७ वैशाख २०८१ शुक्रबार
खेल

भिगोमाथि रियालको जित

भिगो (एएफपी)– सेल्टा भिगोमाथि ३–१ को जित निकालेको दिन शनिबार रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल क्लबमा नै रहने संकेत दिएका छन्। 

प्री सिजनको खेलमा टोलीबाट नखेलेका बेल सेल्टा भिगोको घरेलु मैदान बलाइडोसमा प्रतिस्पर्धा गर्दा मैदान उत्रिएका हुन्। यसै सिजन  क्लबबाट बेच्न इच्छुक जिदानको टोली रियालले करिम बेन्जेमाको गोलबाट खाता खोलेको थियो। १२औं मिनेटमा बेलले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको पाहुना टोली रियालले दोस्रो हाफमा पनि उत्कृष्ट लयलाई निरन्तरता दियो। 

५६औं मिनेटमा क्रोएसियन मिडफिल्डर लुका मोडरिच रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि रियाल दश खेलाडीमा सीमित भएको थियो। तर पनि उत्कृष्ट लयलाई निरन्तरता दिएको रियालका लागि टोनी क्रुसले ६१औं मिनेटमा गोल गर्दै अग्रता २–० मा पु-याए। मार्सेलोको पासलाई सदुपयोग गर्दै क्रुसले टोलीको अग्रता दोब्बर पारेका थिए। भ्रमणकारी टोलीले घरेलु टोलीलाई बाँकी समय अझै दबाबमा राख्यो। ८०औं मिनेटमा लुकास भासकेजले टोलीका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे। बेन्जेमाले उपलब्ध गराएको पासलाई भासकेजले सदुपयोग गर्दै जाली चुमाउन सफल भएका थिए। बाँकी दश मिनेट रक्षात्मक देखिएको रियालविरुद्ध घरेलु टोलीले अन्तिम मिनेटमा सान्त्वना गोल फर्कायो।

नयाँ सिजनमा सुखद सुरुआत गरेको रियालले शनिबार भालाडोलिडसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। यस्तै पराजित टोली सेल्टा भिगोले आफ्नै मैदानमा आइतबार भ्यालेन्सियासँग खेल्नेछ।
सुखद सुरुआत गरेको रियालका प्रशिक्षक जिदानले बेल रियालमा नै रहने प्रतिक्रिया दिए। सेप्टेम्बर २ मा स्पेनिस खेलाडी सरुवा बजार बन्द हुँदै छ।

‘यसअघि बेलका बारेमा दुई/तीन पटक क्लबमा छलफल भएको थियो। अब उनको चर्चा हुँदैन। उनी क्लबमा नै रहन्छन्,’ प्रशिक्षक जिदानले भने, ‘सबै खेलाडी यो सिजनका लागि क्लबमा नै रहन्छन्, सबै यो सिजन क्लबबाट नै खेल्छन्।’

पहिलो हाफमा राम्रो लयमा देखिएको सेल्टा भिगोले दोस्रो हाफमा दश खेलाडीमा सीमित बनेको रियाललाई रोक्न सकेन।

‘आजको खेलमा म सन्तुष्ट छु,’ प्रशिक्षका जिदानले थपे, ‘शतप्रतिशत खेल खेल्दै सुरुआत ग-यौं। कुनै पनि टोलीले भ्रमणमा यति राम्रो प्रदर्शन गर्न सक्दैन र जित निकाल्न कठिन हुन्छ।’

जिदान पोग्बालाई नयाँ सिजनमा क्लबमा अनुबन्धित गर्न चाहन्थे। लिगको सुरुआतसँगै मोडरिच र क्रुसको खेलमा सन्तुष्ट देखिएका जिदानको अब कुनै अपेक्षा छैन। अघिल्लो महिना जिदानले बेलको बहिर्गमन क्लब र सबैका लागि राम्रो हुने प्रतिक्रिया जनाएका थिए। बेल उक्त समयमा चीनको क्लब जाने चर्चा चलेको थियो। ३० वर्षे बेलमाथि प्रशिक्षक जिदानले पुनर्विचार गर्दै क्लबका लागि आवश्यक खेलाडी भएको प्रतिक्रिया दिएका छन्।

‘सबै खेलाडीको मिहिनेतलाई सलाम भन्न चाहन्छु। शनिबारको खेलमा ग्यारेथ बेल र भिनिसियस जुनियरको रक्षात्मक भूमिका निकै उत्कृष्ट रह्यो,’ जिदानले प्रशंसा गरे।

थाईको चोटका कारण इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट यसै सिजन मात्र रियालमा अनुबन्धित हाजार्ड भने शनिबार सेल्टा भिगोविरुद्ध मैदान उत्रिएनन्। सेल्टा भिगोले अघिल्लो सिजन १७औं स्थानमा रहँदै लिगको समापन गरेको थियो।

प्रि सिजनमा खराब प्रदर्शन गरेको रियाल मड्रिडका प्रशिक्षक जिदान सुखद सुरुआतको खोजीमा थिए। जिदानको सोचअनुसार नै टोलीले शनिबार  प्रदर्शन गर्दा रियालले नयाँ सिजनमा सुखद सुरुआत गरेको हो।

ला लिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा यसै सिजन बढुवा भएको ओसासुनाले लेगानेसमाथि उसैको मैदानमा १–० को  जित निकाल्दा अर्को बढुवा भएको मालोर्काले पनि एइबारमाथि २–१ को जित निकाल्न सफल भयो। यस्तै भ्यासलेन्यिा र रियाल सोसिडाडले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा भिल्लारियल र अर्को बढुवा भएको टोली ग्रानडाले ४–४ गोलको बराबरी खेले।

प्रकाशित: २ भाद्र २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App