८ वैशाख २०८१ शनिबार
खेल

अक्सफाममा चार नेपाली दौड्ने

काठमाडौं- हङकङकमा शुक्रबार सुरु हुने अक्सफाम ट्रायल वाकर १ सय किलोमिटर दौडमा नेपालका कीर्तिमानी चार अल्ट्रा धावकले सहभागिता जनाउने भएका छन्। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा गरेको प्रदर्शनका आधारमा विजेता बेदबहादुर सुनुवार, भीमबहादुर तामाङ, पूर्ण तामाङ र तीर्थबहादुर तामाङले उक्त प्रतियोगितामा सहभागिताको मौका पाएका हुन्। एभरेस्ट म्याराथनको प्रदर्शनका आधारमा एलिट मान्यताका साथ नेपाली टोलीलाई आयोजकले नै सम्पूर्ण खर्च बेहोर्ने गरी निमन्त्रणा गरेको शनिबार बिदाइ कार्यक्रममा जानकारी गराइयो।

रेस फिनिसिङको कटआउट समय शनिबारसम्म राखिएको नेपाली टोलीका खेलाडी बेदबहादुरले जानकारी गराए। फिनिसिङको कटआउट समय ३४ घन्टाको भए पनि नेपाली टोलीले १० देखि ११ घन्टामा रेस पूरा गर्दै उपाधि उचाल्ने लक्ष्य बनाएको उनले बताए। 'हामी त्यहाँ पहिला पनि सहभागी भइसकेका छौं। साथमा देशभित्र पनि कठिन खालका दौडहरूमा भाग लिएको र सफल भएको अनुभव हामीसँग छ। त्यसैले हङकङमा उपाधि जित्नु हाम्रो एकमात्र लक्ष्य हुनेछ,' नेपाली टोलीले दुई वर्षअघि बनाएको १० घन्टा ५८ मिनेटको कीर्तिमान तोड्ने लक्ष्य सुनाउँदै बेदबहादुरले नागरिकसँग भने, 'हाम्रो तयारी राम्रो छ र अहिले फिटनेस पनि राम्रो भएकाले लक्ष्य प्राप्तिका लागि आशावादी छौं।'

सबै खेलाडी व्यक्तिगत रूपमा दौड्ने भए पनि यसमा नतिजा भने टिमले हासिल गर्ने गर्छ। संयुक्त प्रदर्शनका आधारमा विजेता चयन हुने रेसमा खेलाडीले टिमभित्र एकअर्कालाई सहयोग गर्न पाउँछन्। टिमका सबैले पूरा रेस फिनिस गर्नुपर्ने प्रावधानअनुसार टिमको सबैभन्दा पछि दुरी पार गर्नेको टाइमिङका आधारमा टिमको टाइमिङ तय हुन्छ।

'बीचमा कोही खेलाडी घाइते भयो, दौड्न सकेन वा समस्या भयो भने बाँकी तीन जनाले उसलाई बोकेर भए पनि फिनिसिङ प्वाइन्टसम्म पुर्‍याउन पाइन्छ। तर चारैजनाले दुरी पूरा गर्नुपर्छ,' बेदबहादुरले भने।

सन् २०१४ मा पनि नेपाली टोलीले सहभागिता जनाउँदा पहिलो स्थान हासिल गरेको थियो। त्यही प्रदर्शनका साथै अन्य अन्तर्राष्ट्रिय स्तरका रेसको प्रदर्शनका आधारमा आफूहरूलाई निम्तो आएको र एलिट टिमको हैसियत पाएको उनले बताए। प्रतियोगितामा १० औं हजार खेलाडीको सहभागिता रहने भए पनि १६ टिमले मात्र एलिट हैसियत पाउने बताइएको छ।

कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन आयोजक समितिका अध्यक्ष विक्रम पाँडेले हङकङ जाने तयारीमा रहेका खेलाडीलाई शनिबार बिदाइ गरे। 

दक्षिण एसियाली खेलकुदमा लगातार तीनपटक म्याराथनको स्वर्ण जितेका मानन्धरले खेलाडीलाई सम्बोधन गर्दै भने, 'नेपाली खेलाडीमा पर्याप्त क्षमता छ। तिमीहरूले एभरेस्ट म्याराथनबाट आफूलाई प्रमाणित गरिसकेका छौं। सगरमाथाको काखमा दौडिनेले हङकङमा नसक्ने कुरै हुँदैन। नेपाली टोली पदक साथ देश फर्किने विश्वास लिएको छु।'

