coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एट्लेटिकोको जितमा मोराटा नायक

मड्रिड – अल्भारो मोराटाको हेड गोलप्रेरित एट्लेटिको मड्रिडले गेटाफेलाई हराउँदै यस सिजनको ला लिगामा विजयी सुरुआत गरेको छ । वान्डा मेट्रोपोलिटानो स्टेडियममा सोमबार केइरन ट्रिपिइरको क्रसमा मोराटाले गोल गर्दा एट्लेटिकोले साँघुरो जितसँगै यस सिजनको घरेलु लिगमा सुखद सुरुआत गरेको हो ।

चार मिनेटभित्र दुवै टोलीका १÷१ खेलाडी रातो कार्ड पाउनुअघि नै ट्रिपिइरले गोलका लागि अवसर सिर्जना गरेका थिए । पहिलो हाफअगावै दुवै टोली १०÷१० खेलाडीमा सीमित भएका थिए ।

गेटाफेका स्ट्राइकर जर्ग मोलिना र एट्लेटिकोका डिफेन्डर रेनन लोडी रातो कार्ड खाँदै बाहिरिएका थिए । ३८औं मिनेटमा मोलिनाले सीधै रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । तर, त्यसको चार मिनेटभित्र रेननले लगातार दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोली एट्लेटिको पनि १० खेलाडीमा सीमित भयो । यद्यपि, पहिलो हाफमा एट्लेटिको १–० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५६औं मिनेटमा एट्लेटिको अग्रता बनाउनबाट चुक्यो । मोराटाले नै पेनाल्टी अवसर चुकाएका थिए । बेनफिकाबाट १ सय २६ मिलियन युरोमा एट्लेटिकोमा आबद्ध भएका जाओ फेलिक्सलाई लडाएपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो । उनै फेलिक्स ६६औं मिनेटमा मैदानबाट बाहिरिँदा समर्थकले भव्य बधाई दिएका थिए ।

फेलिक्सले मैदानभित्र एट्लेटिकोका लागि निकै प्रभाव छोड्न सफल भए । यस सिजन एन्टोनी ग्रिजम्यानलाई बार्सिलोनामा बेचेपछि फेलिक्सले प्रशिक्षक डिएगो सिमोन्सलाई उनको अभाव खड्किन दिएनन् । १९ वर्षे फेलिक्सले निकै शुन्दर शैलीमा प्रदर्शन गर्दै टोलीमा राम्रो छाप छोडे । उनले सहकर्मीलाई निकै चुस्त पास उपलब्ध गराएका थिए ।

यस सिजनको समरमा एट्लेटिकोले करिब २ सय ५० मिलियन युरो खर्चिएको छ ।  फेलिक्ससँगै अर्का डेब्यु स्टार लोडीले पनि रातो कार्ड पाउनुअघि निकै राम्रो प्रदर्शन गरेका थिए । यता, स्पेनिस सिभिल वारपछि एट्लेटिकोका लागि खेल्ने पहिलो इङ्लिस खेलाडी बनेका ट्रिपिइरले पनि आफ्नो प्रभाव छोड्न सफल भए ।

टोटेनह्यामका पूर्वडिफेन्डर ट्रिपिइरले निकै उत्कृष्ट पाससँगै विपक्षीको आक्रामणलाई निस्तेज पारेका थिए । गेटाफेले गत सिजनको लिगमा पाँचौं स्थानमा रहेको छाप प्रतिद्वन्द्वीविरुद्धको प्रदर्शनबाट देखाएको थियो । यद्यपि, एट्लेटिकोविरुद्ध गोल फर्काउन सकेन । घरेलु टोलीविरुद्ध शतप्रतिशत अंक सुम्पियो । गत सिजन साँघुरो अंकबाट च्याम्पियन्स लिगको यात्रा गुमाएको थियो ।

 

प्रकाशित: ३ भाद्र २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App