७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिका र भेनेजुएली समाजवादी पार्टी प्रमुखबीच गोप्य वार्ता

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र सत्तारुढ समाजवादी पार्टी प्रमुख डियोसडाडो काबेल्लो। तस्बिर ः एजेन्सी

कराकस – संयुक्त राज्य अमेरिका र भेनेजुएलाको समाजवादी पार्टीका प्रमुख डियोसडाडो काबेल्लोबीच गोप्य वार्ता भएको छ। राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाउनका लागि यदि मागहरु बढेमा आफूहरुले दुव्र्यवहार र अपराधबारे अभियोजनको सामना गर्न नपर्नेबारे उनकै भित्री सर्कलका घनिष्ठ सहयोगीहरुले ग्यारेन्टी खोजेपछि अमेरिकाले भेनेजुएलाको समाजवादी पार्टी प्रमुखसँग गोप्य सम्पर्क गरेको राष्ट्रपति ट्रम्पका वरिष्ठ प्रशासकीय अधिकारीले बताएका छन्।

गोप्य वार्ताबारे भेनेजुएलाको सत्तारुढ समाजवादी पार्टीका प्रमुख काबेल्लोले भने केही बताएका छैनन्।

मादुरोपछि भेनेजुएलाको सबैभन्दा शक्तिशाली मानिने काबेल्लोले गत जुलाईमा कराकसमा ट्रम्प प्रशासनसँग घनिष्ठ सम्पर्क राख्ने व्यक्तिसँग भेट गरेको एक अमेरिकी अधिकारीले समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)लाई बताए। उनले दोस्रो बैठकको तयारी भइरहेको जानकारी पनि दिएका छन्। भेनेजुएली समाजवादी पार्टी र  अमेरिकाबीच सम्पर्क गराउने व्यक्तिको नाम र काबेल्लोसँग भएको भेटवार्तालगायतका विवरण भने एपीले रोकेको छ। विवरण राख्दा त्यसले व्यक्तिमाथि बदला लिने काम हुनसक्ने भएकाले गोप्य राखिएको एपीले उल्लेख गरेको छ।

वार्ता अझै प्रारम्भिक चरणमै रहेकाले अमेरिका र भेनेजुएलाको समाजवादी पार्टी प्रमुखबीचको छलफलबारे बोल्ने आफ्नो अधिकार नभएको भन्दै नाम न छाप्ने सर्तमा एक अधिकारीले यस्तो जानकारी दिएका हुन्। अमेरिकी अधिकारी र काबेल्लोबीचको कुराकानीमा राष्ट्रपति मादुरोको स्वीकृति छ कि छैन भन्ने विषय अझै स्पष्ट नभइसकेको एपीले जनाएको छ।

५६ वर्षीय काबेल्लो भेनेजुएलाका प्रमुख शक्तिशाली व्यक्ति हुन्। मादुरोको शक्ति कमजोर हुँदै गएको अवस्थामा सरकार र सुरक्षा फौजमा उनको बलियो पकड बन्दै  गएको देखिएको छ। यद्यपि उनलाई ठूला भ्रष्टाचार काण्डमा मुछिएको, लागूऔषधको कारोबार गरेको र बहालवाला अमेरिकी सांसदहरुलाई ज्यान मार्ने धम्की दिने गरेको अरोप अमेरिकी अधिकारीहरुले लगाउने गरेका छन्।

गोप्य वार्ता गरेर अमेरिकाले कुनै पनि परिस्थितिमा समाजवादी पार्टी प्रमुख काबेल्लोलाई समर्थन गर्ने वा उनलाई मादुरोको विकल्प खोज्ने बाटो नखोजिरहेको ट्रम्प प्रशासनले जनाएको छ। गोप्य वार्ताको लक्ष्य भनेको भेनेजुएलाको सत्तामा दबाब दिनु रहेको अमेरिकी प्रशासनले जनाएको छ। सत्तारूढ पार्टीभित्रको शक्तिको प्रतिस्पर्धा बीचको दृश्य पछाडि संघर्ष चलिरहेको अमेरिकी अनुमानकै बीच गोप्य वार्ता भएको बताइएको छ।

यस्तै प्रकृतीको सम्पर्क समाजवादी पार्टीका अन्य उच्च नेतासँग पनि भइरहेको र मादुरोलाई धोका दिँदा ती नेताहरुलाई अमेरिकाले कसरी हेर्छ र संक्रमणकालमा उसको कस्तो सहयोग रहन्छ भन्ने बारे पनि छलफल भइरहेको वासिङ्टनले जनाएको छ।

गोप्य वार्ताबारे भेनेजुएलाको सत्तारुढ समाजवादी पार्टीका प्रमुख काबेल्लोले भने केही बताएका छैनन्। तर उनका एकजना निकटम व्यक्तिले भने काबेल्लोले मादुरोलाई धोका दिइरहेको भन्ने विषयको खण्डन गर्दै अमेरिकी प्रतिनिधिहरुसँग उनको भेट राष्ट्रपति मादुरोकै सहमतिमा हुने दाबी गरे।

प्रकाशित: ३ भाद्र २०७६ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App