coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हट्दै कर्णालीमा तुइनको कहर

तुइनबाट नदी तर्दै विद्यार्थी। फाइल तस्बिर

गणेश विशु

वीरेन्द्रनगर - ‘कर्णालीको कहर तुइन’ विस्थापित गर्न कर्णाली प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ। जोखिमपूर्ण यात्रा हुँदा बर्सेनि सर्वसाधारणको अकालमै ज्यान जान थालेपछि सरकारले तुइनमुक्त अभियान थालेको हो।

पहिलो चरणमा कर्णालीका तुइनको अवस्थाबारे विस्तृत अध्ययन गरी एकीकृत प्रतिवेदन तयार पारिनेछ। सो प्रतिवेदनपछि तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गरिने कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। तुइन विस्थापित गर्न १० करोड बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव दानरत्न शाक्यले जानकारी दिए। झोलुंगे पुल एकै वर्षमा नभई क्रमशः निर्माण गरिने उनको भनाइ छ। हाल कर्णालीका कुन कुन जिल्लामा कतिवटा तुइन छन् भन्ने एकिन तथ्यांक छैन।

तुइन हटाउन गत वर्ष प्रदेश सरकारले २० वटा झोलुंगे पुल निर्माण सुरु गरेको थियो भने यस वर्ष ३६ वटा झोलुंगे पुल निर्माण गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तुइन विस्थापित अभियान सञ्चालन गरेका थिए। सो अभियानअन्तर्गत कतिपय तुइन विस्थापित भइसकेका छन्। गत वर्ष कर्णाली सरकारले स्थानीयको मागका आधारमा २० वटा झोलुंगे पुल निर्माण सुरु गरेको थियो। क्रमागत रूपमा ती पुलका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेशसचिव शाक्यले जानकारी दिए। यो वर्ष ३६ वटा झोलुंगे पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

अहिले तुइनबाट यात्रा गर्दा स्थानीयले जोखिम मोल्नुपरेको छ। बर्सेनि तुइनबाट खसेर दर्जनौं सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ। मृत्यु बनेको तुइनयात्रा यहाँका स्थानीयको रहर नभई बाध्यता भएको उनीहरूको भनाइ छ। सरकारले तुइन विस्थापित गर्ने योजना ल्याउँदा कर्णालीवासी खुसी भएका छन्। अकालको मृत्यु हट्ने भन्दै तुइनमुक्त अभियान प्रभावकारी हुनुपर्ने उनीहरूको भनाइ छ। ‘तुइनबाटै यात्रा गर्न लागेको वर्षांै हुँदा पनि अझै हटेको छैन,’ हुम्लाका जयबहादुर रोकायाले भने, ‘यो अभियान थालनी हुँदा खुसी लागेको छ।’ कहर बनेको तुइन विस्थापित हुँदा जोखिमपूर्ण यात्रा हट्ने भन्दै उनले अपांग, बालबालिका, वृद्धवृद्धालाई सहज हुने बताए।

कर्णाली गाउँपालिकाका अध्यक्ष कर्ण रावलले पनि कार्यालय जान दैनिक तुइन यात्रा गर्नुपर्छ। उनले तुइन यात्रा नगरे करिब डेढदेखि दुई घण्टा समय गाउँपालिकाको कार्यालय जान लाग्ने बताए। ‘रहर नभई कहरले तुइन यात्रा गर्नुपर्छ,’ उनले भने, ‘तुइन विस्थापित गर्ने काम भइरहेको छ।’

प्रकाशित: ३ भाद्र २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App