coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एउटा तस्बिरले हजारौं शब्दको व्याख्या

फोटोग्राफी दिवसको अवसर पारेर धादिङमा आयोजना गरेको प्रभातफेरी र कार्यक्रम ।

धादिङ– हरेक व्यक्तिले जन्मसिद्ध रुपमा क्यामरा लिएर आएको हुन्छ। जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ। मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो, जहाँबाट ऊ संसार चिहाउने गर्दछ। यस मानेमा हरेक व्यक्ति आफैंमा एक फोटोग्राफर हो। सोमबार ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ भन्ने मूल नाराका साथ १८० औँ विश्व फोटोग्राफी दिवस धादिङमा हर्षाेल्लासका साथ मनाइएको छ। 

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको आयोजनामा धादिङ जिल्लामा संयुक्त रुपमा दिवस मनाइएको हो। दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी गरिएको छ। धादिङवेसी बजारका विभिन्न भाग परिक्रमा गर्दै बीचबजारमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो। अन्तरक्रियामा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकार र महासचिव प्रदीपराज वन्तले विश्वमा फोटोग्राफीको इतिहास र नेपालको यसको विक्रासक्रमको बारेमा बताएका थिए। 

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव वन्तका अनुसार फोटोग्राफीको यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको बताए। ‘युवापुस्तामा फोटोग्राफीको आकर्षण बढेको छ’, उनले भने, ‘फोटोलाई सार्वजनिक गर्दा विचार पुर्याउनुपर्छ, पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ।’ नेपालमा औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको उनले बताए।

हरेक वर्षको अगस्ट १९ तारिकका दिन मनाइने विश्व फोटोग्राफी दिवस यस वर्ष केन्द्रले समेत जिल्लामा मनाएको छ। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको बताए। ‘फोटोग्राफीको आविष्कारसँगै दूरदराजको संसार नजिक आइपुगेको छ’, उनले भने, ‘हजारौं शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ त्यसैले यसको प्रयोग व्यापक हुँदै आएको छ।’

सर्वप्रथम सन् १८३९ मा फ्रान्सेली वैज्ञानिक लुईस जेकस तथा मेन्डे डाग्युरेले फोटो तत्व खोजी गर्ने दावा गरेका थिए। ब्रिटिस वैज्ञानिक विलियम हेनरी फान्क्सटेल बोटले नेगेटिभ–पोजेटिभ प्रक्रियाको खोजी गरे। सन् १८३४ मै टेल बान्टले सेन्सेटिभ पेपरको आविष्कार गरिसकेका थिए, जसको सहायताले खिचिएको चित्रलाई स्थायी रुपमा संरक्षण दिन सकिन्थ्यो। फ्रान्सेली वैज्ञानिक आर्गोले ७ जनवरी १८३९ मा फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एक प्रोसेस रिपोर्ट बनाए। फ्रान्सेली सरकारले उक्त रिपोर्टलाई खरिद गरि १० अगस्ट १९३९ मा आममानिसको पहुँचमा ल्यायो।

फोटोग्राफीको आविष्कारसँगै दूरदराजको संसार नजिक आइपुगेको छ। कुनै पनि सम्प्रदाय, समाज, जातजाति, धर्म, संस्कार, भूगोल र त्यहाँको प्राकृतिक स्रोतसाधनको छवी अर्को भूगोल, अर्को प्रकृतिको मानिसहरुले नजिकबाट बुझ्न, देख्न र जान्न पाएका छन्। आज हामी समुन्द्रमा नपुगीकन पनि समुन्द्रको बारेमा जानकार छौं। हामी हाम्रो स्थानीय ठाउँमा नदेखिएका र नभोगेका विभिन्न प्राकृतिक एवम् कृतिम चिजवस्तुहरुको बारेमा उत्तिकै जानकार छौं, जति त्यस ठाउँ या त्यस भूगोलका मानिसहरु छन्। यसरी हेर्दा आजको दुनियाँ निर्माण र विकासमा फोटोग्राफीको महत्वलाई कुनै पनि हालतमा नकार्न सकिदैन्।

फोटोपत्रकार संघ धादिङको अध्यक्षमा दुवाडी

विश्व फोटोग्राफी दिवसकै अवसर पारेर आयोजना गरिएको नेपाल फोटोपत्रकार संघ धादिङको दोस्रो अधिवेशले मनिष दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ। समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह–सचिवमा गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा विपिन मल्ल, सुशील थापा, विष्णु कुमार श्रेष्ठ र सुशीला विश्वकर्मा रहेका छन्। ४३ जना फोटो पत्रकारहरु सदस्य रहेको फोटो पत्रकार संघ धादिङले फोटो प्रतियोगीतामा, फोटो कार्यशाला जस्ता विभिन्न गतिविधि गर्दै आएको छ।

त्यस्तै सोही अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको ३ नम्बर प्रदेश कार्यसमिति पनि घोषणा गरिएको छ। अध्यक्षमा धादिङका नारायण सिलवाल चयन भएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रथम अधिवेशनबाट ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा हेटौडाका सुदिप सिवाकोटी, सचिवमा धादिङका राजन अधिकारी र कोषाध्यक्षमा काठमाडौंका लोकेश लिम्बु तथा सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन भएका छन्।

प्रकाशित: २ भाद्र २०७६ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App