coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

सुर्खेत- सबैभन्दा ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णाली प्रदेशमा संसद र मन्त्रीहरुको संख्या पनि अन्य प्रदेशको तुलनामा कम छ। ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित सात जना मन्त्रीहरु छन्। मन्त्रीहरुले निजी सचिवालयमा २६ जना स्वकीय र सल्लाहकार राखेका छन्। मुख्यमन्त्रीसहित सात जना मन्त्री र उनीहरुले राखेका २६ जना स्वकीय र सल्लाहकारका लागि वार्षिक तलव मात्रै एक करोड ३१ लाख आठ हजार ३३२ रुपैयाँ खर्च हुन्छ।

कर्णालीमा मन्त्रीका लागि भन्दा सचिवालयका कर्मचारीका लागि तलवमा बढी खर्च हुने गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सात जना मन्त्रीका लागि वार्षिक ४४ लाख ७५ हजार ६४८ रुपैयाँ खर्च हुन्छ भने स्वकीयहरुका लागि वर्षमा ८६ लाख ३२ हजार ६९२ रुपैयाँ खर्च हुन्छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख स्वकीय सचिवसँगै प्रेस सल्लाहकार, राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकारसहित सात जनालाई सचिवालयमा राखेका छन्। सात जना कर्मचारीहरुका लागि मासिक तलवमा मात्रै दुई लाख ३२ हजार ६७१ रुपैयाँ खर्च हुन्छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सचिवालयमा चार जना राखेका छन्। चार जना सचिवालयका कर्मचारीका लागि मासिक ९७ हजार ७३० रुपैयाँ खर्च हुन्छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सचिवालयमा तीन जना कर्मचारी राखेका छन्। सचिवालयका तीन जना कर्मचारीका लागि मासिक ७० हजार २३० रुपैयाँ खर्च हुन्छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सामाजिक विकास मन्त्री दल रावलले सचिवालयमा तीन जना कर्मचारी राखेका भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पाँच जना कर्मचारी सचिवालयमा राखेकी छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले तीन जना र भर्खरै वर्खास्त भएका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले तीन जनालाई सचिवालयमा राखेका छन्।

अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारका मन्त्री, सचिवालयका कर्मचारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि पाँच करोड ७७ लाख भन्दाबढी खर्च भएको छ। मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले मन्त्रालयका सचिवालयका कर्मचारीका लागि तलवका अतिरिक्त भत्ता, घरभाडा, सवारीसाधन र अन्य खर्चमा वार्षिक एक करोडभन्दाबढी खर्च हुने गरेको बताए। ‘अघिल्लो आर्थिक वर्षमा तलवमा मात्रै ८६ लाखबढी खर्च भएको छ’ उनले भने, ‘यसका साथै भत्ता, अन्य खर्चमा गरेर एक करोडबढी खर्च हुन्छ।’

प्रकाशित: ३ भाद्र २०७६ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App