४ वैशाख २०८१ मंगलबार
खेल

कप्तानको शतकमा श्रीलंका विजयी

गाले,(एएफपी)– कप्तान दिमुथ करुणारत्नेको शतकप्रेरित श्रीलंकाले आइतबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट ६ विकेटले जित्दै विश्व टेस्ट च्याम्पियनसिपमा अंक खाता खोलेको छ।

यस जितसँगै श्रीलंकाले २ टेस्ट खेलको शृंखलामा १–० को अग्रता लिएको छ। श्रीलंका बिनाविकेट क्षति १ सय ३३ रनबाट पाँचाैं तथा अन्तिम दिनको खेल सुरुआत गरेको थियो। श्रीलंकालाई जितका लागि अन्तिम दिन मात्र १ सय ३५ रन बनाउनुपर्ने थियो। टोलीको १० विकेट सुरक्षित थियो। पहिलो विकेटका लागि करुणारत्ने र लाहेरु थिरामानेले १ सय ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए। थिरामानेले विलियम सोमर भिल्लेको बलमा एलबिडब्लुको सिकार हुनुअघि १ सय ६३ बलमा ४ चौकाको मद्दतमा ६४ रन जोडे। करुणारत्नेले २ सय ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा १ सय २२ रन जोडेका थिए। उनको यो नवाैं टेस्ट शतक हो। ५८ रन जोड्दा करुणारत्नेले दुई पटक जीवनदान पाएका थिए। टम लाथमले क्याच छोड्दा र विकेटकिपर बिजे वाट्लिङले स्टम्पिङको अवसर खेर फाल्दा उनले जीवनदान पाएका थिए।

त्यस्तै एन्जेलो म्याथ्युजले अविजित २८ र कुशल परेराले २३ रन जोडे। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी, विलियम सोमर भिल्ले र अजाज पटेलले समान १ विकेट लिएका थिए।

‘हाम्रो रणनीति स्ट्य्राइक रोटेट गर्दै पहिलो विकेटका लागि उच्च साझेदारी गर्ने थियो। जसमा थिरामानेले मलाई गतिलो साथ दिए,’ करुणारत्नेले भने।

यसअघि न्युजिल्यान्डले पहिलो इनिङमा २ सय ४९ रन जोड्दा श्रीलंकाले भने २ सय ६७ रन जोड्दै पहिलो इनिङमा १८ रनको अग्रता लिएको थियो।

प्रकाशित: २ भाद्र २०७६ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App