७ वैशाख २०८१ शुक्रबार
अर्थ

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालमा सेयर बजार मापक नेप्से १ सय १७ अंकले ओर्लिएको छ। दाहाल प्रधानमन्त्री भएको दिन साउन १९ गते १८१३.७२ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १६९७.१७ मा आइपुगेको छ।

माओवादी नेतृत्वको सरकार बन्ने संकेत देखिएपछि सेयर बजार क्रमिक रुपमा ओरालो लाग्न थालेको थियो। साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १७०० अंकभन्दा तल आइपुगेको छ।

सरकारले सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नल्याएकाले पनि सेयर बजार घट्न पुगेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले शनिबार नागरिकलाई बताए।

'माओवादी सरकारप्रति सेयर बजार सकारात्मक देखिएन,' उनले भने, 'माओवादी नेतृत्वको सरकारले प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने खालका कार्यक्रम नल्याए पनि सेयर बजार नयाँ सरकारप्रति विश्वस्त हुन सकेन।'

नेप्सेमात्र होइन कारोबार रकममा समेत कमी आएको छ। नयाँ सरकार निर्माण हुनु भन्दा पहिले सरदर डेढ अर्ब रुपैयाँको कारोबार हुने गरेको थियो। तर, अहिले सेयर कारोबार दैनिक ७० करोडको मात्र कारोबार हुन थालेको छ।

'सेयर बजारले कम्युनिस्ट सरकारप्रति पहिलेदेखि नै नकारात्मक संकेत देखाउँदै आएको छ,' पौडेलले भने, 'अहिले पनि त्यही भएको हो।'

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए। 'सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,' उनले भने, 'अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ।' बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ।

ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन्। ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ।

ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको भनाइ कतिपयको छ। यसअघि ब्याजदर कम थियो। सेयरको भाउ पनि बढेको थियो। अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आउन थालेको छ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको पौडेलको भनाइ छ। 'हकप्रद सेयर भर्नका लागि सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि सेयर बजार घट्न पुगेको हो,' उनले भने, 'बैंकहरुले चुक्ता पुँजी पुर्‍याउन ठूलो रकमको हकप्रद सेयर जारी गर्न थालेको र त्यसका लागि सेयर बिक्री गरेर रकम जोहो गर्न थालेकाले पनि सेयर बजार घट्न पुगेको हो।'

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेका छन्। केहीले धमाधम बढाउँदै छन्। बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पुर्‍याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ।

सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ। अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नु पर्‍यो र? भन्ने जस्ता कुरा लगानी गर्न थालेका छन्। यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए।

अहिले बजार घट्नुलाई ब्रोकरहरु 'करेक्सन' भएको बताउँछन्। साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकको सुधार आए पनि त्यसले लगानीकर्तालाई उत्साहित बनाउन सकेको देखिँदैन।

बजारमा संस्थागत र ठूला लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन्। सेयर बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न थालेका छन्। बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।

बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ। यसले पनि पनि बजार घटाउनै मद्दत गरेको छ।

सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ। उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार करेक्सन हुन थालेको बताइन्छ।

प्रकाशित: २८ कार्तिक २०७३ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App