७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीलाई सहयोग गर्ने राजनीतिक दलको प्रतिबद्धता

भरतपुरको चौबिसकोठीमा सोमबार भएको विरोध प्रदर्शन। तस्बिरःनागरिक।

चितवन – जिल्लाका सबै राजनीतिक दलले चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको घटनामा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा दलहरूले अनुसन्धानका क्रममा पक्ष–विपक्षमा नलागी सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

सो घटनाका सम्बन्धमा स्वच्छ र निष्पक्ष न्याय सम्पादनमा पक्ष र विपक्ष नभई प्रहरी प्रशासनलाई सहयोग गर्न सबै राजनीतिक दलले जनसमुदायलाई अपिल गर्ने, जनताको दैनिकीमा असर पुग्नेगरी प्रदर्शन हुन नदिने र तोडफोडलगायत कार्य निरुत्साहित गर्ने निर्णय भएको छ। बैठकमा प्रदेश सांसद घनश्याम दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका उपरीक्षक दानबहादुर मल्ल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेसका सचिव उत्तम जोशी, समाजवादी पार्टीका प्रेम भुजेल, विष्णुहरि तिमिल्सिना, जनता पार्टीका प्रेमकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अमरबहादुर क्षेत्री, नेकपा मालेका पर्शुराम लामिछाने, राप्रपाका प्रेम गैरेलगायतको सहभागिता रहेको थियो।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि नियन्त्रणमा लिइएका सञ्चारकर्मी रवि लामिछानेका समर्थकले सोमबार पनि भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका छन्। दिनभरजसो भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप पनि भएको छ। प्रहरी प्रशासनले चौबिसकोठीदेखि वाइपास रोडको मालपोत चोकसम्म विरोध प्रदर्शन गर्न निषेध गरेको छ। सो निषेधित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवन रहेको छ। सोमबार दिउँसो निषेधित क्षेत्रमा जान खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठी प्रहार गरेको थियो। लाठी चार्जबाट केही प्रदर्शनकारी सामान्य घाइतेसमेत भएका छन्। लामिछाने निर्दाेष रहेको भन्दै रिहाइको माग गर्दै चौबीसकोठीमा सभासमेत गरिएको छ।

नेपाली कांग्रेस चितवनले शान्तिपूर्ण रूपमा सभा, सम्मेलन र जुलुसमार्फत आफ्ना जायज माग राख्न पाउने संवैधानिक अधिकार भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीलाई हस्तक्षप नगर्न आग्रह गरेको छ। कांग्रेसले सो घटनाले आम जनमानसमा सरकारप्रति विश्वास गुम्दै गएको बताएको छ। साथै पार्टीले विज्ञप्तिमार्फत घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाहीसँगै निर्दोष पर्न नहुने माग गरेको हो।

छानबिनका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीनैजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ। घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न युवराज कँडेल र अस्मिता कार्की प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिई अनुसन्धान गर्न प्रहरीले पाएको पाँच दिनको म्याद सोमबारसम्म मात्र रहेको छ। नियन्त्रणमा लिएकाहरूसँग बयान लिने, पोस्टमार्टम रिपोर्ट र भिडियो जाँचको रिपोर्ट अध्ययन गर्ने र घटनासँग जोडिएका प्रमाण संकलन गर्ने काम अनुसन्धानमा खटिएको प्रहरी टोलीले गर्दै छ। घटनाको अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि चितवन आएर अनुसन्धान अघि बढाएको छ। पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कगांरु होटलमा मृत भेटिएका थिए।

संघर्ष समितिका अध्यक्षको राजीनामा
रवि लामिछाने बचाउ अभियान संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले पदबाट राजीनामा दिएका छन्। शान्तिपूर्ण आन्दोलनमा उच्छृंखल गतिविधि र राज्य व्यवस्थाविरुद्ध नाराबाजी हुन थालेपछि उनले राजीनामा दिएको बताएका छन्। सोमबार प्रेसविज्ञप्तिमार्फत संघर्ष समितिसमेत विघटन भएको उनले जानकारी दिएका छन्।

प्रकाशित: ३ भाद्र २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App