८ वैशाख २०८१ शनिबार
समाज

लथालिंग अवस्थामा कलैया अस्पताल

बारा - कलैया जिल्ला अस्पताल लथालिंग अवस्थामा पुगेको छ। दरबन्दीअनुसार डाक्टर नहुनु, बिरामीलाई निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव, ल्याब र फार्मेसी सधैं बन्द रहनुजस्ता कारणले अस्पतालको अवस्था लथालिंग बनेको हो। अस्पतालमा सात महिनादेखि प्रसूतिको शल्यक्रिया पनि बन्द अवस्थामा छ।

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा १७ जना कार्यरत रहेको अस्पतालले जनाएको छ। अस्पतालमा बिहान १० देखि दिउँसो २ बजेसम्म मात्रै बिरामी जाँच्ने काम हुन्छ। २ बजेपछि चिकित्सक नभेटिने अस्पताल आएका सन्तोष साहले बताए। बिरामीको चाप बढे पनि अस्पतालले राम्रोसँग सेवा दिन नसेको उनको गुनासो छ।

अस्पतालमा ओपिडीमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी आउँछन्। यस्तै आकस्मिक कक्षमा दैनिक ७० जनासम्म बिरामी आउने गरेका अस्पतालका डा. रविरोसन गुप्ताले बताए। बिरामीको चाप बढे पनि उनीहरुलाई सेवा दिन आवश्यक जनशक्तिका साथै आधुनिक मेसिन, औषधिको अभाव तथा रातको समयमा ल्याब सञ्चालन नहुनेजस्ता समस्या रहेको उनले सुनाए।

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा १७ जना कार्यरत रहेको अस्पतालले जनाएको छ।

प्रसूतिको शल्यक्रिया बन्द हुँदा सर्वसाधारण महँगो खर्च गरेर जिल्लाबाहिर जान बाध्य भएका छन्। सात महिनादेखि प्रसूतिको शल्यक्रिया रोकिँदा निम्न आर्थिक अवस्था भएकाले निकै दुःख भोग्नुपरेको अस्पतालमा भेटिएका मोतीलाल प्रसादले बताए। ‘सुत्केरी व्यथा लागेका महिला दैनिक तीनदेखि चारजनाको संख्यामा अस्पताल आउने गरेका छन्,’ उनले भने, ‘डाक्टरहरुले अपरेसन सेवा बन्द भएको भन्दै बाहिर रेफर गर्छन्।’ सुत्केरी व्यथा लागेका महिलालाई वीरगन्जका निजी अस्पतालमा लैजाँदा ३० हजारभन्दा बढी खर्च हुन्छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत पाउने यातायात खर्च र शोधभर्ना रकम समेत प्रदेश सरकारले नपठाएको बताए। सेवा सञ्चालनका लागि जनशक्ति र रकम पठाउन सम्बन्धित निकायमा पटकपटक पत्राचार गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। अपरेसनका लागि आवश्यक जनशक्ति अभाव र जेनेरेटर बिग्रिएका कारण पनि सेवा दिन नसकेको उनले बताए।

अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि हाल सबै रिक्त छन्। संघीय सरकारले अधिकांश डाक्टरलाई केन्द्रमै राखेका कारण कलैया अस्पतालमा डाक्टर अभाव भएको झाले बताए। हाल भने यो अस्पताल प्रदेश सरकार मातहत छ। ‘तर प्रदेश सरकारले पनि सेवासुविधा व्यवस्थित गर्न चासो दिएन’, झाले भने। गत आर्थिक वर्ष २०७५÷७६ मा निःशुल्क वितरण गरिने औषधि किन्न अस्पताललाई एक रुपैयाँ पनि नआएको झाले बताए।

अस्पतालमा रहेका दुई एम्बुलेन्समध्ये एउटा पहिलादेखि नै बिग्रेको र अर्को त्यत्तिकै थन्किएको छ। एम्बुलेन्स चालक मुनिलालप्रसाद यादवले सर्भिसिङको रकम भुक्तानी नगरिँदा एक महिनादेखि एम्बुलेन्स थन्किन पुगेको बताए। एम्बुलेन्स सर्भिसिङको ५३ हजारको बिल आएको र त्यो रकम भुक्तानी गर्न अस्पताललाई भन्दा वास्ता नगरिएको उनले सुनाए।

प्रकाशित: ३ भाद्र २०७६ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App