८ वैशाख २०८१ शनिबार
खेल

उच्च आत्मबलमा नेपाली टोली

नेपाली भलिबल टाेली। फाइल तस्बिरःनागरिक

काठमाडौं – पहिलो पटक एभिसी  सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदा सर्वाधिक सात टोलीले सहभागिता जनाउँदै छन्। सोमबारबाट हुने  प्रतियोगिताका लागि सातै टोली नेपाल आइसकेका छन्।

टोलीको आगमनसँगै शुक्रबार तालिका सार्वजनिक गरियो। तालिकाअनुसार पाहुना टोली किर्गिस्तानसँग खेल्दै पाँचाैं संस्करण आरम्भ गर्दै छ।

घरेलु कोर्ट र दर्शकको साथ पाउने नेपाली टोलीको लक्ष्य फाइनलसम्म पुग्ने रहेको छ। अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण जित निकालेको नेपाली टोली उच्च मनोबलमा छ। नेपाली टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन् कप्तान इम रानामगर।

‘प्रतियोगितामा लगभग एकै स्तरका टोली छन्। उनीहरूलाई हाइट एडभान्टेज छ। यद्यपि हामीले सबैसँग खेलेका छौं। बलियो भनिएका टोलीसँग प्रतिस्पर्धात्मक खेल खेल्दै मनोबल बटुलेका छौं,’ कप्तान इमले भने, ‘घरेलु दर्शक र कोर्टको फाइदा छ। हामीलाई ऐतिहासिक अवसर पनि हो। हामीले फाइनलसम्मको लक्ष्य राखेका छौं।’

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा नेपाल तीन टोली रहेको समूहमा परेको छ। नेपालसहित समूह ‘ए’ मा किर्गिस्तान र माल्दिभ्स छन्। यस्तै समूह ‘बी’ मा साबिक विजेता तुर्कमिनिस्तानसहित बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान  छन्।

मैत्रीपूर्ण खेलमा घाइते भएका कप्तान इमले सोमबार हुने खेलमा टोलीको कप्तानी सम्हाल्ने टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए।

‘इम टोलीमा फर्किने पक्का भएको छ। शनिबार र आइतबार उनले सामान्य अभ्यास गर्दै टोलीमा फर्किने संकेत देखाए,’ व्यवस्थापक मंगल श्रेष्ठले भने, ‘सामान्य उपचारपछि घाइते भएका तीनै खेलाडी कोर्टमा फर्किने पक्का भएको छ। इम, धन र ईश्वरलाई दोस्रो मैत्रीपूर्ण खेलमा आराम गर्ने मौका दिइको हो।’

ललितपुरस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले इतिहास रच्ने दाबी नेपाली टोलीका सहायक प्रशिक्षक सुदिश रिमालले गरे।

‘नेपाली टोलीलाई घरेलु दर्शक र कोर्टको फाइदा अवश्य नै छ। नेपालले मैत्रीपूर्ण खेलमा बटुलेको अनुभवको आधारमा उच्च प्रदर्शन गर्नेमा म आशावादी छु,’ सहायक प्रशिक्षक सुदिशले भने, ‘सोमबारबाट हुन लागेको प्रतियोगिताका लागि नेपाली टोली पूरै तयार छ। स्वाभाविक खेल प्रदर्शन गर्न सके नेपाली टोलीको लक्ष्य असम्भव छैन। राम्रो खेल्दै इतिहास कोर्नेमा म विश्वस्त छु।’

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको यति ठूलो भलिबल प्रतियोगिता पाँचौं संस्करणको हो।

प्रतियोगिताअघि अफगानविरुद्धको शृंखला जितेको नेपालका लागि मुख्य खेलाडीको चोट चिन्ताको विषय बनेको थियो। चोट गम्भीर नरहेको र उनीहरू शनिबार अभ्यासमा फर्किएको नेपाली टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए।

सन २०१७ मा माल्दिभ्समा सम्पन्न एभिसीको साधारणसभाले पाँचौं संस्करण नेपाललाई आयोजनाको जिम्मा दिएको थियो। सीमित पूर्वाधारका बावजुद प्रतियोगिता आयोजना गर्दै राष्ट्रिय खेलको गरिमा बढाउने र राष्ट्रिय टोलीले उच्च एक्सपोजर पाउने अपेक्षासहित नेपाल भलिबल संघ यो प्रतियोगिता आयोजना तयार भएको हो।

यसअघि सम्पन्न पहिलो संस्करणमा ६ टोलीको सहभागिता थियो। सम्पन्न चार संस्करणमा नेपाल सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन। पहिलो संस्करणमा नेपालले समूहचरणमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरी सेमिफाइनल पुगेको थियो। समूहचरणमा माल्दिभ्ससँग पराजित भएको थियो। सेमिफाइनलमा तुर्कमेनिस्तानसँग पराजित नेपाल तेस्रो स्थानको खेलमा अफगानिस्तानसँग ३–२ सेटमा निराश बनेको थियो।

दोस्रो संस्करणमा ५ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले तुर्कमिनिस्तान, किर्गिस्तान र बंगलादेशसँग हार बेहोरेको थियो। लिग चरणमा माल्दिभ्सलाई पराजित गरे पनि तेस्रो स्थानको खेलमा पराजित भएको थियो।

माल्दिभ्समा सम्पन्न तेस्रो संस्करणमा ४ टोलीबीच प्रतिस्पर्धा हुँदा लिग चरणमा घरेलु टोली माल्दिभ्सविरुद्ध ३–१ को सेटमा खेल आफ्नो पक्षमा पार्दै नेपालले अन्तर्राष्ट्रिय भलिबल इतिहासमै पहिलो कांस्य पदक हात पारेको थियो। गत वर्ष बंगलादेशमै भएको चौथो संस्करणमा नेपालले समूहचरणमा बंगलादेशसँग हारे पनि माल्दिभ्सलाई पराजित गरी सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा तुर्कमेनिस्तानसँग पराजित हुँदा तेस्रो स्थानका लागि किर्गिस्तानसँग भएको प्रतिस्पर्धामा पनि पराजित हुँदा नेपाल चौथो भएको थियो।

सम्पन्न चार संस्करणमा नेपालले उज्वेकिस्तानसँग कुनै पनि खेलमा प्रतिस्पर्धा गरेको छैन। किर्गिस्तानसँगको चार भेटमा नेपालले तीन खेलमा नतिजा सुम्पिएको छ भने तुर्कमेनिस्तानसँग समान चार पटक आमने सामने भएको नेपालले कुनै पनि भेटलाई सुखद बनाउन सकेको छैन। यता सार्क राष्ट्र माल्दिभ्सविरुद्ध ३ जित र २ हार बेहोरेको नेपालले बंगलादेशसँगको तीन भेटमा एक खेल मात्र सुखद बनाउन सफल भएको छ।

खेलतालिका
समूह ‘ए’    नेपाल, माल्दिभ्स र किर्गिस्तान
समूह ‘बी’    तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान

आजको खेल
तुर्कमेनिस्तानविरुद्ध अफगानिस्तान    १०ः०० बजे
नेपालविरुद्ध किर्गिस्तान    ४ः०० बजे
बंगलादेशविरुद्ध उज्बेकिस्तान    ६ः ०० बजे

प्रकाशित: २ भाद्र २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App