coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास

घाइते बिमला र उनको दुई वर्षीय छोरा ।

धादिङ– धादिङमा श्रीमानले आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास गरेका छन्। जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं १ धारापानीकी २५ वर्षीय बिमला दराइ लम्साल र उनका दुई वर्षीय छोरा जेनिस लम्साललाई सोमबार राती श्रीमान २८ वर्षीय गणेश लम्सालले ज्यान मार्ने प्रयास गरेका हुन्।  

मध्यरातमा तार्पिन तेलले घेराबन्दी गरेर श्रीमती र छोरालाई आगो लगाएका थिए। कोठाभित्र थुनेर आगो लगाई गणेश धन्सार कोठाको जस्ता झिकेर भागेका थिए। आगोको लर्काबाटै बिमला छोरालाई दिएर जस्ताबाट हाम फालेर छिमेकीलाई गुहार मागिन्। गुहारपछि छिमेकीहरुले उद्धार गरेर जिल्ला अस्पताल ल्याएका हुन्। 

आगोबाट गम्भीर घाइते भएपछि काठमाडौँ पठाइएकोमा अहिले टिचिङमा उपचार भइरहेको छ। बिमलाको अनुहार र हात, छोराको कोखा, हात र टाउकोको आंशिक भाग जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसी) रुपक खड्काले बताए। ‘घरायसी विवादका कारण श्रीमानले आगो लगाएका हुन्,’ डिएसी खड्काले भने ‘आगो लगाउने श्रीमान प्रहरीको नियन्त्रणमा छ।’

श्रीमानले पहिलेदेखि नै श्रीमतीलाई सानो जाती भन्दै यातना दिने, कुटपिट गर्ने गरेको पीडितले बताइन्। श्रीमानको यातना सहन नसकेर बिमलाले एकहप्ता अघि महिला समूहमा उजुरी समेत गरेकी थिइन्। श्रीमतीलाई यातना नदिने, कुटपिट नगर्ने सहमति भए पनि उजुरी गरेकै राती श्रीमानले घरबाट लखेटेका थिए। भागेर छिमेकी, आफन्तकोमा बस्दै आइरहेका उनलाई सोमबार मात्रै श्रीमानले घर ल्याएका थिए। 

घटनापछि पीडितका दाईले प्रहरीकोमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएका छन्। श्रीमती र छोरालाई आगो लगाई ज्यान मार्न खोज्ने गणेश अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिए।  

प्रकाशित: ३ भाद्र २०७६ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App