्पर्क समिति गठन गर्ने प्रयत्न सुरु गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र केशवकुमार बुढाथोकीको उपस्थितिमा भएको भेलाले गठन गरेको मनोज खड्का सभापति रहेको समितिले काम गरिरहेको अवस्थामा कांग्रेस नेता बलबहादुर केसी पक्षधरले आगामी भदौ ७ गते सम्पर्क समिति गठनका लागि भन्दै भेला बोलाएको हो।

पार्टीको विधान र नियमावलीअनुसार सम्पर्क समिति गठनका लागि भेला बोलाइए पनि वर्तमान समितिले अवैधानिक तबरले समानान्तर समिति गठन गर्न लागेको भन्दै आपत्ति जनाएको छ। सभापति मनोज खड्का, उपसभापति केशव राई र महासचिव रोशनबाबु थुलुङले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी हितविपरीत गरिने यस्ता गतिविधि दुरुत्साहन गर्न अपिल गरेको छ।

सम्पर्क समिति गठनका लागि बनाइएको नियमावलीले पूर्णता पाउन बाँकी रहेकै समयमा समानान्तर समिति गठनका लागि भेला बोलाइएको हो। केन्द्रीय समितिमा पुगेको नियमावली परिमार्जनका विषय बढी देखिएपछि आवश्यक संशोधनका लागि नियमावली निर्माण समितिमा फिर्ता आएको छ। कांग्रेस सभापतिसमेतको उपस्थितिमा असार १४ गते प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र एउटा समिति क्रियाशील रहँदारहँदै अर्को समिति गठन आवश्यक नरहेको कांग्रेस सम्बद्ध नेताहरूले बताएका छन्।

नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावलीले पूर्णता नपाएको अवस्थामा सम्पर्क समिति गठनका लागि भेला बोलाउनु हतार हुने प्रतिक्रिया दिए। उनले भने, ‘केन्द्रीय समितिमा उठेका विषय परिमार्जनका लागि नियमावली मस्यौदा समितिमा पठाइएको छ। संशोधनको काम पनि सकिएको छ, अब पदाधिकारीको बैठक बसेर टुंगो लगाउन बाँकी छ।’

नेपाली कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले पनि नियमावली मस्यौदा समितिमै रहेकाले कार्यान्वयनका लागि हतार नगर्न आग्रह गरे। उनले भने, ‘वैधानिक रूपमा टुंगो लाग्न बाँकी रहेको नियमावलीको आधारमा समिति गठन गर्न हतार नगरांै। धैर्य गरौं।’ समितिको बैठकले पास गरेपछि मात्र नियमावली कार्यान्वयनका लागि तयार हुने मुख्यसचिव पौडेलको भनाइ छ।

सम्पर्क समिति गठनका लागि जिल्ला कार्य समितिका प्रतिनिधि भनिएका कांग्रेस सोलुखुम्बुका महाधिवेशन प्रतिनिधि अशोक झाले नियमावलीअनुसार सबैलाई मिलाएर लैजाने कोशिस गरिरहेको बताए। उनले भने, ‘यसअघि नै नियमावली पास गर्ने तयारी भएकाले भदौ ७ का लागि भेला बोलाएका हो। अहिले केन्द्रीयस्तरका नेताहरूसँग छलफल भइरहेको छ।’

प्रकाशित: ४ भाद्र २०७६ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App