१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।

कांग्रेस सांसद देव तिमिल्सिनाले संसद्मा शून्य समय र विशेष समयमा उठेका विषयको सुनुवाइ नभएको गुनासो गरे। संसद्मा जुम्लामा बिजुली आएन भनेर आवाज उठ्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै अहिलेसम्म जुम्ला सदरमुकाम अन्धकारमय नै रहेको बताए। आफू जुम्लामा गएर आउँदा जुम्लावासी अत्यन्त दुःखमा रहेको उनले बताए। विकास तथा प्रविधि समिति सभापतिसमेत रहेकी नेकपा सांसद कल्याणी खड्काले नेपाल–भारतको सिमानामा भारतीय पक्षले ड्याम बनाउन लागेको विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल हुनुपर्ने बताइन्। देश सानो ठूलो होस् सार्वभौमिकता बराबर हुने भन्दै उनले यस प्रकारको समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने बताइन्।
नेकपा सांसद विमला विश्वकर्माले ज्योतिषीले महिनामा दुई तीन लाखभन्दा बढी कमाउने गरेकाले उनीहरूलाई पनि करको दायरामा ल्याउनुपर्ने बताइन्। निश्चित योग्यता पुगेका व्यक्तिलाई ज्योतिषीको लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताइन्।

नेकपा सांसद विरोध खतिवडाले चैतदेखि विरगञ्ज भन्सारबाट राँगा नछिरेको भन्दै काठमाडौंमा राँगा कसरी आए भन्दै विषय छानबिन हुनुपर्ने बताए। उनले काठमाडौंमा भन्सार छलेर राँगा ल्याइएको बताए।
नेकपा सचेतक शान्ता चौधरीले फोटो पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले गरेको अनुसन्धानलाई प्रभावित गर्ने कार्य सह्य मान्न नसकिने बताइन्। ‘को दोषी हो को निर्दोष हो अनुसन्धानबाट थाहा हुनेछ तर, कसैलाई बयान लिनै नदिने गरी हुने क्रियाकला रोकिनु पर्दछ,’ उनले भनिन्।

नेकपा सांसद हितबहादुर तामाङले शालिकराम पुडासैनीको मृत्युको विषयमा बयान लिएकै भरमा चितवनमा प्रर्दशन हुने, गैरसंवैधानिक नारा लगाउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकार लागि पर्नुपर्ने बताए। नेकपा सांसद नारायण खतिवडाले पत्रकार शालिकराम पुडासैनीको मृत्युबारेको अनुसन्धान प्रभावित पार्न नहुने बताए। नेकपा सांसद सरिताकुमारी गिरीले मुटु रोगी, मृगौला रोगीलगायतका ठूला रोगीको राज्यले उपचारको व्यवस्था गर्नुपर्ने बताइन्। कांग्रेस सांसद् सितादेवी यादवले महिलाको भ्रुण हत्या गर्ने कार्य रोकिनु पर्दछ भन्दै सरकारले यसबारे कुनै चासो नदिएको बताइन्। नेकपा सांसद राजेन्द्र गौतमले राज्य व्यवस्था समितिको बाढी पहिरो अध्ययनसम्बन्धी प्रतिवेदनले संखुवासभामा भएको क्षतिको कुनै विवरण नराखिएकोले यो प्रतिवेदन अपूर्ण रहेको बताए।

प्रकाशित: ४ भाद्र २०७६ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App