७ वैशाख २०८१ शुक्रबार
अन्य

डा.केसीले फेरि अनसन थाले (विज्ञप्ति सहित)

डा.गोविन्द केसी। फाइल तस्विर

काठमाडौं— डा.गोविन्द केसीले आइतबारदेखि पुनः अनसन सुरू गरेका छन्। बरिष्ठताका आधारमा डिन नियुक्त नगरे २४ घन्टाभित्र अनसन सुरु गर्ने चेतावनी दिँदै आएका केसीले आइतबारदेखि दशाैं पटकको अनसन थालेका हुन्।

यस्तो छ  केसीको प्रेस विज्ञप्तिः

प्रेस विज्ञप्ति

स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै हामी लामो समयदेखि लडि आएको र सुधारका विभिन्न कामहरुका लागि सरकारसित विभिन्न चरणमा सम्झौता भएको यहाँहरुलाई विदितै छ । 

चिकित्सा शिक्षाका नियामक निकायहरुमा दलीय भागवण्डाका आधारमा नभई वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भनेर हामी लामो समय संघर्षरत छौं । हाम्रो त्यो माग कुनै व्यक्ति विशेषका लागि नभई पद्दति बसाल्नका लागि रहिआएको छ । पछिल्लो समय आइओएमको डिन नियुक्तिमा वरिष्ठताको आधार लागू भएपछि सम्भव भएका सुधारका कामहरु पनि हाम्रै सामू छन् ।  तर झण्डै ! वर्षसम्म डिन पदमा नियुक्ति नगरेका त्रिवि पदाधिकारीहरुको निकम्मापनका कारण अहिले डिन र चार जना सहायक डिनका पदहरु खाली भएर यत्रो संस्थान पदाधिकारीविहीन बनेको छ । यसो गर्नु शैक्षिक अपराध हो ।  त्यसमाथि अब आएर राजनीतिक भागवण्डा र दबाबका आधारमा संस्थालाई नै अस्थिर र धराशायी बनाउने गरी नियुक्त गर्ने प्रयास भइरहेको छ । अर्कोतिर पदीय अधिकारको चरम दुरुपयोग गरेर भ्रस्टाचारमा मुछिएका लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषयमा देशकै ठुलो दललगायत अझै धेरै राजनीतिक दलहरुले संस्थागत निर्णय गरिसकेका छैनन्। 

यो परिस्थितिमा अहिले चुप लागेर बस्ने हो भने दलहरु र माफियाको इशारामा पदाधिकारी नियुक्त हुने तथा अहिलेसम्मका उपलब्धि गुम्ने अवस्था सिर्जना भएकाले तथा सरकारले अन्य मागहरु पनि पूरा नगरेकाले आज  ५ बजेदेखि म आमरण अनशनमा बस्ने कुरा जानकारी गराउँदछु । 

मागहरुः

१) वरिष्ठताका आधारमा तत्काल आइओएममा डीन नियुक्त गरियोस्, साथै नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस्

२) एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं (एमबीबीएसः उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसः २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस्

३) आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाइयोस् । त्यसो नहुन्जेल पहिलेको सहमतिबमोजिम अधिकतम आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्ततालाई पूर्ण कार्यान्वयनमा ल्याइयोस् । 

४) चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस्

५) संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरियोस्, सरकारी शिक्षण संस्थाहरुमा शत प्रतिशत सीट निःशुल्क (दुर्गममा र सरकारी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरु र समाजमा अपेक्षित बर्गका लागि केहि सिट सुरक्षीत हुनेगरी) गरियोस्। 

६) अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस्  तथा मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानविन अघि बढाइयोस्। 

७) जयराम गिरी समितिले दोषी ठहर्याएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गरियोस् । मेडिकल शिक्षामा भएका अनियमिततामाथि छानविन गर्न न्याययिक जाँचबुझ आयोग पुनः गठन गरेर त्यसको कार्यक्षेत्रमा निम्न कुरा थपियोस्: विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली एवम् अनियमितता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले गरेका अनियमितता समेत ।

८) विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नका लागि बन्ने सर्च कमिटि शिक्षा मन्त्रीको नभई स्वतन्त्र विज्ञको नेतृत्वमा हुने कानुनी व्यवस्था गर्ने विगतको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।

९) प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खोल्ने समझौता तुरुन्त कार्यान्वयन गरियोस् । 

डा गोविन्द केसी 

त्रि वि शिक्षण अस्पताल, महराजगंज 

२०७३।७।२८ 

....

