७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

काठमाडौं- काठमाडौं महानगरपालिकाले कागजविहिन कार्यालय बनाउन विद्युतीय प्रणाली मार्फत् आफ्ना सबै सेवा प्रदान गर्ने तयारी थालेको छ। गत असारमा सबै वडामा विद्युतीय प्रणालीमार्फत् नक्सा पास थालेको महानगरपालिकाले सबै काम विद्युतीय प्रणालीबाटै गर्ने जनाएको छ। 'सेवा छिटोछरितो, पारदर्शी र समयको मागअनुसार विद्युतीय प्रणाली प्रयोग गर्न लागेका हौं,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'मंसीर सुरुबाट विद्युतीय प्रणाली परीक्षण गरिनेछ।' तामाङका अनुसार परीक्षण थालेको १०/१५ दिनमै औपचारिक रुपमा विद्युतीय प्रणालीमा काम गरिनेछ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन नआएसम्म केही मुख्य वडामा विद्युतीय प्रणालीमा कामकाग सञ्चालन गरिनेछ। 'महानगरपालिकाको पुनःसंरचना कस्तो हुने भनेर निश्चित भइसकेको छैन,' कार्यकारी अधिकृत तामाङले भने, 'सुरुमा मुख्य १५/२० वटा वडामा सुरु गरिनेछ। आयोगको प्रतिवेदनपछि महानगरका सबै वडा कार्यालयमा विद्युतीय प्रणालीबाटै काम हुनेछ।' महानगरपालिकाले विद्युतीय प्रणाली जडान गर्न सबै वडामा आवश्यक भौतिक पूर्वाधार व्यवस्था गरिसकेको उनले दाबी गरे।

कार्यालयमा आउने कागजपत्र स्क्यानिङ गरेर विद्युतीय प्रणालीमा हालिनेछ। एउटा शाखाबाट अर्को शाखामा फाइल पठाउँदा कम्प्युटरबाटै पठाइनेछ। फाइल ओसारपसार गर्नु साटो कम्प्युटरमै हेर्न सकिनेछ। फाइल कहाँ पुग्यो ट्रयाक गर्न समेत सहज हुने महानरपालिकाले जनायो। नयाँ फाइलमात्र नभइ विद्युतीय प्रणालीमा गइसकेपछि पुराना फाइल पनि विद्युतीय प्रणालीमै लगिने र त्यसपछि त्यस्ता अभिलेख खोज्नसमेत सहज हुनेछ। उसो त महानगरपालिकाले यसअघि नै महानगरपालिकामा रहेका पुराना फाइल (मिसिल)लाई समेत डिजिटलाइज गर्ने काम थालिसकेको छ। महानगरपालिकामा लाखौं मिसिल छन्। करिब ३ लाख मिसिल डिजिटलाइज गरिसकेको महानगरले बतायो।

एसियाली विकास बैंक र स्थानीय विकास मन्त्रालयको करिब ४ करोड रुपैयाँ लगानीमा महानगरपालिकाले विद्युतीय प्रणालीमा जाने तयारी गरेको हो। विद्युतीय प्रणालीपछि नक्सा पास, कर उठाउन, बक्यौता रकमबारे जानकारी, करको शीर्षक, कार्यालयको कामकारबाही सहज र सरल सजिलो हुने महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए।

त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापनमा समेत सहज हुने काफ्लेले बताए।

प्रकाशित: २८ कार्तिक २०७३ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App