८ वैशाख २०८१ शनिबार
समाज

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

निर्माण पूरा भएको साप्सु खोलाको पुल।

खोटाङ - म्याद गुज्रेको २१ महिनापछि खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल सञ्चालनमा आएको छ। ठेकेदारको ढिलासुस्तीका कारण २०७४ साल कात्तिकमै म्याद गुज्रिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पुल निर्माणको काम ढिला गरी पूरा गरिएको हो।

१८ महिनाभित्र पूरा गर्नेगरी २०७३ वैशाखमा ठेक्का लागेको पुलको काममा चरम ढिलासुस्ती भएपछि निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको प्रतिनिधि परिवर्तन गरेर पुल निर्माणलाई पूर्णता दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए।

दिक्तेल–खोटाङ बजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने साप्सु पुल २०७३ मंसिर २२ गते शिलान्यास गरिएको थियो।

नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजार रुपैयाँ लागतमा ठेक्का लागेको सो पुलको काम तोकिएको समयमा पूरा नहुँदा जिल्लावासीले ठेकेदारको चर्को आलोचना गर्दै आएका थिए।

म्याद गुज्रेको १५ महिना बित्दासमेत पहिलो निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको पहिलो प्रतिनिधिले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि साकेला गाउँपालिकाको पहलमा २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो। ‘ढिलै भए पनि पुल तयार भएको छ, मोटरबाइक पुलबाटै गुड्न थालेका छन्,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘पुलको ढलान सुक्न अझै १०/१५ दिन लाग्छ। त्यसपछि हेभी गाडी पनि छोड्न सकिन्छ।’

नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजार रुपैयाँको लागतमा ठेक्का लागेको पुलको काम तोकिएको मितिमा पूरा नहुँदा जिल्लावासीले ठेकेदारको चर्को आलोचना गर्दै आएका थिए। म्याद नाघेको वर्षौं बित्दा पनि साप्सु खोलाको पुल निर्माणको काम अलपत्र भएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले २०७५ साल कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा समावेश गर्न गृहमन्त्रीसमक्ष लिखित माग राखेका थिए। पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम समावेश गरी गृहमन्त्रालय पठाएको थियो। सो पुल प्रतिनिधिसभा सदस्य भट्टराईले नै शिलान्यास गरेका थिए।

वर्षामा बाढीले सवारी आवागमन ठप्प हुँदा नाकाबन्दीको अवस्था सिर्जना हुँदै आएकामा पुल बनेपछि सो समस्या हल भएको अध्यक्ष खड्काले जनाए। बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (-याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोगविहीन छ। दिक्तेल–खोटाङबजार सडकखण्डमै पर्ने तावा खोलामा ठेक्का लागे पनि पुल निर्माणको काम सुरु भएको छैन।
क्याप्सन ः

 

प्रकाशित: २ भाद्र २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App