coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा’

बुटवल - नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। कांग्रेसले पार्टी महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेश ५ प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाइ सोमबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरूले प्रजातान्त्रिक मूल्य मान्यता र संविधानको मर्मविपरीत सरकारले अधिनायकबाद र निरंकुशता लाद्न खोजिरहेको आरोप लगाए।

कांग्रेस सभापती शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए। उनले अधिनायकवादी सरकारबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको टिप्पणी गरे। कम्युनिस्ट सत्तामा आए बोल्न र रुन पनि पाइँदैन भन्ने आफ्नो भनाइ सत्य सावित भएको भन्दै उनले न्यायालय, प्रेस र मानवअधिकारमाथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकबाटै सरकारको नियत स्पष्ट भएको दाबी गरे। ‘ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार खोस्न खोज्दैछ। प्रजातान्त्रिक मूल्य र मान्यता सिध्याउने दिशामा अगाडि बढेको छ,’ उनले भने।

सभापति देउवाले अधिनायकद र सर्वसत्तावादविरुद्ध लड्न गुट उपगुट अन्त्य गरी कांग्रेसलाइ बलियो बनाउने बताए। पार्टीमा भावनात्मक एकता आवश्यक भएको उनको भनाइ थियो। ‘पार्टीलाइ एक ढिक्का बनाउन केके गर्नुपर्छ त्यो सबै गर्छाै। तपाईंहरू पनि भाषण गरेर होइन काम गरेर जनताको मन जित्नुस्। भोट जित्नुस्।’ अन्तरघातको रोगले पार्टीलाइ ठूलो क्षति पु-याइरहेको भन्दै उनले त्यसलाइ रोक्न अन्तरघात गर्ने जो सुकैलाइ कारबाही गरिने बताए। उपनिर्वाचनको प्रसंगमा उनले पार्टीका उम्मेदवारलाइ जिताउन क्रियाशील हुन नेता कार्यकर्तालाई निर्देशन दिए।

त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द पौडेलले पार्टीमा गुट उपगुट अन्त्य गर्न न्याय निश्पक्ष र पारदर्शी हुनुपर्ने भनाइ राखेका थिए। सभापति देउवाले सबैभन्दा पहिले स्वयं नेता पारदर्शी हुनुपर्ने जवाफ फर्काए। ‘पारदर्शिताका कुरा गर्ने हो भने केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई प्रवेश दिऊँ, अनि नेताहरू भित्र के बोल्नुहुन्छ बाहिर के भन्दै हिँड्नुहुन्छ सबै छर्लंग हुन्छ,’ देउवाले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले प्रजातान्त्रिक मूल्य मान्यता र संविधानको मर्ममाथि नै प्रहार गरिरहेको बताए। ‘सरकारले सर्वोच्च अदालत, अख्यिार तथा संवैधानिक निकायको तेजोबध गर्ने काममा दुईतिहाइको दुरुपयोग गरिरहेको छ। घुमाइफिराई संविधानको मर्ममाथि प्रहार गरिहेको छ। संविधान मास्न खोजिँदैछ,’ वरिष्ठ नेता पौडेलले भने। सरकारी ढुकुटी बाँडेर आफना नेता कार्यकर्ता पोस्ने र नयाँ वर्ग जन्माउने अभियानमा सरकार लागेको आरोप उनले लगाए।

उपसभापति विमलेन्द्र निधिले कांग्रेसले बनाएको समावेशी संविधान र प्रजातान्त्रमाथि सबैभन्दा ठूलो खतरा सरकार र सरकारकै दलबाट रहेको टिप्पणी गरे। अर्का उपसभापति विजयकुमार गच्छदारले बाटो बिराएर १० बर्ष बाहिर बस्दा पनि देश र जनताको हित नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वास कहिल्यै नडगमगाएको बताए।

नेता कृष्णप्रसाद सिटौलाले सरकारले संवैधानिक र प्रशासनिक अंगलाई राजनीतिक भर्ती केन्द्र बनाएको र संघीयताको मूल्य मान्यता मिचिरहेको बताए। ‘सरकार कम्युनिस्ट पार्टीको मात्रै हो र देश पनि कम्युनिस्टको मात्रै हो भन्ने मान्यताबाट सरकार सञ्चालन भइरहेको छ,’ पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले भने। कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्र र संविधानको रक्षाका लागि शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए। प्रशिक्षण दुई दिनसम्म चल्ने प्रशिक्षणमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०७६ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App