coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्पदंशको उच्च जोखिममा ग्रामीण क्षेत्र

दाङ - नेपाल–भारत सीमामा पर्ने देउखुरी राजपुर गाउँपालिका–६ भौवा निवासी शेरबहादुर सार्कीका दुई छोरी ११ वर्षीया करिश्मा र आठ वर्षीया सुजु सँगै सुतेका थिए। फुसले छाएको छानो भएको ओतमा सुतिरहेका उनीहरूको ओछ्यानमै सर्प खसेछ। बिहानपख उठ्ने बेला उनीहरूलाई सर्पले डस्यो। भौवामा उपचार गर्ने थलो नभएकाले उनीहरूलाई भारतको सिर्सियास्थित एक सामुदायिक अस्पतालमा पु¥याइयो।

अस्पताल पु¥याउनेबित्तिकै एकजनाको मृत्यु भयो। अर्की बालिकालाई बहराइच लैजान अस्पतालले सुझाव दियो। त्यता लैजाँदै गर्दा अर्कीको पनि मृत्यु भयो। एकै घरका दुई दिदीबहिनीको सर्पदशंका कारण मृत्यु भएको यो घटना केही दिनअघिको मात्रै हो। यही ठाउँमा गत वर्ष पनि एक बालिकाले सर्पदंशकै कारण ज्यान गुमाएकी थिइन्। नाका क्षेत्रका एक स्थानीय अमृत खड्काले भने, ‘सर्पदंशको जोखिमपूर्ण क्षेत्र मानिने नाकावरपर कुनै उपचार थलो छैन। भारत लैजान टाढा पर्छ। सर्पको डसाइमा परेकाहरूले उपचार अभावमा अकालमै ज्यान गुमाउनुपरिरहेको छ।’

एक महिनाअघि घोराही–१७ पचुर्खाकी सात वर्षीया एक बालिकाको पनि सपदंशकै कारण मृत्यु भयो। स्थानीय दिलबहादुर पुनकी छोरी बिया पुनलाई घरको आँगनमै बसिरहेको अवस्थामा सर्पले डस्यो। उनलाई झारफुकका लागि धामीकहाँ पु¥याइयो। धामीले झारफुक त गरिदिए तर बालिकाको अवस्था झनै बिगँ्रदै जान थाल्यो। उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइयो। तर प्रतिष्ठानले बालिकाको अवस्था नाजुक भइसकेको भन्दै बाहिर लैजान सल्लाह दियो। ती बालिकाको पनि उपचारका लागि बाहिर लैजाँदै गर्दा मृत्यु भयो।

एक महिनाकै अवधिमा जिल्लामा तीनजना बालिकाले सर्पदंशका कारण ज्यान गुमाए। जिल्लामा बर्सेनि सर्पदंशका कारण पाँचदेखि ६ जनासम्मले ज्यान गुमाउने गरेका छन्। सर्पदंशका कारण ५/६ जनाले ज्यान गुमाउनुलाई सर्पदंशको अधिक जोखिम मान्न सकिने जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ। ‘जिल्लाभरिको सर्पदंशका घटनाहरू हेर्ने हो भने प्रत्येक वर्ष ६ देखि ६ जनाले ज्यान गुमाउने गरेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट कुन्दन ठाकुरले भने, ‘सर्पदंशका कारण ५÷६ जनाले ज्यान गुमाउनु भनेको धेरै हो।’

सर्पदंशका कारण मृत्यु हुनुको पहिलो कारण पायकमा उपचार थलो नहुनु हो। जिल्लाका तीन स्थानमा मात्रै सर्पदंशले टोकेका बिरामीको उपचार हुने गरेको छ। तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीस्थित लमही अस्पतालले मात्रै सर्पदंशको उपचार सेवा दिने गरेका छन्। यी अस्पतालहरूमा पनि सर्पले टोकेका बिरामीहरूका लागि प्रयोग गरिने औषधि ‘एन्टी स्नेक भेनम’को पर्याप्तता पनि सधैभरि रहँदैन। केही दिनअघि मात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका सर्पदंशका बिरामीले औषधिमुलो नपाएको एक स्वास्थ्यकर्मीले बताए।

