८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कश्मीरमा विद्यालय खुले पनि विद्यार्थी घरमै बसे

विद्यालय खुले पनि विद्यार्थीको अभावमा खाली रहेको कश्मीरको एक विद्यालय। तस्बिर ः एजेन्सी

श्रीनगर – लगभग दुई सातादेखि बन्द रहेका भारत प्रशासित कश्मीरका केही विद्यालय सोमबारबाट खुले पनि विद्यालय जाने विद्यार्थीको संख्या अत्यन्तै न्यून रह्यो। भारत सरकारले अगस्ट ५ का दिन कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेदेखि नै कश्मीरका विद्यालय बन्द अवस्थामा थिए। कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने भारतको संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरिएदेखि नै कश्मीर बन्द अवस्थामा रहेको छ।

सञ्चारका सेवा आंशिक रूपमा मात्रै सुचारु गरिएका छन् भने कैयौं क्षेत्रमा अहिले पनि भेला वा जम्मा हुन प्रशासनले प्रतिबन्ध लगाएको छ।कश्मीर उपत्यकाभित्रका मुसलमान बहुल क्षेत्रमा अहिले पनि बन्दको अवस्था रहेको भए पनि राजधानी श्रीनगरभित्रका करिब दुई सय विद्यालय सोमबारबाट खुल्ला गरिएको अधिकारीहरुले बताएका छन्।

कश्मीरले पाउँदै आएको संवैधानिक विशेष दर्जालाई खारेज गर्ने निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार प्रतिरक्षा गर्दै आइरहेको छन्।

प्रशासनले विद्यालय खुलाइएको बताए पनि सहरका अधिकांश विद्यालय सोमबार लगभग खाली जस्तै रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। आफ्ना बालबालिकाको चिन्ताका कारण विद्यालय नपठाएको अभिभावकहरुले बताएका छन्। कश्मीर उपत्यकामा हजारौं भारतीय सुरक्षाकर्मी परिचालन गरिएको भए पनि विशेषाधिकार खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न क्षेत्रमा लगातार प्रदर्शन भइरहेको र केही स्थानमा त हिंसात्मक झडपसमेत भएको बिबिसीले उल्लेख गरेको छ।

हिमाली भूभागमा पर्ने कश्मीर क्षेत्र भारत र पाकिस्तानको विवादित क्षेत्र हो। दुवै देशले कश्मीरका केही भागमा आफ्नो नियन्त्रण जमाएका छन्। भारत प्रशासित जम्मु कश्मीरलाई टुक्राएर दुईवटा राज्य बनाइएको छ। अब दुवै राज्य केन्द्र शासित राज्य बनेका छन्।

जम्मु कश्मीरका विगत तीन दशकदेखि विखण्डनवादी विद्रोह चलिरहेको छ, जसका कारण हालसम्म दशौं हजारको मृत्यु भइसकेको छ। कैयौं दिनपछि सरकारले आशिंक रूपमा ल्यान्डलाइन फोन सुचारु  गरेको भए पनि कश्मीर उपत्यकामा मोबाइल फोन र इन्टरनेट सेवा भने अझै  बन्द नै रहेका छन्। कश्मीर क्षेत्रमा प्रदर्शनका घटना हुन थालेपछि यी सेवालाई अझै बन्द गरिएको बताइएको छ।

अधिकांश अभिभावकले मोबाइल फोनको नेटवर्क सुचारु नभएसम्म आफ्ना बालबालिकालाई विद्यालय नपठाउने बताएको बिबिसीले जनाएको छ। कश्मीरमा विद्यमान ‘अस्थीर अवस्था’मा विद्यार्थीहरु विद्यालय आउनेमा आफू आशावादी नरहेको एकजना शिक्षकलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

सरकारले कैयौं विद्यालय खुल्ने अनुमान गरे पनि सोमबार अधिकांश विद्यालय बन्द नै रहेको र खुलेका विद्यायमा पनि अति नै कम शिक्षक कर्मचारी उपस्थित रहेको ती शिक्षकले बताएका छन्। कश्मीर क्षेत्रमा सोमबार सरकारी विद्यालय मात्रै खुलेको र निजी विद्यालय बन्द नै रहेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।
सोमबार कश्मीर उपत्यकाभर कति विद्यार्थी विद्यालय गए भनेर संख्या किटान गर्ने काम भइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

कश्मीरले पाउँदै आएको संवैधानिक विशेष दर्जालाई खारेज गर्ने एकतर्फी निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार प्रतिरक्षा गर्दै आइरहेको छन्। उनले कश्मीर क्षेत्रको आर्थिक विकास र सुरक्षा अवस्था सुधार गर्नका लागि यस्तो कदम आवश्यक रहेकोमा जोड दिँदै आएका छन्। उता, कश्मीरका नेता तथा अभियन्ताहरुले भने सरकारी निर्णय धोका भएको आरोप लगाउँदै आएका छन्। उनीहरुले सरकारले कुनै सल्लाहबिनै यस्तो निर्णय गरेको भन्दै दुखेसो गर्ने गरेका छन्। विशेष अवस्था खारेज गर्ने निर्णयसँगै कश्मीरका सयौं नेता पक्राउ परेका छन् भने दुईजना पूर्वमुख्यमन्त्रीलाई घरमै नजरबन्दमा राखिएको छ।
 

प्रकाशित: ३ भाद्र २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App