coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्मचारी भेटिँदैनन् सरकारी कार्यालयमा

रसुवा – रसुवामा प्रदेशअन्तर्गतका कार्यालयमा प्रमुख तथा कर्मचारी नै नबस्ने गरेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको नेतृत्वमा आइतबार आठवटा कार्यालयमा छड्के जाँच गरिएको थियो। जसमध्ये ६ वटा कार्यालयमा प्रमुखसहित ४६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो। कार्यालयमा उपस्थित कर्मचारीमध्ये तीनजनाले तोकिएको पोसाक नै नलगाएको सहायक प्रजिअ भट्टराईले बताइन्। उनका अनुसार सो क्रममा कृषि ज्ञान केन्द्रको कार्यालय बन्द अवस्थामा रहेको थियो।

यसअघि गत साउन २७ गते संघअन्तर्गतका कार्यालयको छड्के जाँच गरिएको थियो। यसपटक डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, घरलु तथा साना उद्योग विकास समिति, कृषि ज्ञान केन्द्र, पशु र आयुर्वेद स्वास्थ्य केन्द्रमा अनुगमन गरिएको हो। यसमध्ये स्वास्थ्य कार्यायल र अस्पतालमा मात्रै कार्यालय प्रमुख भेटिएको उनले बताइन्। यसअघि गरिएको अनुगमनपछि सम्बन्धित कार्यालयमा चिठी काटिएको छ।

कार्यालयबाट चित्तबुझ्दो जवाफ आएमा कारबाहीको प्रक्रिया अघि बढाउन पर्दैन। कार्यालयले सपोटिङ डकुमेन्ट नपु-याएमा ती कार्यालयको माथिल्लो निकायमा बोधार्थ पठाइने उनको भनाइ छ। अधिकांश कार्यालयका कर्मचारीले बिदा स्वीकृत नगराई अनुपस्थित भएको देखिएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रजिअ भट्टराईले बताइन्। यी कार्यालयमा सेवाग्राही नआउँदा सुनसान देखिएको उनको भनाइ छ।

प्रकाशित: ३ भाद्र २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App