८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीलाई सुझावः मेरो सरकार ढल्छ, पद जान्छ कि भन्ने हिसाबले छिमेकीसँग सम्बन्ध नराख्नुस्

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छिमेकीसँग सम्बन्ध राख्दा भयमुक्त हुन सरकारलाई आग्रह गरेका छन्। 

भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकार ढल्ने र पद जाने भयले छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए। 

‘मित्र राष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसावले सम्बन्ध नराख्नुस्। छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्छ। यसमा सरकारको ध्यानाकर्षण गराउँछु। हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ’, उनले भने। 

उनले जयशंकर भ्रमणबाट नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए। नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्नेगरि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ। बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताए।

बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप पनि लगाए। सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतको आरोप थियो। उनले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए। विश्वबाट लोप हुँदै गएको कम्युनिस्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो। 

उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप लगाए।

मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावनाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए। उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढिकरण गर्ने प्रस्ट पारे। नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए। त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने पनि ठोकुवा गरे। उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए। 

उनले यही भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने पनि जानकारी दिए। उनकाअनुसार सरकारले गरेका सबैखाले गलत कामकारकाहीलाई जनतासामू सुसुचित गर्नको लागि पनि यो अभियान महत्वपूर्ण साबित हुन्छ। बस्नेतले मुलुकले अब कुनैपनि प्रकारको द्वन्द्व पचाउन नसक्ने धारणा राखे। 

प्रकाशित: ३ भाद्र २०७६ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App