यसैगरी पाँडेले सगरमाथाको काखमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनले विश्वभरकै जोखिमपूर्ण, अल्ट्रा तथा ट्रायल रेसहरूको बीचमा राम्रो प्रतिष्ठा कायम गरेको बताए। 'तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनका धावकले विश्वभरका यस्ता रेसहरूमा स्टार खेलाडीको हैसियत पाउन थालेका छन्। हङकङबाट हाम्रा खेलाडीलाई सम्पूर्ण खर्चसहित निम्तो आउनु भनेको यसको प्रमाण हो। त्यसैले तपाईहरूले त्यहाँ गएर नेपालको नाम राखेर फर्किनुपर्छ,' उनले भने।

यस वर्षका एभरेस्ट म्याराथन विजेता बेदबहादुरले गत वर्ष हङकङमा २७ किलोमिटर र ५० किलोमिटरको दी नर्थ फेस रेसमा उपाधि जितेका थिए। यसैगरी २०१३ मा ५४ किलोमिटरको पाथिभरा म्याराथन, २०११ मा ५६ किलोमिटरको ह्योल्मो म्याराथन, २०१५ मा चीनमा सम्पन्न ५० किलोमिटरको एसियन माउन्टेन रनिङ, २०१४ मा चीनमै भएको ५० किलोमिटर दुरीको स्काई रनिङ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन्।

पूर्ण एभरेस्ट म्याराथनको यो वर्षका उपविजेता हुन्। २०१५ मा काठमाडौं म्याराथन तथा आर्मी म्याराथनमा स्वर्ण जितेका उनी २०१४ मा ५० किलोमिटरको अन्नपूर्ण म्याराथनमा पहिलो भएका थिए। यसैगरी २०१३ मा हङकङमा भएको १ सय किलोमिटरको दी नर्थ फेस रेसमा पनि उनी पहिलो भएका थिए। तीर्थबहादुरले २०११ मा अन्नपूर्ण म्याराथन जितेका थिए भने यही वर्ष ५० किलोमिटरको स्तुपा टु स्तुपा रेस तथा ६० किलोमिटरको एभरेस्ट अल्ट्रा रेसमा उपाधि जितेका थिए। उनी २०१४ मा हङकङमा सम्पन्न भिब्राम हङकङ तथा २०१५ मा चीनमा भएको १ सय किलोमिटर दुरीको डल सिट्या चाइनामा पहिलो भएका थिए।

सन् २०१४ मा नेपाली टोलीले १० घन्टा ५८ मिनेटको कीर्तिमानी प्रदर्शनसाथ अक्सफाम ट्रायल वाकर १ सय किलोमिटर रेसमा उपाधि जित्दा भीमबहादुर टोलीका सदस्य थिए। त्यतिबेला उनीसँगै राम खत्री, उत्तम खत्री र राम भण्डारी टोलीमा थिए। २०१२ मा १ सय किलोमिटरको अन्नपूर्ण रेस जितेका उनले २०१५ मा ८० किलोमिटरको दी नर्थ फेस, २०१२ मा एभरेस्ट म्याराथन, सगरमाथा आधारसिविर क्षेत्रमा हुने डाइना चेनी २०१३ मा तथा २०१५ मा १ सय ७८ किलोमिटरको एभरेस्ट ट्रेल म्याराथनमा पहिलो स्थान हासिल गरेका थिए। एभरेस्ट ट्रायल म्याराथनमा उनले २० घन्टा २४ मिनेट ५३ सेकेन्डको कीर्तिमान समय बनाएका थिए। यसै वर्ष चीनमा सम्पन्न ३० किलोमिटरको चाइना वर्ल्ड सिरिज तथा पोखरामा ५० किलोमिटरको अन्नपूर्ण म्याराथनमा पहिलो भएका भीमबहादुरले गत वर्ष इटालीमा ५२ किलोमिटरको स्काई रनिङ वर्ल्ड शृंखलामा ६ घन्टा १० मिनेटको विश्व कीर्तिमान राख्दै उपाधिमा कब्जा जमाएका थिए।

प्रकाशित: २८ कार्तिक २०७३ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App