coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार

धम्बोझी– नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो। “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन थालिएको हो”, नगरप्रमुख डा. धवलशमशेर राणाले भने, “अभिभावकले आफ्ना छोरीलाई नियमित विद्यालय पठाउन प्रेरित गर्ने उद्देश्यले तेल उपहार दिन थालिएको छ।”     

विद्यालयमा मासिक ८५ प्रतिशतभन्दा बढी हाजिरी हुने छात्राका अभिभावकलाई तेल दिन शुरु गरेको हो। प्रति विद्यार्थी दुई लिटरका दरले खाने तेल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। “अभिभावकलाई प्रोत्साहित गर्न खोजेका हौँ”, नगर उपप्रमुख उमा थापा मगरले भनिन्, “यसले छात्राहरुको कक्षामा उपस्थिति प्रतिशत बढ्ने विश्वास लिएको छ।”

विद्यालयमा हाल २ सय ४५ विद्यार्थी भर्ना भएका छन्। जसमध्ये ८५ प्रतिशत हाजिरी नाघ्ने विद्यार्थीको सँख्या भने ८६ मात्रै रहेको छ। तिनै ८६ जना विद्यार्थीका अभिभावकलाई दुई लिटरका दरले तेल वितरण गरिएको हो। विद्यालयका परामर्शदाता किरण आचार्यले छात्राहरुको शिक्षामा अभिभावक गम्भीर हुनुपर्ने बताइन्। “शिक्षाको महत्व अभिभावकले नबुझ्दा विद्यार्थीको उपस्थिति न्यून हुन पुगेको हो”, उनीले भनिन्, “छोरी विद्यालय पठाऊ उपहार दिन्छु भन्ने अवस्था विडम्बनापूर्ण हो।”     

नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, वडाध्यक्ष सफिक बेहना, नगर शिक्षा अधिकारी गोरखबहादुर थापा, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य लगायतले सो विद्यालयको अनुगमन समेत गरेका छन्।रासस 
 

प्रकाशित: ३ भाद्र २०७६ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App