योबाहेक ग्रामीण जिल्लामा सर्पदंशको उपचारै हुन्न। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सर्पदंशको सबैभन्दा जोखिम क्षेत्र भनेकै ग्रामीण क्षेत्र हो। ‘जिल्लाका तीन स्थानबाहेक सर्पले टोकेका बिरामीहरूको उपचार कतै पनि हुन्न, ग्रामीण क्षेत्रमा यसको उपचार सम्भव छैन,’ ठाकुरले भने, ‘गाउँमा विषालु सर्पले टोकेका बिरामीहरू उपचारका लागि अस्पतालसम्म आउन नपाएरै उनीहरूको मृत्यु हुने गरेका घटना धेरै छन्।’

सर्पदंशको उपचारका लागि मेडिकल अफिसर तहको स्वास्थ्यकर्मीको अपरिहार्यता रहन्छ। यसका लागि ग्रामीण तहमा सरकारी अस्पतालको अपरिहार्यता रहन्छ। तर ग्रामीण भेकमा मेडिलक अफिसरको दरबन्दी रहने अस्पतालहरू नरहेकाले पनि सर्पदंशका बिरामीहरूको उपचार ग्रामीण भेकमा हुन नसकेको ठाकुरले बताए। ‘सर्पदंश धेरै सेन्सेटिभ केस हो, यसको उपचारका लागि मेडिकल अफिसर अनिवार्य रहनुपर्छ,’ ठाकुरले भने, ‘तर जिल्लाका ग्रामीण भेकमा मेडिकल अफिसर रहेको अस्पताल एउटा पनि छैन, यसर्थ सर्पदंशको उपचार सेवा ग्रामीण भेकमा उपलब्ध हुन नसकेको हो।’ उनका अनुसार सर्पदंशका बिरामीहरूलाई खुवाउने औषधि पनि विषैसरह हो।

कति विषालु सर्पले टोकेको हो र बिरामीमा विष चढेको छ वा छैन भनेर पहिचान गरेर मात्रै यो औषधि प्रयोग गर्नुपर्दछ। विषालु सर्पले टोकेको खण्डमा मात्रै चढाउनुपर्ने यो औषधि सामान्य सर्पले टोकेको अवस्थामा पनि चढाए त्यही औषधिकै कारण बिरामीको ज्यान जाने खतरा बढ्ने ठाकुरले बताए। विषको मात्रा पहिचानका लागि सुरुमा पट्टी बाँध्ने अनि बिरामीको कडा निगरानी राखिन्छ। ‘सुरुमा बिरामीलाई कति विषालु सर्पले टोकेको हो, उसको शरीरमा विष कतिको मात्रामा फैलिएको छ भनेर पहिचान गर्नुपर्छ,’ उनले भने, ‘अनि मात्रै औषधि चढाउनुपर्छ, अन्यथा बिरामीको त्यही औषधिका कारण ज्यान जाने खतरा रहन्छ, यसर्थ यसको पहिचानका लागि मेडिकल अफिसरबाहेक तल्लो तहका स्वास्थ्यकर्मीहरूबाट सम्भवै हुँदैन।’

अहिले स्थानीय तहहरूले १५ शड्ढयाको अस्पताल आ–आफ्नो क्षेत्रभित्र सञ्चालनमा ल्याउने बताइरहेका छन्। यसो हुन सके ग्रामीण भेकमा पनि सर्पदंशको उपचार सेवा सहज उपलब्ध हुन सक्ने ठाकुर बताउँछन्। गढवा गाउँपालिकालाई स्वास्थ्य कार्यालयले जिल्लाको सबैभन्दा बढी सर्पदंशको जोखिम रहेको स्थानका रूपमा राखेको छ। यो गाउँपालिकाका गढा, गंगापरस्पुर , गोबरडिहा गाउँ सर्पदंशको उच्च जोखिममा रहेका छन्। यसैगरी राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिका क्षेत्र पनि सर्पदंशको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App