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा बरिष्ठता मिचेर डा.केपी सिंहलाई डिन नियुक्त गरेको थियो। ९ महिनादेखि रिक्त रहेको सो पदमा बरिष्ठताको आधार लत्याउँदै त्रिविले अाइतबार नियुक्ति गरेको हो।

कांग्रेस निकट चिकित्सकहरुले बरिष्ठलाई नियुक्त गर्न हुँदैन भन्दै आइओएममा तालाबन्दी गरिरहेका छन्। उनीहरुले सुशील कोइरालाका निजी फिजिसियन डा.करवीरनाथ योगीलाई डिन बनाउन माग गर्दै तालाबन्दी गर्दै आएका हुन्।

नयाँ डिन सिंहले चार महिना पछि अवकास पाउँदैछन्। प्राध्यापकहरुको बरिष्ठतालाई आधार मान्दा डा.जगदीश अग्रवाल डिन हुने लाइनमा थिए।

'डा.जगदशी अग्रवाल बरिष्ठमा अगाडि भए पनि उनलाई नियुक्ति गर्दा अहिले आइओएममा तालाबन्दी खुल्ने सम्भावना नरहेकाले त्रिवि परिषदले सिंहलाई डिन नियुक्त गरेको हो', रेक्टर सुधा त्रिपाठीले नागरिकन्युजसँग भनिन्, 'उनले नियुक्ति पत्र बुझ्नुभएको छ।

कांग्रेस निकट चिकित्सकहरुले बरिष्ठलाई नियुक्त गर्न हुँदैन भन्दै आइओएममा तालाबन्दी गरिरहेका छन्। उनीहरुले सुशील कोइरालाका निजी फिजिसियन डा.करवीरनाथ योगीलाई डिन बनाउन माग गर्दै तालाबन्दी गर्दै आएका हुन्।

मेडिकल कलेज सञ्चालकले डिन नियुक्तिमा चलखेल गर्न थालेपछि डा.गोविन्द केसीले बरिष्ठताको आधारमा नियुक्ति हुनुपर्न माग आएका छन्। मेडिकल कलेजको शुल्क, कोटा तथा नियमनमा प्रत्यक्ष भूमिका रहने डिन आफ्नो पक्षको नियुक्त गर्न मेडिकल माफियाहरुले पैसाको चलखेल समेत गर्दै आएका छन्।

तीर्थ खनियाँमाथि कारवाही माग गर्दै डा.केसी अनसन बस्ने

डा.गोविन्द केसीले बरिष्ठताका आधारमा डिन नियुक्त नगरे २४ घन्टाभित्र अनसन सुरु गर्ने चेतावनी हिजै दिएका थिए। डा.केसीले आज ४ बजेदेखि अनसन थाल्दैछन्।उनले वरिष्ठता आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा संलग्न त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई 'शैक्षिक अपराध'को आरोपमा पदबाट बर्खास्त गर्नसमेत माग गरेका छन्।

केसीका पटकपटकका अनशन र सम्झौतामा सरकारले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने स्विकारे पनि कार्यान्वयन तहमा जान नसकेपछि उनी फेरि अनसन बस्न लागेका हुन्।

चिकित्सासम्बन्धी र अन्य माग पूरा गर्ने सरकारी आश्वासनसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग प्रक्रिया सुरु भएपछि केसीले नवौं अनशन दसैंको फुलपातीको अघिल्लो दिन स्थगित गरेका थिए। केसीले अख्तियार प्रमुखलाई महाभियोग लगाएर हटाइनुपर्ने माग पनि राख्दै आएका छन्। 

केसी २०६९ सालमा प्राज्ञिक निकायमा राजनीतिक हस्तक्षेपविरुद्ध पहिलो अनशनमा बसेका थिए। शैक्षिक निकायमा दलीय भागभन्डा आधारमा नभई मापदन्ड बनाएर नियुक्ति गर्नुपर्ने र मापदन्ड नबन्दासम्म वरिष्ठतालाई नै आधार बनाउनुपर्ने उनको माग छ। पहिलो अनशनयता आइओएममा तीन  डिन नियुक्त भइसकेका छन्। वरिष्ठताबाहिरबाट ल्याइएका दुईमध्ये एकलाई बर्खास्त गर्न सरकार बाध्य भएको थियो। पछिल्लोपटक वरिष्ठता सूचीमा परेका चिकित्सक पार्टीनिकट नभएपछि अधिकांश ठूला दल निकट डाक्टरसमेत वरिष्ठताविरुद्ध उभिएका छन्।

 

 

 

प्रकाशित: २८ कार्तिक २०७३ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App